उच्च रक्तचाप के हो, कसरी बच्ने ? मुटु रोग विशेषज्ञ डा राजीव श्रेष्ठसँगको कुराकानी
पछिल्लाे समय अस्पताल तथा चिकित्सकहरू कहाँ उच्च रक्तचाप, हृदयघात, मुटुराेगजस्ता दीर्घराेगका बिरामी बढी संख्यामा पुग्ने गरेका छन् । उच्च रक्तचापका कारण हरेक वर्ष धेरैले अकालमा मृत्युवरण गरेको तथ्यांक पाइन्छ । उच्च रक्तचापकाे समस्याबाट जाेगिँदै कसरी अनेक घातक दिर्घ राेगबाट बच्ने भन्ने विषय नै अहिले स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा बढी चुनाैतीपूर्ण बनेकाे छ । यसै सन्दर्भमा उच्च रक्तचापका कारण मानिसको स्वास्थ्यमा पर्ने असर र बच्ने उपायबारे विराट मेडिकल कलेज र विराट नर्सिङ होमका मुटु रोग विशेषज्ञ डा. राजीव श्रेष्ठसँग मकालुका कोशी प्रदेश संयोजक सुमन सुस्केराले कुराकानी गरेका छन् । प्रस्तुत छ, डा. श्रेष्ठसँग उच्च रक्तचाप र यसले निम्त्याउने मुटुका रोगलगायतका विषयमा गरिएको कुराकानी :
उच्च रक्तचाप बारे आम नागरिकको बुझाई कस्तो पाउनु भएको छ ?
अहिले उच्च रक्तचापका बिरामीको सङ्ख्या धेरै छ । तर उच्च रक्तचाप भएका व्यक्ति सिधै अस्पताल त्यसैको लागि भनेर उपचार गराउन आएको पाइँदैन । अरू उपचार गर्न आउँदा मात्र परीक्षण गर्ने क्रममा हाई ब्लड प्रेसर भएको भन्ने थाहा पाउने गर्दछौँ । जब परीक्षणमा ब्लड प्रेसर देखिन्छ अनि मात्र ब्लड प्रेसर बढेको रहेछ भनेर जानकारी दिन्छौँ । हामीले हाई ब्लड प्रेसरबारे जानकारी दिँदा पनि कतिपय बिरामीले त विश्वास नै गर्दैनन् । हैन मलाई केही पनि भएको छैन भन्नेसमेत गरेको पाएको छु । उच्च रक्तचापमा देखिने खालको कुनै पनि त्यस्तो लक्षणहरू हुँदैन । बिरामीहरू धेरै ब्लड प्रेसर बढेर रगत नली फुटेको अवस्थामा अस्पताल आउनु हुन्छ तर सामान्य रूपमा ब्लड प्रेसरबारे जानकारी लिन आउनेको सङ्ख्या हामीसँग कमै छ । खासमा चैँ हामीले अरू कुरा परीक्षण गर्दा ब्लड प्रेसर भेट्टाउने हो । उच्च विन्दुमा नपुग्दासम्म त्यसबारेमा जानकारी राखेको पाइँदैन ।
उच्च रक्तचाप भनेको के हो ? कसरी थाहा पाउने ?
यसलाई नागरिकले सामान्य रूपमा बुझ्नु पर्छ । मानिसको शरीरमा बग्ने रगत शुद्धीकरण (प्युरिफाई) भएर मुटुसम्म पुग्छ । मुटुबाट शरीरका विभिन्न भागहरूमा रगत पुर्याउने कामलाई नर्मल रूपमा लिइन्छ । सामान्य तरिकाले मुटुबाट हुने ब्लड सर्कुलेशनलाई हामी नर्मल प्रेसर भन्छौँ । कतिपय कारणले गर्दा त्यो प्रेसर बढेर जान्छ । मुटुले धेरै काम गर्नु पर्दा ब्लड प्रेसर बढेर जान्छ । त्यसको परिणाम कहिलेकाहीँ दुर्घटना पनि निम्त्याउँछ, कहिले त्यसले जीवनलाई कतै न कतै असर गरेको हुन्छ । मुख्य कुरा प्रेसर बढेको थाहा हुँदैन, त्यस्तो अवस्थामा हामी वास्ता गर्दैनौँ । एक्कासी समस्या आएपछि मात्र चासो दिने गरेको पाइन्छ । त्यसाे हुँदा बिरामी कहिले प्यारालाइसिस, कहिले हर्ट फेलियर, कहिले किड्नी ड्यामेज भएर अस्पतालसम्म आई पुग्नु हुन्छ ।
सामान्यतया नागरिकले उच्च रक्तचाप कसरी थाहा पाउने ?
यसको कुनै त्यस्तो लक्षण हुँदैन । लक्षण देखिने र बेलाबेला आएर परीक्षण गरिने खालको पनि हुँदैन । बेला–बेला परीक्षण गर्ने हो भने आफ्नो प्रेसरको अवस्था थाहा हुन्छ, सामान्यतया नागरिकले त्यस्तो गरेको पाइँदैन । अहिले त विभिन्न खालका घरैमा बसेर त्यसको परीक्षण गर्ने उपकरणहरू पनि आएका छन् । अहिले पहिलाको जस्तो अवस्था चाहिँ हाेइन, तर धेरैले यो विषयलाई महत्त्व दिएको पाइँदैन ।
हाइ प्रेसर मात्र समस्या हो की, लो प्रेसरले पनि हानी गर्छ ?
आम मानिसले बुझ्नु पर्ने कुरा भनेको लो प्रेसर रोग हैन । हाई प्रेसर रोग हो, यो समस्याको रूपमा रहेको छ । अहिले हाम्रोमा के देखिएको छ भनेँ मेरो लो प्रेसर भयो, बर्बाद भयो भनेको पाइन्छ । त्यो गलत बुझाई हो । लो प्रेसर रोग हैन भनेर बुझ्नु पर्छ । अहिलेको मूल समस्या भनेको हाई ब्लड प्रेसर नै हो । तपाईँले सोध्नु भएको जस्तै, देखिने खालको कुनै लक्षण हुँदैन । बेला बेलामा परीक्षण गर्नुपर्छ भन्नुको कारण पनि यसको कुनै देखिने लक्षण हुँदैन । सुरुमा नै थाहा भयो भने यसको रोकथाम गर्न सकिन्छ । हरेक ३ महिना या ६ महिनामा आफ्नो ब्लड प्रेसरबारे जानकारी लिन जाँच गराउनै पर्छ ।
उच्च रक्तचाप कसरी हुन्छ ?
यो कसरी हुन्छ भन्ने बारे कसैलाई पनि थाहा छैन । एकदमै कम अर्थात् करिब ५ प्रतिशतमा केही कारणहरू भेटिन सक्छ । हामीले पनि धेरै कारणहरू खोज्दैनौँ । ९५ प्रतिशतमा कारण थाहा नहुने भएकोले पनि यसको औषधी लामो समयसम्म चलाइएको हुन्छ र नियमित औषधी खानु पर्छ । आफ्नो रक्तचापको अवस्था के छ भनेर थाहा पाउन पहिला नियमित परीक्षण गर्नु पर्छ । अहिले घरमै पनि नाप्न सकिने खालका उपकरणहरू आएका छन् । एक जनाको मात्रभन्दा पनि सबैको नाप्न सकिने भएकोले परीक्षणको लागि अस्पताल पनि गइरहनु पर्दैन ।
खानपानले उच्च रक्तचाप रोक्न कत्तिको मद्दत गर्छ ?
पक्कै पनि खानपानले उच्च रक्तचापलाई बढाउने या घटाउने भन्ने भूमिका खेल्न सक्छ । हाम्रो जीवन शैलीले हाम्रो शरीरको अवस्था कस्तो बनाउने भन्ने अर्थ राख्छ । चुरोट, रक्सी, चिल्लो खाना, नुनिलो खानाले ब्लड प्रेसरलाई बढाउँछ । यी खाने कुरामा ध्यान दिने हो भने शरीरमा हुने उच्च रक्तचापलाई कम गर्न सकिन्छ ।
यस्तो लक्षण नै नहुने पनि हुन्छ र ?
पक्कै पनि मैले अघि भनेको जस्तै धेरै लक्षण यसको थाहा हुँदैन । केहीको घाँटी तथा टाउको दुख्ने होला । यो अत्यन्तै कम सङ्ख्यामा देखिन्छ यो सामान्य रूपमा देखिँदैन । कहिलेकाहीँ रगत अत्यन्त बढेर जिटलता (कम्प्लिकेशन)हरु आएपछि मात्र उच्च रक्तचाप भएको हो भनेर हामीले थाहा पाउने हो ।
उच्च रक्तचापको उपचारका लागि कुनै त्यस्ता घरेलु उपायहरू छन् ?
पक्कै पनि छ । त्यो भनेको हामीले हाम्रो जीवन शैलीलाई परिवर्तन गर्नुपर्छ । अहिलेको सबैभन्दा सजिलो घरेलु उपचार भनेको जीवनशैली सुधार (लाइफ स्टाइल मोडिफिकेशन) नै हो । नियमित शारीरिक व्यायाम (एक्सररसाइज) गर्ने, मोटोपन घटाउने, मोटोपन भनेको हाम्रो पेट ठुलो हुन्छ । त्यसलाई घटाउनु पर्ने हुन्छ । आफ्ना सुविधा अनुसार बिहान या साँझ नियमित व्यायाम गर्नुपर्छ । अनि खानपिनमा ध्यान दिनुपर्छ । नुन कम खाने, वजन घटाउने, चुरोट खाने छ भने चुरोट खान बन्द गर्ने, खानामा हुने डाइट कन्ट्रोल गर्ने हो भने धेरै हदसम्म रक्तचापलाई सामान्य अवस्थामा राख्न सकिन्छ ।
उच्च रक्तचापका बिरामीले कस्ता खालका औषधी सेवन गर्न सक्छन् ?
उच्च रक्तचाप अवस्था कुन बिन्दुमा पुगेको छ त्यसलाई हेर्नु पर्ने हुन्छ । कुन लेभलमा पुगेपछि औषधी सुरु गर्ने या नगर्ने भन्ने हुन्छ । प्रेसरको दवाई सुरु गरिसकेपछि जिन्दगीभर औषधी खाईरहनु पर्छ भन्ने कन्सेप्ट बिरामीमा देखिन्छ । यो पनि कसैले जीवनभर खानु पर्ला कसैले पर्दैन त्यो चैँ आफैँमा भर पर्ने कुरा हो । सबै बिरामी प्रेसरको औषधी खान मान्दैनन् । कुन औषधी कसरी चलाउने भन्ने कुरा बिरामीको अवस्था हेरेर हुन्छ । औषधी नै सेवन नगर्नेहरू पनि धेरै रहेकोले त्यस्तो अवस्थामा जीवन शैली सुधार गर्नतर्फ लाग्नु पर्छ, नियमित व्यायाम मुख्य कुरा हो ।
उच्च रक्तचाप प्राणघातक रोग हो ?
अचानक मृत्यु हुनुको पहिलो कारण भनेको हर्ट अट्याक हो । त्यो ब्लड प्रेसर ज्यादा भएर पनि हुन्छ । प्यारालाइसिस तथा ब्रेन हेम्रेज भन्छौँ नि हो त्यो भएर पनि मृत्यु हुन्छ । यसले आँखा, किड्नीलाई पनि ड्यामेज गराउने गर्छ । हामीले प्रेसरलाई नर्मल किन राख्ने भन्दा पहिलो कुरा ब्रेनलाई स्वस्थ राख्नका लागि हो । अन्धोपन, हार्ट फेलियर, हृदयाघात र किड्नी फेलियर समस्याको रूपमा देखिने गरेको छ। दवाई खानु ठुलो कुरा हाेइन । तर मैले भन्ने एउटै कुरा भनेको ब्लड प्रेसर कन्ट्रोल राख्नै पर्छ, त्यसका लागि औषधी सेवन गर्नु पर्छ । उच्च रक्तचापको कारण हुने ब्रेन हेम्रेज, आँखाको ज्योति गुम्ने, किड्नी फेलियर र हृदयाघात भएका १०० जना मध्ये करिब ५० जना मानिस बचाउनु पनि ठुलो कुरा हो । त्यसले मैले भन्ने एउटै कुरा भनेको नियमित परीक्षण गरी आफ्नो शरीरको स्वास्थ्यप्रति चनाखो बन्नै पर्छ ।
सरुवा रोग नभए पनि यसको सङ्ख्या किन बढ्दो छ ?
यो सरुवा रोग हैन तर अहिले हेर्दा सरुवा रोग जस्तै देखिन थालिसक्यो । यसको सङ्क्रमण दर अत्यन्त बढेको छ। विराटनगरमा मात्र हाइपर टेन्सन (उच्च रक्तचाप)का बिरामीको सङ्ख्या धेरै छ । मेरो अनुभवमा अहिले २५–३० वर्षमा नै ब्लड प्रेसरका कारण मुटु सुन्निएर आउनेहरू पनि छन् । प्रेसर नाप्दा २२०/१२० भएको पाइन्छ, त्यस्तो अवस्थामा पनि मलाई केही भएको छैन भन्ने गर्नुहुन्छ ।
हामीले पढ्ने बेला ४५–५० वर्षमा मात्र मुटु रोग लाग्छ, भनिन्थ्यो । अहिले २५–३० वर्षदेखि नै उच्च रक्तचापको कारण उपचार गराउन आउनेहरूको सङ्ख्या बढ्दै छ । यसको कारण फिजिकल वर्क छैन । अफिस तथा स्कुल जाने गाडी, बाइक, बसमा हो । हिँड्ने बानी नै हाम्रो कम छ । यसकै कारण उच्च रक्तचापका बिरामी बढेका छन्, यो घातक र मानिसको ज्यान लिने रोग हो ।
हामीले आफ्नो ब्रेन, आँखा, मुटु, किड्नी बचाउन ब्लड प्रेसरलाई कन्ट्रोलमा राख्नु पर्छ । त्यसका लागि औषधी सेवन अनिवार्य हो । त्यति हुँदाहुँदै पनि बिरामीले यसलाई गम्भीर रूपमा लिएको देखिँदैन । अहिले पनि उच्च रक्तचापको बारेमा बिरामीलाई बुझ्ने र बुझाउने बारेमा हाम्रो कमजोरी छ । उच्च रक्तचापका बिरामीले औषधी किन खाने र किन खुवाउने भन्ने बारेमा अहिले पनि बुझाउन सकिएको छैन । दवाई लेखेर पठाउँदा पनि कतिपय बिरामीले फार्मेसीमा गएर औषधी नै नलिई हिँडिदिने गरेको पनि पाइन्छ । सर्वसाधारणले बुझ्नै पर्ने कुरा भनेको अरू रोग जस्तो ब्लड प्रेसर मामुली रोग होइन । केही रोग लागेको छैन भनेर ढुक्क भएर बस्ने रोग हैन । उच्च रक्तचापबाट आफू बच्न नियमित परीक्षण, खानपान, व्यायाम गरेर स्वस्थ रहन सकिन्छ ।