विष्णु रिमालले भने- म आलोचना स्वीकार्छु
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले काम गर्न ‘बहुलाउनैपर्ने’ प्रतिक्रिया दिएका छन् । रिमालले सामाजिक सञ्जालमार्फत आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै यस्तो बताएका हुन् ।
०७२ सालको संविधान बहुलाएरै बनाएको उनको तर्क छ । ‘हो, अब हामी बहुलाउनै पर्छ ! ०७२ सालमा संविधान निर्माण गर्न हामी बहुलाएरै लागेका थियौँ । त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बहुलाएरै भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्यो,’ उनले भनेका छन्, ‘०७४ को चुनावपछि हामी बहुलाएरै काममा जोतिएका थियौँ । आधा शताब्दीसम्म हाम्रो सम्प्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी… हामीले बहुलाएरै नक्सामा सामेल गर्यौँ । सिङ्गो मुलुक एक ठाउँमा उभियो ।’
उनले आफू आलोचना स्वीकार्ने पनि बताए । ‘अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन बहुलाएर लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु- बहुला पाराले काम गर्ने… धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर१ म पनि काम गर्ने मामिला बहुलाउने मानिस हुँ,’ रिमाले भने, हो, मुलुकमा केही गर्न हामी अब बहुलाउनै पर्ने भो १ फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरूको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ती आलोचना स्वीकार्छु, धन्यवाद !
उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’को रूपमा चित्रण गरेका थिए । धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए ।