विराट दरबारदेखि बर्जुतालसम्म हाफ म्याराथन दौड प्रतियोगिता हुने
विराटनगर । विराट दरबारदेखि बर्जुसम्म हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा विराटनगरको विराट राजा दरवार क्षेत्रदेखि बर्जु तालसम्म म्याराथन दौड हुन लागेको हो । ५ किलोमिटर महिला र पुरूषतर्फ हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
आगामी जेष्ठ ६ गते हुने प्रतियोगितामा हाफ म्याराथन २३ किलोमिटर दौड हुने पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा सन्जीवकुमार राईका अनुसार महिला तर्फ ५ किलोमिटर दौड र हाफ म्याराथन दौड विराटनगर महानगरपालिका वडा नम्बर १८ भेडियारीदेखि बर्जु गाउँपालिकाको बर्जु पोखरीसम्म हुनेछ । प्रतियोगितामा १०० जना प्रतिस्पर्धी सहभागी हुने जानकारी दिइएको छ ।
चार गतेसम्म नाम दर्ताको समय दिइएको प्रतियोगितामा महिला र पुरूषका लागि फरक फरक पुरस्कारको व्यवस्था गरिएको छ । १० लाख लागत अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा सान्त्वना पुरस्कार ३ जनालाई १५ हजारको दरले उपलब्ध गराइने सचिव राईले बताए ।
महिला तर्फ ५ किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजारले पुरस्कृत गरिने जानकारी दिइएको छ ।