गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

पोखरा । एसीसी प्रिमियर कप जितेको खुशीमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रिमियर कप जितेको नेपाली टीमलाई बधाई दिँदै उनले प्रदेशभित्र रंगशाला निर्माण गर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पाण्डेले रंगशाला निर्माणको प्रतिबद्धता जनाएका हुन् । ‘यो जित सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु,’ उनले भने, ‘गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु । प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि यही वर्षबाट आवश्यक बजेट विनियोजन गरि पूर्वाधार निर्माणको काम थालनी गर्ने प्रतिवद्दता जनाउँदछु ।’

पोखरा रंगशाला भित्र क्रिकेट रंगशाला छ । तर पर्याप्त पूर्वाधार छैनन् । प्रदेश सरकारले भरतपोखरीमा पनि रंगशाला निर्माणको लागि जग्गाको स्वामित्व प्राप्त गरेको छ । यद्यपी पूर्वाधार निर्माणको प्रक्रिया अघि बढेको छैन ।

क्रिकेट संग सम्बन्धित विज्ञहरुसँग छलफल गरेर उत्कृष्ट रंगशाला निर्माण गर्ने उनले बताए ।

‘आवश्यक बजेट सरकारले छुट्याउँछ, नयाँ आर्थिक वर्षको बजेटबाट यो व्यवस्था हुन्छ,’ उनले भने, ‘गण्डकीमा अन्तराष्ट्रिय प्रतिश्पर्धा गर्न सक्ने पूर्वाधार निर्माणमा हाम्रो ध्यान छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *