सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौँ रकम असुल गर्ने गिरोहलाई सहयोग गरेको अरोपमा उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी आफैँले प्रहरीमा आत्मसमर्पण गर्दै प्रहरी परिसर काठमाडौँमा उपस्थित भएका थिए । उनलाई बुधबार नै अदालतमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्न ३ दिनको म्याद लिएको हो ।
अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा प्रहरीले पाण्डेलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो रहेको प्रहरीको आरोप छ ।
तत्कालिन गृह सचिव रहेका पाण्डेको उक्त गिरोहसँग लेनदेन गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । त्यसपछि मोरङका सागर राई पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला गिरोहले गृहप्रशासनलाई मिलाएर नक्कली शरणार्थी बनाउने काम गरेका खुलेको थियो ।
शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन २९ असार २०७६ मा केपी ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
कार्यदल गठन भएसँगै अनुसूची फारममा नाम थप गरेर नक्कली शरणार्थी बनाउन गिरोह सक्रिय भएको थियो ।
त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको पनि संलग्नता देखिएको भन्दै राईलाई मंगलबार ललितपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।
त्यस्तै, यही काण्डमा प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा, एमाले नेता तथा पूर्वगृहमन्त्री रामबहादुर बादलका छोरा र इन्द्रजित राईका छोरालाई समेत पक्राउ गर्न पुर्जी जारी गरेको छ ।