भुटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय हुनुपर्छ : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य जघन्य अपराध भएको बताएको छ । यस प्रकरणमा जोडिएका सबैलाई सजाय हुनुपर्ने कांग्रेसले जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा छलफलका विषयमा जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी अवश्य पनि जघन्य अपराध हो,’ उनले भने, ‘यस्तो सोच्नै नहुने कुरा भयो भन्ने आइरहेको छ । पत्रपत्रिकामा बाहिरएपछि हामीले जानकारी पाएको हो । क्रियाकलाप अमानवीय आपराधिक काम हो । जति निन्दा गरे पनि कम हुन्छ । को–को संलग्न, कसरी संलग्न भएको छ, अनुसन्धानकर्ता अथोरिटीले बाहिर ल्याउला । अनुसन्धान र न्याय निरुपण पनि होला । जो–जो सहभागी छन्, गलत आपराधिक क्रियाकलाप गर्नेहरु सजायको दायरमा आउनु पर्छ। आउँछन् ।’