एउटै काण्डले एकठाउँमा जुटेका ३ शीर्ष नेताबीच डेढघण्टासम्म के भयो छलफल ?
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आएपछि वाक्युद्धमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल बुधबार अचानक एकै ठाउँमा बसेर छलफलमा जुटे ।
भुटानी शरणार्थी काण्डमा प्रमुख प्रतिपक्षी दल एमालेका दुई नेता र उनको परिवारलाई पक्राउ पुर्जी जारी गरेर ‘कास्टिङ मात्रै हो फिलिम त अब सुरु हुन्छ’ भनेका प्रचण्ड र फिलिम हेर्न आतुर छौँ भन्ने एमाले अध्यक्ष अचानक बुधबार एक ठाउँमा आए । त्यति मात्रै होइन, उक्त काण्डमा नेपाली कांग्रेसका नेता वालकृष्ण खाँण र उनको पत्नी मञ्जु खाँडसमेत मुछिएपछि सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उक्त छलफलमा मिसिन बाध्य भए । छलफलको विषय ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ नै रहेकाे सहज रुपमा अनुमान गर्न सकिन्छ ।
उक्त प्रकरणमा शीर्ष ३ दलकै नेताहरु मुछिएपछि अहिले यी तीनै दलका नेताहरु सुरक्षित अवतरणको पक्षमा छन् । र, खास गरी यही विषयमा केन्द्रित भएर यी ३ जना नेताले यो काण्ड कसरी दबाउने भन्ने विषयमा छलफल गरेको स्रोतको भनाइ छ । तर, यी तीनै नेताले मुख खोलेका छैन खास गरी डेढ घण्टासम्म के कुरामा छलफल भयो ।