नागरिकता विधेयकबारे राष्ट्रपतिले छलफल गर्न मिल्दैन : रघुजी पन्त
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गरे ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्कसमेत गरे । उनले सो विधेयक तत्काल संसदमा पेश गर्न सरकारसँग माग पनि गरे । आफूहरु सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो ।
‘राष्ट्रपतिले छलफल गरिरहनु भएको छ निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा,’ उनले भने, ‘आज पनि त्यो समाचार दैनिक पत्रिकाहरुमा पढदा बडा दुःख लागेको छ । म सरकारलाई आग्रह गर्दछु–त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस् । त्यसमाथि छलफल सुरु गरोस् । हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौं । तर धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ?’
सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताए ।