संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए ।
उनले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे । विधेयक टुंगोमा पुर्याउँदा दलहरुबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुनेगरी पारित गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरु पण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रश्तुत गरेको छ । केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ । म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्, अरु विषयमा हामी प्रतिपक्ष हौँला । धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ । यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ । उहाँहरुको परामर्शमा ल्याएर मात्रै न्याय दिनेगरी ल्याइयोस् ।’
उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्नेकुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।