भ्रष्टहरूको कब्जामा सिंहदरबार र संसद, दुषित बन्यो सत्ता संयन्त्र
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २४ मंसिर २०७८ मा कांग्रेसलगायत शीर्ष राजनीतिक दलका अध्यक्ष र प्रतिनिधि एकै मञ्चमा थिए । उक्त कार्यक्रममा अतिथिको रूपमा निम्त्याइएका राप्रपाका नवनिर्वाचित अध्यक्षले आफ्नो शुभकामना मन्तव्यका क्रममा नेतालाई जनताले ‘चोर’ भन्ने गरेको बताए ।
‘गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन्, कुन चाहिँ चोर आएछ भन्छन्,’ उनले भनेका थिए ।
देउवा, ओली, प्रचण्डलगायत नेता सहभागी भएको उक्त कार्यक्रममा नेतालाई नै ‘चोर’ भनेर सम्बोधन गरिएपछि एमाले अध्यक्ष केपी ओलीले लिङ्देनमाथि नै आक्रोश पोखे । उनले लिङ्देनलाई भर्खरै जन्मिएको ‘बाच्छो’को संज्ञा दिएका थिए ।
नेपालको वर्तमान राजनीति र राजनीतिज्ञबाट दिक्क लागेर होला गत साता काठमाडौँका मेयर बालेन्द्र शाहले पनि ‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे ।
उनको अभिव्यक्ति यत्तिकै आएको होइन रहेछ, हालसालैका नक्कली भुटानी शरणार्थी जस्ता अनेक काण्ड हेर्दा बालेको अभिव्यक्तिलाई तीतो यथार्थको रूपमा स्विकार्नै पर्ने देखिन्छ ।
विभिन्न अपराध र आपराधिक गतिविधिमा नेताहरू संलग्न हुँदा जनविश्वास गुमाएको विषयलाई इंगित गर्दै यी दुई नेता तथा प्रतिनिधिले नेतालाई ‘चोर’ को संज्ञा दिएको हुनुपर्छ ।
जनताले निर्वाचित गरेर पठाएका असल मानिएका नेता चोर र भ्रष्ट बनेर निस्किएका छन् अहिले । टेकबहादुर गुरुङ, लक्ष्मी महतो कोइरी र टोपबहादुर रायमाझी, ७० करोड, एनसेल, यति, ओम्नीलगायत अनेक काण्डहरूले यो तथ्यलाई पुष्टि गरिरहेका छन् ।
मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङमाथि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।
त्यसैगरी महोत्तरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका लक्ष्मी महतो कोइरी सशस्त्र प्रहरी थमन विक हत्याका अभियुक्त हुन् ।
उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट पुर्पक्षका लागि थुनामै राख्न आदेश भए पनि अहिले उनी प्रहरीको फरार सूचीमा छन् ।
त्यसैगरी नेकपा एमालेकै सांसद टोपबहादुर रायमाझीविरुद्ध नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्न भएको आरोप लागेको छ ।
उनी सहित, निवर्तमान गृहमन्त्री रामबहादुर थापाका छोरा र रायमाझीका छोरा सहितका नेताहरू यस काण्डमा सामेल भएका छन् । रायमाझी चोखो भएको भए उनले उक्त काण्डमा आफ्नोबारे अनुसन्धान गर्न प्रहरीमा गएर प्रहरीलाई सघाउनु पर्ने थियो । तर, अहिले प्रहरीको फरार सूचीमा छन् । यसले पनि रायमाझीले गल्ती गरेकै छन् कि भन्ने आशंकालाई बल पुर्याएको छ ।
यस्तै नयाँ भनिएको र आशा पलाउँदै गएको रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको अडियो नै सार्वजनिक भयो । अडियो सार्वजनिक भएपछि उनलाई कारबाही गर्दै सांसद पदबाट मुक्त गरिएको छ ।
यी सबै घटनालाई हेर्दा राजेन्द्र र बालेन्द्रले दिएका अभिव्यक्तिले नयाँ र पुराना नेताका आपराधिक संलग्नतालाई देखाउँछ ।
दुषित बन्यो राज्यसत्ता
सत्तामा रहेर शक्ति आर्जन गर्न कानुनको आँखामा पट्टी बाँधेर अपराधका शृङ्खलामा प्रत्यक्ष–परोक्ष होमिने प्रवृत्तिले राज्यसत्ता दुषित बनिरहेको छ । अनेक तिकडम गर्दै सत्तामा पुगेपछि आफू शक्तिशाली भएको अनुभूति गर्ने र शक्तिको उन्मादमा संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चेर कानुनले वर्जित गरेका गतिविधिमा संलग्न हुने प्रवृत्ति राजनीतिक नेताहरूमा हाबी हुँदै गएको छ ।
संसदीय सर्वोच्चतासहितको संसदीय शासन प्रणाली भएको मुलुकमा सांसदहरू नै यस्ता आपराधिक गतिविधिमा संलग्न हुनुले राजेन्द्र र बालेन्द्रले भनेजस्तो ‘चोर नेता’कै वरिपरि राज्यसत्ता घुमिरहेको देखिन्छ ।
सत्तामा पुगेकाहरूका गतिविधि मात्रै हेर्दा पनि स्पष्ट चित्र आँखामा आउँछ । कैयौँ गैरकानुनी गतिविधिमा राजनीतिज्ञहरू स्वयं संलग्न भएका देखिन्छन् भने कयौँ ठुला अपराधको कनेक्सन राजनीतिक दलका शीर्ष नेतासम्म पुगेर टुंगिएको छ । कुनै शीर्ष नेता भ्रष्टाचारको मुद्दामा दोषी प्रमाणित हुन नसक्नु, कोही पक्राउ नुपर्नु र सामान्य खरिदार र सुब्बा तहका कर्मचारीलाई मात्रै कारवाहीको भागिदार बनाउन काम भइरहेको छ ।
पछिल्लो समय भ्रष्टाचारका यस्तै फाइल खोल्न रास्वपाका सभापति रवि लामिछानेले जोडदार रूपमा संसदमा आवाज उठाए । केही समय अघिसम्म नेपाली कांग्रेसमा रहेका र ४ मंसिरको निर्वाचनपछि स्वतन्त्र सांसद बनेका डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका विषयमा बोल्ने समय नदिएको भन्दै संसदमै कपडा खोलेर विरोध प्रदर्शन गरे ।
भुटानी शरणार्थी काण्डकै कुरा गर्ने हो भने यो काण्डमा स्वतन्त्र व्यक्ति, सरकारका सचिव तहका उच्च पदस्थ कर्मचारी, शीर्ष राजनीतिक दलका नेतासम्म मुछिएका छन् । ठुला भनिएका सबै दलका नेता यो काण्डमा मुछिएपछि अहिले संसदमा यसबारे आफ्ना नेता मुछिएका दलका नेताले चुइँक्क बोलेका छैनन् । केहीले बोलेका छन् । तर, उनीहरूको आवाज झिनो पारिँदै लगिएको छ । ३ शीर्ष दलका नेताले बैठक बसेर यो काण्डलाई निस्तेज पार्ने निर्णय गर्न लागेको पनि देखिएको छ । वा अर्को काण्ड अघि ल्याएर यो काण्डलाई दबाउने कोसिस गरिँदैछ । यस्तो कार्यले नेताहरु ‘चोर’ नै हुन् भन्ने धारणालाई नै मलजल गर्ने देखिन्छ ।