नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई छनविन गरी कारवाही गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानविन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराए । सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।

उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेशमा पठाउने र त्यसबापत करोडौं असुल गर्ने, भ्रष्टाचार गर्ने काम जघन्य अपराध हो । यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्रै नभएर यो राष्ट्रघात हो । देशद्रोही काम हो । त्यसकारणले यस्तो काममा संलग्न मानिसहरुलाई छिटो भन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनु पर्दछ ।’

उनले केही सांसदलाई पक्राउ गर्ने पूर्जी जारी गर्ने र केहीले सदनमै उपस्थित भएर बोलिरहेको बताए ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउन लागि चलखेल भइरहेको बताए । उनले यो प्रकरणको निष्पक्ष छानविन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दवाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *