मेयर, उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि…
रुपन्देही । सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । ६ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रंगरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र संकेतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो ।
बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ । आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमूना सडक बनेको छ ।
उद्योगपति विनोद चौधरीले २ वर्षअघि सडकको यात्रा गर्ने क्रममा ‘आफू बुटवल भैरहवा सडकमा यात्रा गरिरहेको तर युरोप पुगेको अनुभूति भएको’ भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गरेपछि सडकको चर्चा चुलिएको हो । उनले गरेको प्रशंसापछि तिलोत्तमा नगरपाालिकाका तत्कालीन नगर प्रमुख वासुदेव घिमिरेले सडकको सरसफाइ र हरियाली प्रवद्र्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागू गरेका थिए । सोही कार्यक्रमलाई हालका नगर प्रमुख रामकृष्ण खाँणले पनि थप परिस्कृत गर्दै निरन्तरता दिएका छन् ।
नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर बिजुली बत्ती राखिएको छ । लहरै राखिएका झलमल्ल बत्तीले रातिमा उज्यालो देखिन्छ । चोक–चोकमा सार्वजनिक शौचालय राखिएको छ । शौचालय सफा छन् । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी नगर त्यत्तिकै चिटिक्क देखिएको होइन, यसका लागि २०७४ सालबाट हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा रहेको बताइन् । ‘कोरोना महामारीको समयमा १–२ महिना यो अभियान सञ्चालनमा समस्या भयो, होइन भने निरन्तर सञ्चालनमा छ,’ उनले भने ।
अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिको सहभागितामा नगर स्तरीय सरसफाइ अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरीले बताइन् । वडा कार्यालय र टोल विकास संस्था समेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् । तिलोत्तमाका १७ वडामा १९९ टोल विकास संस्था छन् ।
नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयले पनि साथ दिएका छन् । जसले गर्दा नगरका भित्री सडक पनि सफा छन् । ड्राइभर टोलकी लक्ष्मी खनालले भनिन्, ‘मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दो रहेछ । अहिले अरु नगरपालिकाभन्दा हाम्रो ठाउँ धेरै सफा भएको छ ।’
निरन्तर सरसफाइ अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।
नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष २ करोड रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ । प्रत्येक वडामा २–२ जनाका दरले कर्मचारी खटाइएको खनाल बताउँछन् ।
नगर सफाइमा ख्याति कमाएको तिलोत्तमाले त्यसलाई दीगो राख्न र नगरवासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । २०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउँछन् ।
नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गत वर्षको चैतदेखि गुट्खाजन्य पदार्थको बिक्री वितरणमा समेत प्रतिबन्ध लगाएको छ । यसको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ । नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रिन तिलोत्तमाः क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ । विद्यालयस्तरमा समेत कार्यक्रम कार्यान्वयन गरिएको छ ।
फोहोर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेटः माई फस्ट डस्टबिन’ समावेश गरिएको छ । जसले गर्दा विद्यार्थीले पनि यत्रतत्र फोहर फाल्दैनन् । फाल्नै परे आफ्नै खल्तीमा राख्ने र डस्बिन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन् ।
७५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाइउन्मुख नगरपालिका हो । विक्रम संवत् २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाइउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै यसलाई दीगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेटः माई फस्ट डस्टबिन’ समावेश गरिएको हो । -निरा गौतम/रासस