सातदोबाटोले हरायो थ्रीस्टारलाई

सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटोले थ्री स्टारमाथि २–० को सहज जित हात पारेको हो ।

सातदोबाटोको जितमा दुवै गोल विलियम ओपोकुले गरे ।

खेलको २४औं मिनेटमा ओपोकुले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए ।

४७औं मिनेटमा ओपोकुले टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे । पिटर सेगुनले दीपक राज सिंह ठकुरीलाई फउल गरेपछि पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा ओपोकुले गोल गर्न सफल भए ।

त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो विजयी हुन सफल भयो ।

यस जितसँगै सातदोबाटोले थ्री स्टारलाई नै पछि पार्दै लिगको चौथो स्थानमा उक्लन सफल भएको छ । सातदोबाटोको १९ खेलबाट २९ अंक पुगेको छ । पराजित थ्री स्टार २६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

चर्च ब्वाइज १९ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको जावलाखेलको ३२ तथा तेस्रो स्थानको मछिन्द्रको ३१ अंक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *