साम्प्रदायिक विभेद फैल्याउने षडयन्त्र भईरहेको छ : केपी ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताए । उनले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदुपयोग गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत औँल्याए ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरूले अतिवादीमा जानै नहुने पनि पटक पटक दोहोर्याए । मुलुकमा पनि साम्प्रदायिक विभेद फैल्याउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उनले त्यसबाट जोगिएर अघि बढ्नुपर्ने पनि बताए ।
ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेस गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादीको पक्षमा लाग्न नहुने बताए । उनले भने ‘विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन् । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन् । धर्मका नाउमा ठूलाठूला लडाइँहरू भएका छन् । धर्मका नाउमा देश विनाश भएका छन् । धर्मका नाउमा मानिसहरू मारिएका छन् । त्यस कारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन । र, हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सद्भावसहितको, पारस्परिक सद्भावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिले कहिले राजनीतिक स्वार्थहरूका लागि अरू स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ । गरिएको छ । र, जनता मराएर, देश सिद्ध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने कामहरू भएका छन् । र, हामीले के बुझ्नु पर्छ भने अरूले भड्काई दिएको भरमा, अरूले उचालिदिएको भरमा, अरूले हामीलाई भावनामा बगाइदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन । हामी सामाजिक सद्भाव कायम गरौँ, राष्ट्रिय एकता सुदृढ गरौँ । त्यो भावनाका साथ अगाडि बढ्नु पर्दछ । मैले देखेको छु–समयमयमा साम्प्रदायिक विद्वेषहरू नेपालमा पनि भड्काउन खोजिएको छ । भडकाईएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यस्ता कुराहरू भएका छन् । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरू भएका छन् । त्यस्ता षड्यन्त्रहरूबाट पनि हामी जोगिनु पर्दछ ।’
अध्यक्ष ओलीले नेपालीहरूबिच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराए ।