कांग्रेसद्वारा काेशी सरकार छाड्न माओवादी र जसपालाई आग्रह
विराटनगर । नेपाली कांग्रेस संसदीय दलले नेकपा माओवादी केन्द्र र जनता समाजवादीलाई सरकार छाड्न आग्रह गरेको छ। बिहीबार विराटनगरमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले दुई दल माओवादी र जसपालाई सरकार छाड्न आग्रह गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय नेपाली कांग्रेसले सरकार ढाल्नका लागि अन्तिम कसरत गरिरहेको छ । भोलि आउन सक्ने संभावित जोखिमलाई त्यहिँभित्रैबाट विकल्प निकालेर छलफल गर्ने तर अहिले माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने नेपाली कांग्रेस भित्र छलफलमा कुरा उठेको बैठकमा सहभागी एक नेताले बताए ।
अन्य प्रदेशमा नेकपा एमालेको सरकार ढलिसकेको अवस्थामा कोशी प्रदेशमा पनि गठबन्धन सरकार बन्नु पर्ने भन्दै त्यसका लागि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
‘नेकपा माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता दिन हामीले आग्रह गर्ने निर्णय गरेका छौँ, थापाले भने, नयाँ सरकार गठनको बाटो खुल्ला गर्न पनि तत्काल उहाँहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्छ ।’
कोशी प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा १३ जना सांसद रहेको नेकपा माओवादी केन्द्रको २ जना र १ जना मात्र सांसद रहेको जसपाको एक जना गरी ३ जना मन्त्री छन् । नेपाली कांग्रेस जसरी पनि कोशी प्रदेश सरकार ढाल्नै पर्ने अन्तिम कसरतमा लागेको छ। सर्वदलीय सरकार बनाउने बारेको बहस बाहिर आएको भए पनि त्यस प्रस्ताव कांग्रेसलाई स्वीकार्य नरहेको छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए ।
कोशी प्रदेश सभामा ३९ जना सदस्यहरू रहेकोमा ठुलो दलको रूपमा नेकपा एमालेले अहिले बहुमतको सरकार बनाएको हो । प्रदेश सभामा नेकपा एमालेको ४०, काँग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुख सहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीको एक जना सांसद रहेका छन् ।
केन्द्रको समीकरण अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको सरकार बन्नु पर्ने हुन्छ । केन्द्रीय गठबन्धनमा रहेका दलहरूसँग कोशी प्रदेशमा सभामुख सहित ४७ सांसद पुग्छन् ।
माओवादी केन्द्रबाट सभामुख बाबुराम गौतम भएकोले ४६ जना मात्र सांसद हुँदा निर्णय लिन गाह्रो हुने र सरकार बनाउन समस्या हुने प्रदेश सभाभित्रैका दलहरूको बुझाई छ । एमाले र राप्रपासँग मात्र ४६ सांसद छन् ।
केन्द्रीय गठबन्धन अनुसार हरेक निर्णयमा सभामुखले निर्णायक मत दिनु पर्ने भएकोले सभामुख विवादमा पर्ने तथा अहिलेको सरकार ढल्दा गठबन्धन सरकारलाई सरकार बनाउन समस्या हुने भएकोले कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको सरकार अहिलेसम्म टिकिरहेको छ।