ओली–रावलबीचको इगो, कार्यकर्तालाई झिँजो !
नेकपा (एमाले) का नेता भीम रावलको नजरमा नेपाली राजनीतिका सबैभन्दा खराब पात्र कोही छन् भने ती हुन्– एमाले अध्यक्ष केपी ओली । भीम रावल ओलीको सत्तोसराप गरेर कहिल्यै थाक्दैनन् । रावल ओलीलाई सत्तोसराप मात्रै गर्दैनन, नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संविधानको हत्यारा भन्न पनि पछि पर्दैनन् ।
रावल तिनै नेता हुन्, जसले चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने साहस गरे । यद्यपी, पराजित भए । उक्त घटनापछि भने रावल एमाललेमा विस्तारै किनारामा पारिँदै गए । एमाले नेतृत्वले रावललाई पार्टीको केन्द्रीय सदस्य अथवा सल्लाहकार बनाउन खोजेको पनि थियो । तर, रावलले त्यो पद लिन अस्वीकार गरे । पछिल्लो समय रावल एमालेमा निष्क्रिय जस्तै छन् ।
गत ४ मंसिरको प्रतिनिधि सभा निर्वातनमा रावलले अछामबाट प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए । रावल जिल्लाबाट टिकटका लागि एकल सिफारिसमा समेत परेका थिए । तर, एमाले अध्यक्ष ओलीले रावललाई टिकट नै दिएनन् । त्यहाँ रावलको टिकट खोसेर ओलीले पूर्व माओवादी खेमाका झपट बोहरालाई उम्मेदवार बनाए ।
त्यसपछि एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने घोषणा गरेका रावल पार्टी र राजनीतिमा विस्तारै निष्क्रिय बन्दै गएका छन् । तर पनि अध्यक्ष ओलीमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।
ओली पनि के कम ! रावलविरुद्ध विषवमन गर्न ओलीलाई कसले र केले रोक्थ्यो ? हरेकजसो सार्वजनिक कार्यक्रममा रावलविरुद्ध कटु वचन बोल्छन् ओली ।
ओली कतिसम्म इगो लिन्छन् भन्ने त सौराहको १०औँ महाधिवेशनलाई उदाहरणको रूपमा लिन सकिन्छ । त्यसबेला अध्यक्षमा उम्मेदवारी दिन भीम रावललाई रोक्ने अनेक प्रयास त भए नै, रावललाई भोट नहाल्न ओली पक्षबाट पर्चासमेत वितरण गरियो ।
अध्यक्ष ओलीमा सबैलाई समेटर लानुपर्छ भन्नेभन्दा पनि आफूले मनपराएको वा आफ्नो चाकडीमा रहनेलाई अवसर दिने प्रवृत्ति छ । त्यसैले सायद यस्तो प्रवृत्तिलाई ‘ओली प्रवृत्ति’ भनिएको होला ।
अध्यक्ष ओलीको अर्को समस्या हो– आफूले जे गरेको छ, त्यो ठीक छ भनेर अडान लिइरहने । एमालेमा ओलीको त्यो अडान अर्थात् दम्भमाथि प्रश्न गर्ने हिम्मत अन्य नेताहरूले जुटाउँदैनन् । उनीहरूमा नेतृत्वबाट मूल्याङ्कन हुँदा प्रतिशोधको सिकार हुनुपर्ने भय जागृत छ । रावल काण्डले त अध्यक्ष ओलीसँगको यो डरलाई अझ उचाइमा पुर्याएको छ ।
आलोचक र फरक मत राख्नेलाई पाखा लगाउँदै अहिले एमालेमा नेतृत्वको आलोचना गर्नेमाथि अघोषित रूपमा कारबाही गर्ने प्रचलन मौलाएको छ । एमाले अध्यक्ष केपी ओलीको निर्णय प्रक्रिया र पार्टी संगठनमा राख्न खोजेको होल्डका कारण संगठनको जीवन्ततामाथि नै प्रश्न उठेको छ । पार्टीप्रति नागरिकको आकर्षणमा पनि ह्रास आइरहेको कार्यकर्ताले बताउन थालेका छन् ।
रावल पार्टी जिम्मेवारीमा फर्किएलान् ?
ओलीसँग अध्यक्षमा पराजित भएपछि नेता रावल अहिले पार्टी जिम्मेवारीमा छैनन् । यसपटकको चुनावमा उनले अछामबाट टिकट पनि पाएनन् । रावलले टिकट नपाएकोले यसपटकको चुनावमा पनि सक्रिय भएनन् । जसले गर्दा रावल निकट नेताहरु ओलीप्रति असन्तुष्ट छन् ।
यति मात्रै होइन, एमालेको ग्रासरुट अभियानका दौरान अछाम पुगेका उपाध्यक्ष विष्णु पौडेल र रावलबीच ‘वाक युद्ध’ नै चलेको थियो ।
एमालेमै बसेर नेतृत्वको खरो विरोध गरिरहेका रावलका गतिविधिमा लगाम लगाउन एमालेभित्र आवाज उठेको छ । ओलीले रावलसँग निर्णायक वार्ता गर्न उपाध्यक्ष पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्ण थापासहितको वार्ता टोली बनाएका छन् । तर, उपलब्धि हालसम्म शून्य नै देखिएको छ । त्यसो हुँदा एमालेमा राजको सक्रिय राजनीतिक भविष्यबारे अहिले अन्योल नै देखिएको छ ।