रियल म्याड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा
काठमाडौँ । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल रियल म्याड्रिडका एडर मिलिताओले आत्मघाती गोल गरेका थिए ।
योसँगै म्यानचेस्टर सिटी पछिल्ला तिन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटी २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर प्रिमियर लिगकै प्रतिद्वन्द्वी चेल्सीसँग पराजित भएको थियो । क्लबको इतिहासमा पनि च्याम्पियन्स लिगमा पुगेको यो दोस्रो पटक हो । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
अब यस सिजनको फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्ने भएको छ । फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुने छ ।