यौन दुर्व्यवहारमा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना
काठमाडौँ । न्यूयोर्कको एउटा जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई दोषी ठहर गरेको छ । म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको र त्यसबारे झुटो बोलेर उनलाई बदनाम गरेको जुरीले ठहर गरेको हो ।
दुई हप्ता लामो सुनुवाइपछि करिब ३ घण्टा बहस गरेर जुरीले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको छ । उनले लगाएको बलात्कारको गम्भीर आरोप भने अस्वीकार गरिएको थियो । ती लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन् ।
ट्रम्पले उनलाई ठगीको आरोप लगाएका थिए । क्यारोलले उक्त आदेश आफ्नो कुरा विश्वास नगरिएकाले पीडा खेपेका प्रत्येक महिलाका लागि जित भएको बताएकी छन् । ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेका छन् । उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने तर्क गरे । मुद्दाले आगामी राष्ट्रपति चुनावमा फेरि प्रतिस्पर्धा गर्ने ट्रम्पको योजनामा गम्भीर प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ ।
दुई हप्ते सुनुवाइमा ट्रम्प स्वयं भने उपस्थित भएका थिएनन् तर उनको धारणा जुरी समक्ष सुनाइएको थियो । मंगलबार निर्णय सुनाउने जुरीमा ६ पुरुष र ३ महिला थिए । आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्, ‘आज विश्वले वास्तविकता थाहा पाएको छ । यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो ।’
फौजदारी नभई देवानी अदालतमा सुनुवाइ गरिएकाले ट्रम्पलाई यौन दुर्व्यवहारकर्ताका रूपमा अभिलेखकृत गर्नुपर्ने छैन । पूर्व राष्ट्रपतिले क्यारोलको आरोपहरू अस्वीकार गर्दै आएका छन् । जुरीको निर्णयपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा ट्रम्पले लेखेका छन्, ‘ती महिला को हुन् मलाई केही थाहा छैन ।’ यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो । बीबीसी