गार्मेन्ट उद्याेगकाे कथा : १५ सयबाट १५ वटामा सीमित, तर गोल्यान ग्रुपको निरन्तरता (भिडिओ अन्तर्वार्ता)
आजभन्दा करिब तीस वर्षअघि नेपाल कपडा उत्पादनमा आत्मनिर्भर थियो । देशभर करिब १२ सय देखि १५ सय वटासम्म गार्मेन्ट उद्योग थिए । ती उद्योग रोजगारी र आर्थिक उपार्जन दुवैको स्रोत थिए । विश्व बजारका कतिपय देशले तयारी पोशाक विश्व बजारमा निर्यात गर्न ‘कोटा’को व्यवस्था भइरहँदा नेपालका लागि त्यसताका कोटा तोकिएको थिएन । उबेला नेपालका लागि तयारी पोशाक उत्पादन र निर्यात(गार्मेन्ट उद्योग) आर्थिक समृद्धिको एउटा राम्रो अवसर थियो । तर, पछिल्लो समय देशमा आएका विभिन्न राजनीतिक परिवर्तनसँगै उद्योग, व्यवसाय र कलकारखाना पनि क्रमिक रूपमा घट्दै जान थाले । खास गरी उत्पादन तथा प्रशोधन उद्योगको संख्यामा निकै कम हुँदै जान थाल्यो । मकालुखबरसँगकाे कुराकानीमा गाेल्यान ग्रुपका निर्देशक शक्ति गाेल्यानले राखेकाे विचार उनकै शब्दमा :
”अहिलेसम्म आइपुग्दा नेपालमा जम्मा १५ देखि २० वटाको हाराहारीमा गार्मेन्ट उद्योगहरू सञ्चालनमा छन् । २० वर्षभन्दा बढी यही उद्योग व्यवसाय गर्दै आएको मेरो अनुभवअनुसार नेपालमा गार्मेन्ट उद्योगमा सङ्कुचन आउनुको मुख्य कारण ‘कच्चा पदार्थ’को आपूर्ति व्यवस्थालाई लिनुपर्ने हुन्छ ।
भिडिओ
गार्मेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्दा समय र पैसा दुवै बढी लाग्ने गरेको छ । त्यसरी आयात गरेर ल्याएका कच्चा पदार्थबाट उत्पादन गरिएका तयारी पोशाकको उत्पादन लागत नै बढी पर्न आउँछ । लागत मूल्य बढी पर्न जाँदा नेपाली तयारी पोशाकले विश्वबजारका अन्य देशको उत्पादनसँग मुख्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएको छ । प्रतिस्पर्धी मूल्य कायम गर्न नसक्दा विश्व बजारमा नेपाली उत्पादनका खपत कम हुन गएको छ ।
उत्पादनमूलक गार्मेन्ट उद्योगलाई सरकारले केही प्रतिशत छुट दिएको पनि छ । तर, ठुला गार्मेन्ट उद्योगका लागि सरकारले दिएको न्यून परिमाणको छुटले खासै सहज बनाउन सकेको छैन । तर, साना गार्मेन्ट उद्योगका लागि भने उक्त छुट पनि प्रभावकारी हुन सक्ने देखिएको छ ।
त्यस्तै, नेपालमा उच्च गुणस्तरको पस्मिनाको बजार माग राम्रो भए पनि मास प्रोडक्सनमा जानुपर्ने परिमाणको माग छैन । त्यसकारण नयाँ लगानीकर्ता आउने वातावरण छैन ।
खास गरी तयारी पोशाक तथा पश्मिना उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा देश आत्मनिर्भर बन्न नसक्दा गार्मेन्ट उद्योगको पनि विकास हुन् सकेको छैन । त्यसबाहेक सरकारको नीतिगत समस्या, जनशक्तिको अभाव र स्रोतसाधनको अभावले पनि अहिले नेपालमा तयारी पोशाक तथा पश्मिना उद्योग फस्टाउन सकेको छैन ।
सरकारी नीति पहिले भन्दा धेरै सहज भएको छ । तर हुनुपर्ने जति भएको छैन । अझै धेरै सहज बनाउन सकिन्छ । अहिले पनि सामान पठाउँदा धेरै कागजी कारोबार गर्नुपर्छ । मुख्य रूपमा सरकारले स्थानीय स्तरबाटै कच्चा पदार्थ उत्पादन गर्न जोड दियो र यहीँ नै गुणस्तरीय फाइबर धागो उपलब्ध भयो भने पक्कै पनि गार्मेन्ट उद्योग यहाँ फल्छ, फुल्छ ।’
नेपालमा उत्पादन तथा प्रशोधनमूलक उद्योगको विकास गर्न प्रविधि, जनशक्ति र स्रोत साधनको अभाव छ । एउटा म्यानुफ्याक्चरिङ नेशन बन्नलाई राम्रो जनशक्ति, सरकारी नीति र प्रविधिको उपलब्धता हुनुपर्दछ । उदाहरणकै रूपमा लिने हो भने छिमेकी देश चीनमा सरकारले नयाँ प्रविधिमा लगानी र पहुँच बढाउन विभिन्न कार्यक्रम ल्याइएका छन् । नेपाल सरकारले त्यसखालको नीतिनियम ल्याउनु पर्छ ।
गार्मेन्ट उद्योगमा विदेशी लगानी चाहिँदैन
सरकारले खास गरी सुरक्षालाई ध्यान दिने हो भने गार्मेन्ट उद्योगका लागि वैदेशिक लगानी आवश्यक छैन । गार्मेन्टका लागि चाहिने पर्याप्त लगानीको स्रोत नेपालसँगै छ । किनभने गार्मेन्ट उद्योगमा जम्मा धेरै ठुलो लगानी पनि चाहिँदैन । २ देखि ४ करोड भए पुग्छ ।
स्टार्टअप र नयाँ लगानीमा उच्च जोखिम
चलिरहेका उद्योग तथा व्यवसायभन्दा नयाँ र भिन्न सोचका साथ आउन सक्ने स्टार्टअपतर्फ युवा वर्गको ज्यादा ध्यान गएको छ । तर, अहिले देशमा नयाँ लगानी गर्नु एकदमै जोखिमपूर्ण अवस्था देखिन्छ । अहिले सरकारको राजस्व संकलन घटेको छ । आम्दानीभन्दा चालू खर्च ज्यादा छ । चालु खर्च धान्नकै लागि सरकारले ऋण लिनुपर्ने अवस्था छ । नयाँ लगानी गर्ने वातावरण छैन । जोखिम उच्च भएको अवस्था छ । अहिले लगानीका लागि स्रोतको जोहो गर्ने र उपयुक्त समय आएपछि लगानी गर्दा हुने देखिन्छ ।
सरकारले नयाँ प्रविधि, जनशक्ति, कर छुट, अनुदान जस्ता व्यवसायमैत्री सुविधा नल्याएसम्म नेपालमा लगानीको वातावरण बन्न गाह्रो छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उद्योग र निर्यातजन्य उद्योगलाई सरकारले अझ ज्यादा सुविधा र सहुलियत दिनै पर्छ ।
अहिले नेपालमा ठुला लगानीकर्ता तथा उद्योगी व्यवसायीले धेरै वटा क्षेत्रमा लगानी विविधीकरण गरेका छन् । त्यसो हुँदा कुनै एक क्षेत्रमा समस्या देखिए अर्को क्षेत्रबाट रिकभर हुन सक्ने सम्भावना छ । तर, यस कारण एउटै क्षेत्रमा लगानी भएका मध्यम तथा साना लगानीकर्तालाई समस्या पारेको भने छैन । किनभने ठुलो लगानीकर्ताले पनि आफूले लगानी गरेको बैंकसँगै कारोबार गर्न पाउने व्यवस्था छैन । यसबारे स्पष्ट नीति छ । यदि मेरो बैंकमा लगानी छ भने त्यो बैंकसँगमैले आफ्ना अन्य लगानीका क्षेत्रमा ऋण लिन मिल्दैन । त्यसो हुँदा यसले खासै समस्या भएको जस्तो लाग्दैन ।
अर्को कुरा उद्यम तथा व्यापार गर्ने काम सरकारको पनि होइन । सरकारले नीति बनाउने हो । सहजीकरण गर्ने हो । नेपालमा सरकारले लगानी गरेका अधिकांश उद्योग आर्थिक रूपमा धराशयी भएका छन् । लगानी डुबेका छन् । किनभने नेपालमा सरकारले चलाएका उद्योग तथा कम्पनीहरूले उत्पादन गरेको भन्दा सस्तो दरमा अन्य स्वदेशी तथा विदेशी उद्योगको उत्पादन नेपालमा उपलब्ध हुन थालेपछि सरकारी उद्योगको उत्पादन तथा व्यापार कम भएको हो । सरकारी उद्योगले प्रतिस्पर्धी क्षमता तथा सक्षमता आर्जन गर्न सकेनन् ।
बजार विस्तारको तयारी
मैले टेक्सटाइल म्यानेजमेन्ट विषय अध्ययन गरेको हुँ । अध्ययन र अनुभव दुवै यही क्षेत्रमा भएकोले पनि मलाई यो व्यवसायमा सहज भएको छ । हाम्रो परिवार पहिल्यैदेखि व्यापारमा थियो । सुरुमा मलाई व्यापार गर्न मन थिएन । तर, मेरो पारिवारिक व्यवसाय भने मैले पढेकै विषयमा थियो । परिवारले गार्मेन्ट उद्योगमा लगानी गरेर सञ्चालन गर्न सुरु गरेको थियो । परिवारले मलाई गार्मेन्ट व्यवसायमा नै लाग्न निर्देशन दियो । पछि मुम्बइमा फेमिली बिजनेस कोर्स पढे आएपछि भने परिवारको गार्मेन्ट उद्योगसँग जोडिन पुगेँ ।
मेरो नेतृत्वमा यो व्यवसाय अघि बढिरहँदा विभिन्न उतार–चढाव आए । सन् २००८ मा व्यवसायमा ठुलो समस्या देखियो । त्यसपछि सन् २०११ मा भएको अमेरिकाको ट्वीन टावर हमलामा त्यही टावरमा रहेको हाम्रो उत्पादनका लागि खरिदकर्ता कम्पनीको व्यवसाय नै उक्त हमलामा ध्वस्त हुन पुग्यो । यसले हामीले ५० प्रतिशत बजार गुमाउन पुग्यौँ । त्यसपछि सन् २०१९ मा देखिएको कोभिड–१९ ले व्यवसायमा चर्को मन्दी ल्यायो । कोभिडपछि भने बल्ले अहिले हाम्रो व्यवसायले लय समात्न थालेको छ । अघिल्लो वर्ष हाम्रो उद्योगको उत्पादन वृद्धि ४० प्रतिशत भएको थियो । यो वर्ष पनि ४० देखि ५० प्रतिशतको वृद्धि देखिएको छ । आगामी वर्ष हाम्रो गार्मेन्टको कुल वार्षिक कारोबार ६० करोडको हुने अनुमान गरेका छौँ । खास गरी अमेरिका र भारतलाई बजार बनाएर हामीले नयाँ विश्व ब्रान्डको तयारी पोशाक र पश्मिना बजारमा पठाउने योजना बताइरहेका छौँ ।”