गण्डकीका मुख्यमन्त्रीले दलहरूलाई पत्र पठाएरै मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलसँग विश्वासको मत मागेका छन् । मंगलबार दलका नेतालाई पत्र पठाएर मत मागेका हुन् । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पाण्डेले विश्वासको मत माग्दै पत्र पठाएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

१५ गते शपथ लिएका उनले सोही दिनदेखि कार्यभार सम्हालेका छन् । पाण्डेले बिहीबार संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ गते २ बजेका लागि संसद् अधिवेशन डाकिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेका छन् । पाण्डे संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनले उपधारा (४) अनुसार विश्वासको मत लिँदै छन् । गण्डकीमा कांग्रेसको २७ सीट छ भने सत्तारुढ माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सीट छ । माओवादीबाट कृष्ण धिताल सभामुख बनेका कारण विश्वासको मतको प्रस्तावमा मतदान गर्न पाउँदैनन् । वैशाख १४ देखि प्रतिपक्षमा रहेको एमालेसँग २२ र राप्रपासँग २ सीट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *