ढोरपाटनका मेयरलाई विदेश जान गृहको रोक
पोखरा । सहकारी घोटालामा मुछिएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई विदेश यात्रामा रोक्न गृह मन्त्रालयले रोक लगाएको छ । नेपाली इमेज सहकारीका अध्यक्ष हुन् । उनको सहकारीले हजारौँ बचतकर्ताको बचत रकम हिनामिना गरेर रकम फिर्ता नदिएको आरोप छ ।
गृहले नेपाली सहित ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो । अध्यागमन विभागलाई पत्र लेखेर गृहले उनीहरूलाई यात्रा अनुमति नदिन र दिएको भएपनि रोक्न भनेको हो । नेपालीले केही दिनअघि प्रहरीमा आफूलाई असुरक्षा बढेको भन्दै निवेदन दिएका थिए ।
त्यसपछि सम्पर्कविहीन छन् । उनी भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति नदिन जिल्ला प्रशासन कार्यालय बागलुङले गृहसँग आग्रह पत्र पठाएको थियो । सहकारीले एक महिना अघि रकम नभएको भन्दै कारोबार बन्द गरेको थियो ।
अहिले बचतकर्ताहरू दैनिक सहकारीमा धर्ना बस्छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने प्रारम्भिक अनुमान छ ।
यो पनि : सहकारीको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटनका मेयर सम्पर्कविहीन