नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा विकास गरियोस् : खिमलाल देवकोटा
काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई सरकारले झारा टार्ने काम नगर्न आग्रह गरेका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले खेलाडीलाई उचित सम्मान र पुरस्कृत गर्नुपर्ने बताए । उनले राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह गरे ।
सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई स्थापित गर्न आग्रह गरे ।
उनले भने– ‘अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । नेपालको इज्जत र सम्मानलाई सगरमाथाभन्दा पनि माथि लगेको छ । त्यो उचाइमा नेपालको सम्मान पुर्याउने खोलाडीलाई सरकारले झारो टार्नुभन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रका लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस्, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा विशेष ध्यान दिइयोस्, भारत र पाकिस्तन लगायतका देशहरु बीचको टकरावको फाइदा नेपालले लिनसक्ने गरी खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई अघि बढाइयोस् । भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिवद्धताकासाथ सरकार अघि बढोस् ।’