सुन्दर सटले सिनेमा मारिरहेको पनि हुन सक्छ : खिन्से नोर्बु

अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बौद्ध धर्मगुरु, निर्देशक र लेखक गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) हिजो (६ जेठ) मुभी लभर्सले आयोजना गरेको उनको फिल्म ‘डाकिनी’ को स्पेसल स्क्रिनिङ सकिएपछि आए । काठमाडौंको सिडिसी हलमा नेपाली र विदेशी दर्शक खचाखच थिए । अरू बेला गर्ने स्क्रिनिङमा चलचित्र सकिएपछि निर्देशकसहितको टिमलाई अगाडि उभ्याएर दर्शकबाट प्रश्न सोधिन्थ्यो । त्यो नगरी हिजो सिधै ‘ब्युटी इज अ ट्र्याप’ शीर्षकमा रहेको उनको मास्टरक्लास सुरु भयो । 

उनी आउनुभन्दा पहिला अगाडि स्टेजमा दुई वटा कुर्सी थिए । उनले बोल्न थाल्दासम्म त्यहाँ एउटा मात्र थियो । उनी त्यहाँ बसे । अनि आफू कुनै मास्टर नभएकाले ‘यो मास्टर क्लास हैन’ भन्दै सुरु गरे । सुरुवातमा आफूलाई कतिले जोक गर्दै कुनै तिब्बती लामाको अवतार हो पनि भनिदिने गरेको प्रसङ्ग ल्याउँदै भने ‘इमानदार भएर भन्छु मलाई पूर्व युगका पूर्वजहरूको केही पनि सम्झना छैन, अलिकति पनि छैन । तर यसको मतलब म अवतारमा विश्वास नगर्ने भनेको पनि हैन ।’ 

उनले परम्परागत हुर्काइबाट आएको भए पनि आफू जहिल्यै उत्सुक रहेको सम्झिए । २० वर्ष कटेपछि लण्डन पढ्न गएको प्रसङ्ग जोडे । पढ्नमा भन्दा धेरै लण्डनका ग्यालरी अनि सिनेमाघरतिर जाने प्रसङ्ग सुनाउँदै उनले भने, ‘मैले धार्मिक मनोविज्ञान पढ्नु थियो तर मलाई त्यसमा रुचि थिएन । त्यहाँ मलाई गुरु मान्ने केही पश्चिमा थिए । म तीनैलाई होमवर्क गराएर घुम्न निस्किन्थेँ ।’

एक पाउण्डमा चार वटा फिल्म हेर्न गएको कुरादेखि जर्ज अरवेल पढ्न थालेको कुरासम्म सुनाएपछि उनले आफ्नो परम्परागत सिकाइमा अङ्ग्रेजी सिक्न निषेध रहेकाले लुकिलुकी पढेको प्रसङ्ग कोट्याए । 

कथाले के के गर्न सक्छ भन्ने कुरा सुनाएपछि उनले त्यसलाई लगेर बुद्धिजमसँग जोडे र भने– ‘बुद्धिजम पनि कथा नै हो । यसमा कथाका कति धेरै तहहरू छन् । किनकि सबैको लागि मिल्ने एउटै कथा त कतै पनि छैन ।’

एक बुद्धिस्ट गुरु वा शिक्षकको रूपमा आफूलाई धेरैले तिमी कसरी फिल्म बनाइरहेका छौ भन्ने प्रसङ्गको जवाफमा उनले भने– ‘यो प्रश्न खासमा गतिलो प्रश्न हैन । किनकि फिल्म एउटा माध्यम मात्र हो । यो एउटा भाषा हो, साधन हो । हामी यसलाई हाम्रो कथा भन्ने साधनको रूपमा प्रयोग गर्न सक्छौँ ।’  

तर यसो भन्दै गर्दा उनले नेटफ्लिक्स तथा टेलिभिजनमा एपिसोड एपिसोडमा आउने सिरिजहरूको कारणले फिल्मको भाषा मर्दै गरेकोमा चिन्ता पनि व्यक्त गरे । सँगै छोटो भिडियोहरूमा मान्छेको रुचि बढ्दै गएकोले त्यो पनि लामो समय अडिनेमा शङ्का गरे । ‘केही वर्षमा हुनसक्छ मान्छेहरू एकदमै छोटा चिजहरूमा मात्र अड्किनेछन् ।’ 

आफू मास्टर नभएको भनेर सुरु गरेका उनले आफूले सिक्दा वास्तविक मास्टरसँग सिकेको बताए । ३० वर्ष पहिला १० मिनेटभित्रमा अडिएन्स समातिसक्नुपर्छ भनिने गरेकोमा अहिले त्यो घटेर दुई तीन मिनेट वा अझ केही सेकेन्डमा नै झरिसकेको सम्झिए । 

उनको क्लास कुनै अर्डरमा सुरु भएको थिएन । उनले सेसनका लागि खासै तयारी गरेका पनि देखिएन । बेलाबेला त्यसलाई स्वीकार्दै अनि आफैँमाथि आफैँले जोक गर्दै भने– ‘म यहाँ जे पनि भनिरहेको छु, सुनिसकेपछि अन्तिममा तपाईँहरूलाई यो मान्छेले के भन्यो त खै जस्तो पनि लाग्न सक्छ ।’

उनले कथा वाचनलाई फिल्ममेकिङभन्दा बाहिर पनि पुर्‍याए । आफूले न्युयोर्क र सिंगापुरमा रहेको अनि निकट भविष्यमा नै थाइल्यान्डमा पनि बिस्तार हुँदै गरेको स्कुलको प्रसङ्ग ल्याए । बुद्ध धर्ममा रहेका जटकमाला जस्ता कथा अनि तीनमा जोडिएका अनेकौँ स्वरूपमा कथाको प्रसङ्ग ल्याए । ती एकदमै अप्ठ्यारो भाषा र फर्मेटमा लेखिएको बताए । त्यो प्रसङ्गको ध्येयमा उनले पढ्न नसकिने र कथामा नबनाइएका बुद्धिस्ट कथाहरूलाई सरल बनाउनुपर्ने आशय राखे । बालबालिका सिन्ड्रेलाको कथामा झुमेको सुनाउँदै कथा वाचनको महत्त्व सम्झाए । 

‘म मेरो फिल्म सधैँ बुद्धिस्ट फिलोसफीमा आधारित हुन्छन् भनेर दाबी गरिरहेको छैन । वा मैले फिल्म बनाउनुको अन्तर्य मानिसलाई बुद्धिस्ट फिलोसफी सिकाउन हो भनेँ भने एकदमै एरोगेन्ट सुनिन्छ । यस्तो दाबी गर्नु जोखिमपूर्ण हुन्छ ।’ भन्दै गर्दा उनले आफू बुद्धिस्ट फिलोसफी तथा अभ्याससँग एकदमै भिजेको भएर आफ्नो काममा त्यसको प्रभाव देखिने गरेको भने स्वीकारे । 

उनले फेरि एकपल्ट आफ्नो फिल्मलाई उडाए– ‘मैले हिजो मेरो फिल्म हेरेँ त्यही फिल्म जुन तपाईँहरूले सारै दुख्खले केही समय पहिला हेरिसिध्याउनुभयो ।’

फिल्मका कलाकारदेखि सिनेमाटोग्राफर अनि सम्पादकसम्म सबैको कामको प्रशंसा गर्दै फिल्मले लेखक र निर्देशकको रूपमा आफैँलाई भने धेरै कुरा सिकाएको बताए ।   

त्यसपछि बल्ल उनी आफ्नो विषयमा आए ।

‘ब्युटी इज अ ट्र्याप सँगै म दुई वटा कुरा पनि थप्न चाहन्छु,’ अनि त्यसलाई सहज बनाउँदै थपे, ‘यी मेरा धारणा मात्र हुन् तपाईँहरू यसलाई सुनेर फरक मत राख्दै तर्क गर्न पनि पाउनुहुन्छ ।’ 

उनले कथा वाचनको संसारमा दुई वटा चुनौती रहेका बताए ।

‘मानिस भन्छन्, तिमीले युनिभर्सल थिममा कथा भन्नुपर्छ तर यो तथाकथित कुराले हामीलाई सीमित बनाउन सक्छ,’ उनले युनिभर्सल थिम भन्नासाथ हलिउड थिमलाई बुझिने गरेको प्रसङ्ग ल्याए । यसबारे सोच्नुपर्ने र निर्णय लिनुपर्ने बताउँदै भने, ‘हरेक संस्कृतिको छुट्टै प्रकारको थिम हुन्छ । र युनिभर्सल थिमको बराबर हुने नाममा हामी युनिभर्सल थिमको हलिउड वा बलिउड भर्सनमा सीमित भइरहेका हुन सक्छौँ ।’

उनले कथा भन्ने र कथा सुन्ने बिचको सञ्चारमा चुनौती रहेकाले त्यसमा विशेष ध्यान दिन सुझाए ।

कथाबाट उनले कथा भन्नुको औचित्य र उद्देश्यलाई पनि जोडे ।

‘यदि तपाईँलाई पैसा कमाउन कथा भन्नु छ भन्ने त्यो अर्को महत्त्वपूर्ण विषय हो,’ भारतीय फिल्म आरआरआर र नट्टु नट्टु गीतको प्रसङ्ग छिराउँदै उनले त्यो फिल्म कमर्सियल फिल्मको सबै उद्देश्य समेटेको उत्कृष्ट फिल्म भएको बताए । हेरिसक्दा यो के हेरेँ लाग्ने गरेको भए पनि एकदमै सही तरिकाले प्याकेज गरिएको सामग्रीसँग त्यसलाई दाँजे । शाहरुख खानको ‘चकदे इन्डिया’ फिल्मको प्रसङ्ग ल्याउँदा भने उनी थोरै चिप्लिए । महिला हकी टिमले विश्वकप जितेको कथामा बनाइएको फिल्म भए पनि दर्शकलाई टार्गेट गरेर फिल्म बनाउने प्रसङ्गको उदाहरण दिन खोज्दा उनले त्यसलाई भारत र पाकिस्तान बिचको क्रिकेट खेलको बारेमा हो भन्न भ्याए ।  

उनले व्यवसायिक फिल्मलाई स्टारबक्स कफीको ब्राण्डिङ र वितरणसँग तुलना गरे भने अफबिट फिल्मलाई ‘भियतनामको अण्डा कफी’ सँग । संसारमा जता पनि उस्तै पाइने पहिलोको गुण सम्झिँदै भने, ‘स्टारबस्समा तपाईँले सुरक्षित कफी पाउन सक्नुहुन्छ ।’ यो प्रसङ्गबाट उनले दुई प्रकारका फिल्मको अन्तर भने । कमर्सियल फिल्म फर्मुलामा हुने तर अफबिटको बनाउने तरिका आफ्नै, स्थानीय र थोरै अचम्म पारिदिनेखाले हुने प्रसङ्ग जोडे । ‘भियतनामिज कफी भियतनामिज तरिकाले बन्छ । त्यसको पहिलो सुरूप धेरै तितो हुन्छ तर बिस्तारै मिठो हुन्छ ।’ 

युनिभर्सल थिम भन्दै गर्दा फिल्ममेकरहरूले हलिउड र बलिउडको थिमले कत्तिको थिचिरहेको छ भन्ने कुरा पनि बुझ्नु जरुरी भएको बताउँदै गर्दा त्यसमा आउँदै गरेको ग्लोबल सिफ्टलाई पनि सम्झिए । फिल्मको चाइनिज बजार बढिरहेको प्रसंग कोट्याउँदै व्यङ्ग गर्दै उनले भने, ‘अब छिट्टै सिन्ड्रेलाहरू मंगोलियन लुगा लगाएका आए भने म आश्चर्य मान्ने छैन ।’

त्यसपछि बल्ल उनी ब्युटी इज अ ट्र्यापमा आइपुगे । आफू फेरि पनि एकदमै बेकार बोलिरहेको हुनसक्ने भन्दै उनले भने, ‘मलाई लाग्छ सिनेमा र मुभी बिचमा अन्तर छ । लेखक र फिल्ममेकरहरू सुन्दर सटलाई एकदमै मन पराउँछन् । म पनि त्यस्तै छु । मलाई पनि क्यामेरा अड्याएपछि सुन्दर सटको अपेक्षा रहन्छ । धुवाँ आइरहेको । रुल अफ थर्ड, वाइड सट आदि आदि । तर यसले सिनेमालाई मारिरहेको हुन सक्छ ।’ यदि भनेर उनले कालजयी इटालियन निर्देशक फेडरिको फिलिनीलाई सम्झिए । उनको ‘एट एन्ड हाफ’ फिल्मको प्रसङ्ग कोट्याउँदै भने, ‘त्यसका केही सटहरू एकदमै खराब तरिकाले खिचिएका छन् । कतै फोकस छैन । फ्रेमिङ यताउता भएको छ । तर ती सुन्दर छन् किनकि तीनमा हामी आफ्नो जीवनको अनुभव पाउँछौँ । हरेकपल्ट हामी कसैसँग कुराकानी गर्दा ब्युटिफुल सट जस्तो त हुँदैन नि । कहिलेकाहीँ त्यही कुराले विषयलाई शक्तिशाली बनाइदिन्छ ।’

उनले नेपाली अडियन्सलाई के भन्दियो भने समात्न सकिन्छ भनेर थाहा पाए जसरी नै भने, ‘काठमाडौँ अनि नेपालमा नै फाइदा लिन सकिने कति धेरै कुराहरू छन् । यो त सूचनाहरूको मूल जस्तै छ । म अन्नपूर्ण र धौलागिरिको सुन्दर सटको कुरा मात्र गरिरहेको छैन ।’

फेरि पनि आफूले बकवास कुरा गरिरहेको हुनसक्ने बताउँदै उनले पुनः आफ्नो फिल्म हिजो हेर्दाको प्रसङ्ग कोट्याए । फिल्म हेर्दै गर्दा आफूले आफूलाई नै कमजोर ठानिरहेको बताए । ‘मलाई नजिकबाट जान्नेहरू यसले यस्तै गर्छ भन्छन् होला तर हिजो फिल्म हेर्दै गर्दा मलाई म यी कति धेरै कुरा काट्न सक्छु भन्ने भइरह्यो ।’

यसरी उनले आफ्नो क्लास सकाए । सञ्चालक शेखर खरेलले, ‘तपाईँको मास्टरक्लासको लागि धन्यवाद’ भनेको सुन्दा ‘मास्टरक्लास नै हो त ?’ भन्ने भावमा आफैँलाई उडाए जसरी हाँसे । 

दर्शकबाट प्रश्नहरू थोरै मात्र लिइयो । ‘डाकिनी’ का निर्मातामध्येका एक म्याक्स खत्रीले कार्यक्रम सञ्चालक शेखरको माइकमा आएर ‘फिल्म मेकरहरूले मात्र प्रश्न सोध्ने’ भनी सुनाए । उनको त्यो निर्णय पूर्वतयारीमा नभएको देखियो । फरक फरकका दर्शकहरूले बनेको मुभी लभर्स समूहले आयोजना गरेको स्क्रिनिङमा फिल्ममेकरले मात्र प्रश्न सोध्ने क्लस्टर असुहाउँदो देखिएको उनले ख्याल गरेनन् । 

केही प्रश्नोत्तरपछि मास्टरक्लास सकियो ।

+++++

खिन्से नोर्बु निर्देशित फिल्म ‘डाकिनी’ को पब्लिक रिलिज काठमाडौंभित्रका सीमित हलहरूमा मात्र भएको छ । नेपालको प्रोडक्सन कम्पनी षड्कोण आर्ट्सले निर्माण गरेको फिल्मले काठमाडौंमा नराम्रो सपना देखेको एउटा युवकले त्यसको समाधानको लागि ‘डाकिनी’को खोजी गरेको कथा भन्छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको उक्त आयामलाई बाहिर ल्याउँछ । फिल्मको सबै छायाङ्कन नेपालको पाटन र काभ्रेको पनौतीमा भएको हो, जसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा प्रयोग भएको छ । 

खिन्से नोर्बु अर्थात् जोङसार खिन्से रिम्पोछे सिनेप्रेमीहरूमाझ परिचित नाम हो । उनको ‘The Cup’ फिल्मले भारतमा अवस्थित वीर नामको तिब्बती शरणार्थी गाउँमा बस्ने दुई जना फुटबल प्रेमी शरणार्थी वालकले सन् १९९८ को वर्ल्डकप फाइनल हेर्नका लागि टेलिभिजन जुटाउन गरेको सङ्घर्षको कथा भन्छ । यस्तै भुटानमा खिचिएको पहिलो फिचर फिल्म ‘Travellers and Magician’ ले अति सामान्य जीवनबाट भाग्न खोजिरहेका चरित्रहरूको यात्रा पछ्याउँछ । उनको अर्को फिल्म ‘Vara- A Blessing’ ले एक मुस्लिम मूर्तिकारसँग प्रेममा पर्ने देवदासी पुत्री युवतीको कथा भन्छ । यो फिल्म सन् २०१३ को बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटनमा पनि देखाइएको थियो । ‘डाकिनी’ उनको पछिल्लो फिल्म हो । 

फिल्मको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुवै तिब्बती मूलका हुन् । दुवैले अभिनय गरेको यो पहिलो फिल्म हो । कर्म, दिव्य देव, रवीन्द्रसिंह बानियाँलगायत नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् । निर्देशक मात्र होइन, छायाँकार पनि उत्तिकै हाइप्रोफाइल छन् । २१ अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्क ली पिङ बिङले यो फिल्म खिचेका हुन् । उनले सन् २००१९ मा मंगलबार ललितपुरमा आयोजित फिल्मको प्रेसमिटमा फिल्मको निर्माण कम्पनी षट्कोण आर्ट्सले यो पत्रबारे खुलाएको थियो । ३० जुलाई २०१९ को मितिमा लेखिएको उक्त पत्रमा स्कोरसिजले आफू अध्यक्ष रहेको फिल्म फाउण्डेसनको लेटरप्याडमार्फत टोरन्टो इन्टरनेसनल फेस्टिभलका प्रमुखलाई स्कोरसेसिजले सम्बोधन गरेका छन् ।

‘फेस्टिभलमा फिल्म छनोटको अन्तिम तयारी भइरहँदा म चाहिँ खिन्से नोर्बुको नयाँ फिल्म लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाचको पक्षमा उभिन्छु । म लामो समयदेखि नोर्बुका सुन्दर कामको प्रशंसक हुँ । मेसिनजस्तो बनिरहेको आधुनिक विश्वमा नोर्बुले तिब्बती रहस्यवादमार्फत मानवीयताको वकालत गरेका छन् । अन्तर्मनतर्फको यात्रा गराउने यो फिल्म निकै सुन्दर छ । महान् ताइवानी छायाकार मार्क-ली-पिङ-लीले नेपाललाई आकर्षक ढङ्गले खिचेका छन्,’ स्कोरसिजको पत्रमा उल्लेख छ ।

हरेक दुई महिनामा विशेष फिल्महरूको स्क्रिनिङ गर्ने गरेको मुभी लभर्सले यही फिल्मको लागि भनेर आफ्नो समय फेरबदल गरेको हो । यसकै आयोजनामा गत वैशाख २४ गते विक्रम सापकोटा निर्देशित ‘हल्कारा’ को विशेष प्रिमियर भएको थियो । यसभन्दा पहिला मुभी लभर्सले सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को विशेष प्रिमियर सफल भएको थियो ।

केही  केही सिनेमा मन पराउने साथीहरूले सुरु गरेको फेसबुक समुदायमा हाल लगभग सात हजार सिनेमा प्रेमीहरू जोडिइसकेका छन् । नेपाली सिनेमा क्षेत्रलाई दर्शकको आँखाबाट प्रवर्द्धन गर्ने उद्देश्य यो समुदायले लिएको छ ।

सबै फोटो: प्रकाश भुसाल, Trident Concept

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *