यती ग्रुपका कार्यकारी अध्यक्ष शेर्पाद्वारा सेभेन समिट आरोहण पूरा
काठमाडौँ। वरिष्ठ पर्यटन व्यवसायी तथा यती ग्रुपका कार्यकारी अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । ल्हाक्पा सोनाम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला तथा राष्ट्रिय विभूति स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् ।
स्व.पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि आज बुधबार बिहान ७ बजेर ३४ मिनेटमा ल्हाक्पा सोनाम शेर्पाले सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका हुन् । सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेर सेभेन समिट आरोहण पूरा गरेका छन् । विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ ।
यसअघि शेर्पाले छवटै महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरिसकेका थिए ।
उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मिटर), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मिटर), नोभेम्बर १५, २०१६ मा ओशिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज (४,८८४ मिटर), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मिटर), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मिटर) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मिटर) हिमालको आरोहण गरेका छन् ।
६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौँबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए ।
ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् ।
झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८ हजारभन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरी हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।