१३ वर्षीया बालिका बलात्कार गर्ने युवकलाई १८ वर्ष जेल
सप्तरी । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले मंगलबार राजविराज नगरपालिका-१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले सात लाख जरिवाना तिर्नुपर्ने र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।
आरोपितले २०७९ मंसिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपीले ललाइफकाई छिन्नमस्ता गाउँपालिका-६ लोखरममा बलात्कार गरी फरार भएको पीडितले बताएकी थिइन् ।
आरोपित २०७९ मङ्सिर २० गते पक्राउ परेका थिए। सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।