सय दिनको बाचा ३० दिन नपुग्दै पूरा भयो : रवि लामिछाने
काठमाडौँ । संघीय सांसद रवि लामिछानेले एक सय दिनको बाचा ३० दिन नपुग्दै पूरा भएको बताएका छन् । उनले बिहान सामाजिक सञ्जालमार्फत जुगेडिको पानी रामनगर चौरमा आइपुगेको बताएका हुन् ।
दैनिक सयौँ नागरिक सहभागी भएर चितवनमा पानी ल्याउने कामलाई निरन्तरता दिइरहेको उनले उल्लेख गरेका छन् । ‘हाम्रा सांसदहरू निर्वाचन क्षेत्रमा पुग्न समेत भ्याएनन् । म आफैँ पनि आफ्नो निर्वाचन क्षेत्रमा पुग्न सकिन । तर पनि दैनिक सयौँ नागरिक सहभागी भएर चितवनमा पानी ल्याउने कामलाई निरन्तरता दिँदै हुनुहुन्छ,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले भनेका छन्, ‘मैले १०० दिन समय तोकेको थिएँ । आज ३० दिन पनि पुगेको छैन । जुगेडिको पानी रामनगर चौरमा आइपुगेको छ । यति चाडै रामनगर सम्म पानी ल्याउन रातदिन नभनि खटिनुभएका सबै जना विशेष गरी रामनगरका बासिन्दा र श्रमदान गर्नुहुने सम्पूर्ण चितवनका बासिन्दाहरूमा म विशेष धन्यवाद प्रकट गर्दछु ।’
बजेट अधिवेशनलगत्तै आफूहरू मैदानमा देखिने उनले बताए । ‘आज तपाईँ मैदानमा खटिदा हामी यो देशको भविष्य निर्माणमा खटिन पाएका छौँ । भनेको दिन भित्र चितवनले पानी पाउँछ । भनेको समयमा देशले मुहार फेर्न सुरु गर्छ । बजेट अधिवेशनलगत्तै हामी मैदानमा देखिनेछौ, फरक शैली र जिम्मेवार ढङ्गमा,’ उनले अगाडि भनेका छन् ।