एउटा पत्रिकाले खोतलेको यौन दुर्व्यवहारको कथा

मैले टम म्याकार्थीले निर्देशन गरेको ‘स्पटलाइट’ फिल्मलाई यति बेला सम्झिनुको कारण छ ।

यतिबेला खोटाङको शुभद्रा मदन (शुभम) फाउन्डेसनका सञ्चालक तथा कृषिविद् मदन राई आफ्नो नमुना विद्यालयमा पढ्ने किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । भर्खरै तपाईँले पढ्नुभएको वाक्यका ‘कृषिविद्’, ‘नमुना विद्यालय’ तथा ‘यौन दुर्व्यवहार’ शब्दलाई यदि कसैले एउटै वाक्यमा प्रयोग गर्न लगाएको भए प्रश्न नै असुहाउँदो हुन्थ्यो । राईले त्यसलाई आफ्नो जीवनमा लागु गरिदिएका छन् ।

तर मैले ‘स्पटलाइट’ फिल्मलाई उनको कारण सम्झिरहेको छैन । कुनै कुरा मनले सम्झिनलाई त्यो कुराले सम्झिसक्दा शान्ति दिनुपर्छ । उनले गरेको कर्तुतले यति बेला मलाई शान्ति दिइरहेको छैन । बरु म यति बेला सेतोपाटी अनलाइन पत्रिका र त्यसकी पत्रकार शोभा शर्मालाई सम्झिरहेको छु । उनले पीडितहरूलाई भेटेर ल्याएको समाचारले मदन राई को कर्तुत उघारेको मात्र हैन सजायको भागिदार बनाउँदै छ ।

केस सानो र ठुलो होला तर ‘स्पटलाइट’ फिल्मले शोभा जस्तै त्यस्ता केही पत्रकार अनि सेतोपाटी जस्तै पत्रिकाको कथा भन्छ जसले बोस्टन सहरबाट सुरु गरेको खोजीले अमेरिकाको विभिन्न सहरमा अवस्थित चर्चका पादरीहरूले गरेको यौन दुर्व्यवहारलाई बाहिर निकाल्छन् । उनीहरू त्यो समयका सबै शक्तिशाली संस्था र व्यक्तिहरूसँग भिड्छन् र पीडितका बयानलाई न्याय दिलाई छाड्छन् । उनीहरूले गरेको त्यो खोज पत्रकारिताले पब्लिक सर्भिसका लागि विश्वकै प्रतिष्ठित पुलिट्जर प्राइस जित्छ ।

+++++

बोस्टन सहरको बोस्टन ग्लोब्स पत्रिकामा ‘स्पटलाइट’ नामको एउटा खोज पत्रकारिता युनिट छ । त्यसमा चार जना पत्रकारको टिम छ । उनीहरूको पत्रिकामा भर्खरै नयाँ सम्पादक आएका छन् । उनी केही वर्ष पहिला बन्द भएको एउटा केस उघार्छन् जसमा क्याथोलिक पादरीहरूले बोस्टर्न एरियामा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको कुरा छ ।

सुरुमा नै टिमका सबै सदस्यमा उत्साह देखिँदैन । त्यो केसलाई उघार्नुको मतलब चर्चको विरुद्ध जानु हो भन्ने कुरा निस्किन्छ । तर नयाँ सम्पादक त्यसमा डगमगाउँदैनन् । बरु अनेक चरित्रहरूलाई खोज्न, भेट्न र उनीहरूको बयान लिन लगाउँछन् । अनेक संस्थामा पुग्न र तीनले लुकाएर राखेका डकुमेन्टहरू पल्टाउन लगाउँछन् । त्यो काम पक्कै पनि सजिलो छैन । किनकि उनीहरू जसको विरुद्धमा जाँदैछन् ती ठुलो सङ्ख्याले भगवान् मानेर विश्वास गरेका व्यक्ति र संस्था हुन् ।

त्यस्ता व्यक्तिको विरुद्ध कुनै प्रमाण खोज्नु कठिन काम हो । सायद शोभा शर्मालाई पनि यो स्टोरीको बारेमा कुनै लिड मिल्दा हो कि हैन भन्नेमा द्विधा भएको हुनुपर्छ । किनकि मदन राई समाजमा प्रतिष्ठित व्यक्ति थिए । उनको स्कुलले नमुना स्कुल भनेर चर्चा कमाएको थियो । हामीले समाजलाई यस्तो बनाएका छौँ कि कोही प्रतिष्ठित व्यक्तिले खराब काम गरेको कुरा सम्झिन मानिहाल्दैनौँ । उसले भगवान् बनिसकेर आफैँलाई डसिसकेको पनि थाहा पाउँदैनौँ ।

फिल्मको केसको तुलनामा सानो प्रकृतिको केस नै भए पनि शोभा शर्मा ले मदन राई को विरुद्धमा प्रमाण जुटाउन कति सकसमा पर्नुपर्‍यो होला र के के झमेला बेहोर्नुपर्‍यो होला भन्ने कुराको छनक यो फिल्मले दिन्छ । अझ फिल्ममा त पत्रकारहरूलाई त चर्चको विरुद्धमा गएको भनेर पारिवारिक र सामाजिक बहिष्कार पनि सहनुपर्छ ।

पादरीले गरेको दुर्व्यवहारको बारेमा थाहा भएकाहरू पनि सुरु सुरुमा त्यो घटनाबारे बोल्न मान्दैनन् । उनीहरू बोल्न नचाहने धेरै कारण हुन्छन् । कतिलाई बोल्न डर लाग्छ किनकि जसको विरुद्ध बोल्दैछन् ती शक्तिशाली मान्छे हुन् । कोही बोल्न चाहँदैनन् किनकि उनीहरू आफूले विश्वास गरिरहेको संस्थाको साख धमिल्याउन चाहँदैनन् । केही बोल्न चाहँदैनन् किनकि उनीहरूलाई आफूले बोलेर केही हुने कुरामा विश्वास लाग्दैन । फिल्ममा पत्रकारले पहिला तेस्रो प्रकृतिका बोल्न नचाहने मान्छेको विश्वास जित्छन् । उनीहरूलाई आशा दिलाउँछन् कि तीनले भनेको कथा खेर जाने छैन । तीनले सुनाएको दुःख खेर जाने छैन । तीनले आफूले भोगेको कुरा सुनाएर लिएको जोखिम व्यर्थ फर्किने छैन ।

ठुला घटनाहरूमा यस्तो हुने गर्छ । सानो मान्छेहरूलाई सत्य बोल्न यसै पनि गाह्रो छ । ठुलो मान्छेलाई झुट महँगो नपर्ला तर त्यो सानो सत्यले ल्याउने विपद् उनीहरूलाई महँगो पर्छ । तर यसको मतलब यो हैन कि सानो सत्य बोकेका मान्छे कमजोर हुन्छन् । उनीहरूलाई आफूसँग भएको सत्य बोलिदिने आँट चाहिन्छ । त्यो आँट या त नागरिक समाजले दिन सक्छ, या त पत्रकारिताले । स्पटलाइट टिमका सदस्यहरू हार मान्दैनन् । उनीहरू मान्छेसम्म पुगिरहन्छन् । पटक पटक पुगेर विश्वस्त पार्न खोजिरहन्छन् ।

यो फिल्मले एउटा सफल खोजी पत्रकारिताको कथा सुनाउँदै पत्रकारिता क्षेत्रको चुनौती र जिम्मेवारी दुबैलाई प्रस्तुत गरेको छ । संवेदनशील विषयलाई कसरी प्रस्तुत गर्ने र त्यसको लागि सहानुभूति हैन समानुभूति कसरी विकास गर्ने र कथालाई तोडमोड नगरी कसरी अगाडी ल्याउने पनि बताएको छ । कथा सुनाउन नमानिरहेका पीडितलाई सम्झाउँदै एक पत्रकार भन्छिन् ‘हामी यो कथा सही तरिकाले भन्नेछौँ ।’

+++++

फिल्ममा केही यस्ता दृश्य छन् जसले ठुला अपराधीलाई बचाउन माथिल्लो तहमा कतिसम्म सेटिङ हुन्छ भन्ने देखिन्छ । पत्रकारहरूको लागि नै अदालतमा भएका पुराना फैसलासम्म पुग्ने ढोका बन्द हुन्छ । अपराध भएको थाहा पाएर पनि चर्चले आफ्नो साख जोगाउने नाममा कुनै पहल गर्दैनन् । केससँग जोडिएका वकिलहरू जोखिम लिने रहर गर्दैनन् । बरु उल्टै जो बोलिरहेका हुन्छन् उनीहरूलाई नै दबाब दिन थालिन्छ । फिल्मको एउटा सुरुवाती दृश्यमा बालबालिकाको छेउमा उभिएका एक जना पादरी उनीहरूलाई चर्चले गर्ने राम्रो कामहरूको बारेमा सुनाउँदै छन् । उनी राम्रो कामलाई सुनाएर चर्चका नराम्रो काम ढाकछोप गर्दैछन् ।

यो फिल्मले देखाएको अर्को महत्त्वपूर्ण कुरा भनेको ठुला अपराधको सीमा पनि हो । ठुला अपराधी बलिया त हुन्छन् । उनीहरूसँग प्रशासन देखि अदालतसम्म पहुँच त हुन्छ । उनीहरूले गरेको अपराध अपराध हो भनेर सुरुवातमा प्रमाणित गर्न गाह्रो पनि हुन्छ । उनीहरूको अगाडि अनेकौँ मान्छेहरू लागेका हुन्छन् । आँखा चिम्लिएर विश्वास गर्नेहरू हुन्छन् । उनीहरूलाई जोगाउनेहरू पनि हुन्छन् । तर जब कतैबाट पनि कुरा लुक्न छोड्छ, तब जो ठुलो हुन्छ उसको नै धेरै छिद्र देखिन्छ । ठुलो छिद्रलाई सँधैभरि टाल्न गाह्रो हुन्छ ।

फिल्ममा बोस्टर्न सहरबाट सुरु भएको खोजीले अरू सहरका पादरीलाई पनि तान्दै जान्छ । एउटा केसको बारेमा रिपोर्ट बाहिरिएपछि बोल्नेहरू पनि बढ्दै जान्छन् । पीडितहरूको स्वर ठुलो हुँदै जान्छ । उनीहरूलाई आफूले सुनाएको कथाले फरक पार्न सक्छ भन्ने विश्वास हुँदै जान्छे । त्यसले एकपछि अर्को ठुलो नामलाई ढलाउँदै जान्छ । यो फिल्मले जिम्मेवार पत्रकारिताको शक्ति र सामर्थ्यलाई उजागर गरेको छ । एउटा पत्रिका र त्यसका इमानदार पत्रकारले चाहे भने के के गर्न सक्छन् र तीनले त्यो सामर्थ्य सहित उभिँदा कति धेरै मान्छेको विश्वास जित्न सक्छन् भन्ने पनि देखाइदिएको छ ।

त्यससँगै यसले शक्तिमा हुनेहरूले मानिसको आस्थालाई कसरी गाँजेका हुन्छन् भन्ने पनि यसमा देखिन्छ । फिल्मको एउटा संवादमा एउटा व्यक्ति भन्छन् ‘गरिब परिवारमा हुर्किएको एउटा निर्दो बच्चालाई चर्चको पादरीले विशेष ध्यान दिनु ठुलो कुरा हो । भगवानलाई कसरी नाइँ भन्नु ?’ यसले कतिपय अवस्थामा बच्चालाई आफू माथि अन्याय भयो भन्ने कुरा नै थाहा नभएको कुरा दर्साउँछ । उनीहरू लामो समय त आफूमाथि गलत भएको हो कि हैन भन्दै नै सहिरहन्छन् ।

+++++

यो फिल्मले एउटा संवादमा भनेको कुराले कुनै पनि अपराधको दोषलाई केवल अपराधीसँग मात्र पुर्‍याउँदैन । त्यो अपराधीलाई अपराधी बनाउने समाजको चेतनालाई पनि प्रश्न गर्छ । त्यो संवादले भन्छ ‘यदि एउटा बच्चा हुर्किन सिङ्गो गाउँ कै हात हुन्छ भने एउटा बच्चामाथि दुर्व्यवहार हुँदा सिङ्गो गाउँ नै दोषी हुन्छ ।’

हामीले बनाएको समाज यस्तै छ । यसले पीडितलाई भन्दा पीडकलाई सम्मान गर्छ । पीडामा परेको कुरा सुनाउँदा पीडितले मूल्य चुकाउनुपर्छ । कसैले देख्ला कि भनेर पीडितले अनुहार लुकाउनुपर्छ । अनि समाजले अक्सर पीडकलाई नै भगवान पनि बनाइहाल्छ । दोषीले गरेको दोषको कुरा भन्दा भन्नेले ने आक्रमण पाइहाल्नुपर्छ । मिलेसम्म उसलाई उसको दोषको बदला भगवान् नै बनाइहाल्नुपर्छ ।

यो फिल्मले सम्झाउँदै भन्छ, ‘आफैँले बनाएका भगवानको पनि अनुहार जाँच गरिराख्नु । बेलाबेला हात जाँचिराख्नु । के थाहा भगवानको अनुहारमा कोही राक्षस पो बसेको छ कि । के थाहा एक हातमा प्रसाद र अर्को हातमा चक्कु पो बोकेको छ कि ?’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *