पोखरामा आज स्पोर्टस् अवार्ड, को कसले पाउँदैछन् सम्मान ?
पोखरा । पोखरामा आज सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड हुँदैछ । दिउँसो दुई बजेपछि पोखरा सभागृहमा अवार्ड वितरण हुनेछ । कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा उत्कृष्ट खेल पत्रकारलाई समेत पुरस्कृत गरिनेछ ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडीतर्फ भलिबलका रवि केसी, फुटबलका सुमित श्रेष्ठ र क्रिकेटका सुवास भण्डारी रहेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङ, लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् ।
उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड बक्सिङ प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा भैसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरिनेछ ।
वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गर्ने खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए । यो वर्षको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार सागरराज तिमिल्सिनालाई दिने निर्णय भएको छ ।