जनकपुरबाट ७ जना चोर पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले बिभिन्न ठाउँबाट ७ जना चोरलाई पक्राउ गरेको छ । जनकपुरधाम ९ बेल्ही बस्ने बेचु साहको घरभित्र प्रवेश गरी चोरी गर्ने जनकपुर १६ कपिलेश्वर बस्ने ३५ बर्षीय रंजित दासलाई चोरीका सामानसहित पक्राउ गरिएको छ।
दासलाई सुनको जस्तो देखिने मंगल सूत्र २ थान, जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, बिछिया ८ थान, ब्रासलेट, गिलास र चम्चा १÷१ थान, प्रदेश २–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकल र ताला फोड्ने फलामको औजार १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल र मास्टर किसहित दुई जना चोरलाई जनकपुर १६ स्थित पुल्चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जनकपुर १७ बस्ने २१ बर्षीय संजीब राम र क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षीय यन्दल राम छन् ।
उनीहरुलाई ज.१२प ६६० नम्बरको मोटरसाइकल चोरी गरी लाने क्रममा पक्राउ गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । जनकपुरकै संकटमोचन मन्दिर पछाडिबाट २८ बर्षीय सलामद दर्जी र २३ बर्षीय महम्द राजखानलाई ताला फुटाई व्यक्तिको घरबाट चोरी गर्ने क्रममा पक्राउ गरिएको छ ।
त्यस्तै, घरको ताला फोड्ने औजारसहित राजकुमार यादव र सोनु सहनीलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट हेक्सो ब्लेड १ थान, पिलास १ थान र फलामको रिन्च ४ थान बरामद भएको प्रहरीले जनाएको छ।