बैंकमा राखेको हाम्रो पैसा कति सुरक्षित छ ?
मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन निजी प्लेटको सवारीसाधन वा घरलाई पनि पञ्जीकरण गराउने व्यवस्था मिलाउने कि !
आफूले जीवनभर दुःख गरेर कमाएको वा घरजग्गा, गाडी, सेयरलगायत चल अचल सम्पत्ति बेचेर आएको रकम सर्वसाधारण जनताले बैंक तथा वित्तीय संस्थामा सुरक्षित हुने आसका साथ जम्मा गरे । तर, बचतकर्ताले सहकारीमा राखेको रकम सहकारी डुबेर भनेर भाग्ने त बैंकमा राखेको रकम बैंककै कर्मचारी खाताबाट चोर्नेसम्म हुँदैछ ।
अहिले एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकका कर्मचारीले बचतकर्ताको रकम चोरेको कुरा प्रमाणित भएपछि अन्य बैंकमा पनि बचतकर्ताको रकम चोरी गर्ने गरेको सर्वसाधारणमा आशंका उत्पन्न भएको छ । हुन त बचतकर्ताहरू पहिला पनि बैंकबाट आफ्नो रकम हराएको भन्थे । तर, यसतर्फ कसैको पनि ध्यान गएको थिएन । अहिले एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकबाट बचतकर्ताको रकम हराएको वा चोरी भएको प्रमाणित भएपछि बचतकर्ताहरूले झन् बैंकप्रति विश्वास गर्न छोडेका छन् ।
अब सरकारी नै होस् या प्राइभेट बैंक । सर्वसाधारण आफूसँग भएको रकम जम्मा सोच्नुपर्ने भएको छ । कतिपयले त बैंक तथा वित्तीय संस्थामा पैसा निकाल्न थालेका छन् । तर राख्ने कोही छैन । बैंकहरुमै आफ्नो रकम सुरक्षित नहुने भएपछि बैंकबाट आफ्नो रकम नपाएका बचतकर्तालाई रातमा निन्द्रा कि दिनमा भोक भएको छ । अहिले बचतकर्ताहरू आफ्नो रकम निकाल्नका लागि बैंकमा जाँदा फिर्ता दिनसक्ने अवस्था नरहेको बताइन्छ भने सहकारीमा त २० हजारको चेक लिएर गएमा सय रुपैयाँ फिर्ता दिन सक्दैनन् ।
त्यसैले, उनीहरूले बैंक तथा वित्तीय संस्थामाथि विश्वास गर्न छोडिसकेका छन् । यसरी बैंक तथा वित्तीय संस्थाका घुसिया अध्यक्ष, सञ्चालक र कर्मचारीका कारण आज जनताको पैसा त डुब्यो नै बैंक तथा वित्तीय संस्थाको बदनाम समेत भयो । तर नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बैंकमा राखेको निक्षेप शतप्रतिशत सुरक्षित हुने दाबी गर्छन् । उनले पछिल्लो समय प्रविधिको दुरुपयोग या ह्याक गरेर रकम चोरी हुने घटना सतहमा स्वीकारेपनि त्यसरी नोक्सान भएको खण्डमा बैंक नै जिम्मेवार हुने बताए । ‘साइबर हमला वा ह्याकिङजस्तो घटनाबाट हुने नोक्सान बैंकले बेहोरेर निक्षेपकर्ताको रकम सुरक्षित राख्छ । त्यसैले जुनसुकै बैंकको हकमा पनि निक्षेपकर्ता डराउनुपर्ने अवस्था छैन,’ उनी भन्छन् ।
पछिल्लो समय सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी बचतकर्ताले कुटपिट गर्ने डरले लुकिलुकी हिँडिरहेका छन् । ३५ हजार बढी सहकारीमा ९८ लाख जनताको २० खर्ब रकम डुब्यो । अब बैंकमा झन् करोडौँ जनताले बचत गरेको खर्बौँ रकम डुब्नेछ । अधिकांश सहकारी पछिल्लो समय भागिसकेका छन् वा डुबिसकेका छन् । तर, अब पालो बैंकको हो ।
बजारमा अहिले सुनिन्छ कि नाम चलेका दश ओटा बैंक टाट पल्टिसकेका छन् । यसरी अब नेपालमा पनि बैंकहरु टाट पल्टिने अवस्था आइसकेको छ । बैंक तथा वित्तीय संस्था एकाएक भाग्दा वा डुब्दा पनि सरकार एउटा कमिटी गठन गरी यिनीहरू टाट पल्टिनुको कारण खोज्दैन । अहिले बजारमा सर्वसाधारण जनताको कुराकानी सुन्दा बैंक तथा वित्तीय संस्था टाट पल्टिनुको कारण घरजग्गा, गाडी र सेयर हो । जग्गा दलालीहरूले खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाको ५ हजारमा बिक्री नहुने जग्गा आनाकै ८० लाखमा बेचे ।
उता भारतमा एक लाखमा पाइने सवारीसाधन गाडी बेच्ने कम्पनीले नेपालमा ४० लाखसम्ममा बेचे त बैंकले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालीहरूले ३२ सय सम्ममा बेचे । सर्वसाधारण जनतालाई दलालीहरूले यसरी फसाए कि कुनै सीमै रहेन । पछिल्लो समय घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएको छ । त्यसैले, यी क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्था टाट पल्टिनुपर्ने अवस्थामा पुगेका हुन् । अहिले बैंक तथा वित्तीय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकालाई कित्ता तिरौँ त पैसा छैन, धितो बेचौँ त बिक्री हुन्न ।
हिजो बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले एक कित्ता सेयरको ३२ सय रुपैयाँ पुगेको बेलामा त्यहीँ सेयर धितो राखेर २७ सय कर्जा प्रवाह गरे । तर, २७ सयको साँवाब्याज नतिर्दा आज ऋण भने ३५ सय पुग्यो तर सेयरको मूल्य सय रुपैयाँमा झर्यो । त्यस्तै, ८० लाख आनाको जग्गा किन्दा त्यहीँ जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले ६० लाख कर्जा प्रवाह गरे । ६० लाखको साँवाब्याज आज ९० लाख पुगेको छ तर जग्गा बेच्दा त्यसको आधा मूल्य नआउने भएको छ ।
४० लाखको गाडी धितो राखेर बैंकले ३० लाख ऋण दियो । ३० लाखको ऋण बढेर ४० लाख पुग्यो तर, ४० लाखको गाडी ३ लाखमा बिक्री नहुने अवस्था आयो । अहिले बजारमा जताततै सुनिन्छ कि तीन वर्ष अघि तीन करोडमा किनेको घडेरी अहिले लाखमा बिक्री हुँदैन । यसबाटै प्रष्ट हुन्छ कि बजारमा मन्दी कति आएको छ भनेर । अधिकांश मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तीय संस्थाको नाममा छ । साथै, बैंक र सहकारीको पनि ९८ प्रतिशत कर्जा लगानी यही क्षेत्रमा रहेको छ । त्यसैले, अहिले मुलुकको अर्थतन्त्र डामाडोल भइसकेको छ । बजारमा पाइलैपिच्छे घरजग्गा, गाडी र सेयर बेच्नेहरू भेटिन्छन्, तर किन्ने कोही छैन ।
सरकार अहिले पनि बचतकर्तालाई आफ्नो रकम बैंकमा सुरक्षित छ कि छैन ? भनेर सचेत गराउँदैन । पछिल्लो समय कतिपय बैंकले खर्च धान्न नसकेर आफ्नो शाखा बन्द गरेको, कर्मचारी कटौती गर्नुका साथै सेयर होल्डरलाई पनि नाफा दिन नसकेको सुनिन्छ । सहकारीमा एउटै बचतकर्ताको २० हजारदेखि १० करोडसम्म रकम डुब्यो । जसले गर्दा कुनै बचतकर्ता झुण्डिएर मर्न बाध्य भए त कुनैले मानसिक सन्तुलन गुमाए । अहिले बैंकमा बचत गर्ने बचतकर्ताहरूको पनि यस्तो हालत हुने देखिएको छ । अब आफ्नै पैसाले आफ्नै ज्यान जाने अवस्था सिर्जना भएको छ ।
अहिले टाठाबाठाले बैंकबाट आफ्नो रकम निकालेर घरघरमा लुकाइसकेका छन् । बुढोपाकाले भन्थे, ‘आफ्नो हातबाट पैसा गएपछि त्यो पैसा फिर्ता पाउन गाह्रो छ ।’ उनीहरू हातले पैसा दिँदा खुट्टालाई दुःख भन्थे । अहिले त्यस्तै भएको छ । सहकारीले घरघरमै बजार प्रतिनिधि पठाएर बचतकर्ताबाट पैसा उठाए । तर, पैसा फिर्ता दिने बेलामा बचतकर्ताहरू सय पटक कार्यालय धाउँदा पनि फिर्ता गरेनन् । बुढोपाकाहरू खुबै भन्थे, ‘चुक्ता खान खाएकी बुढी झोलमै डुबेर मरी ।’ मानिसहरूको ब्याजको लोभमा धमाधम नसोचीकन बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरे । तर, अहिले ब्याजको त कुरै छोडौँ, साँवा समेत फिर्ता पाएनन् ।
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह अहिले ठप्प छ । जसले गर्दा घरजग्गा, गाडी र सेयरको कारोबारमा पनि शून्य आएको हो । बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । मुलुकभर ५० प्रतिशतभन्दा बढी कोठा, फल्याट र सटर खाली भएका छन् । एक वर्षअघि दिनमा ५ लाखको व्यापार हुने ठाउँमा अहिले हजारको रुपैयाँको पनि व्यापार हुन हम्मेहम्मे पर्छ । त्यस्तै, बेरोजगारीका कारण मानिसहरूले पाँच हजारदेखि १५ हजार पारिश्रमिकको सर्तमा काम त गरे । तर, त्यहीँ तलब पनि उनीहरूले दुई वर्षदेखि पाएका छैनन् ।
महँगी हप्तैपिच्छे बढेको छ भने बेरोजगारी व्यापक छ भने राज्यको ढुकुटीमा राजस्व पनि ठप्पझैँ भइसकेको छ । जसले गर्दा सरकारले सरकारी कर्मचारीलाई तलबभत्ता र पेन्सन दिन सकिरहेको छैन । नेपाल सरकारले विदेशीसँग लिएको ऋण पनि बढेको बढ्यै छ । तर, यो ऋणको साँवाब्याज सरकारले तिर्न नसक्नेबित्तिकै मुलुकमा विदेशीको हस्तक्षेप रहन्छ । सरकार जनप्रतिनिधि (वडाध्यक्ष, मेयर, सांसद, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख) को तलबभत्ता तथा सेवासुविधा कटौती गर्ने भनेर निर्णय गर्दैन भने नेपाललाई विदेशीले अनुदान र ऋण प्रवाह गर्न छोडिसकेको छ ।
अहिले नेपाल ऋणग्रस्त भएको कुरा विश्वले थाहा पाएको छ । त्यसैले अब सरकारले सरकारी खर्च कसरी धान्छ र विदेशी ऋण कसरी तिर्छ ? कि त अब विदेशी ऋण मिनाहा गर्नुपर्यो होइन भने सबैभन्दा बढी ऋण लिएको देशलाई नेपालका राजनीतिक दलका नेताहरूले मुलुक जिम्मा लगाउनुपर्यो ।
नेपालको अर्थतन्त्र श्रीलंकाभन्दा नाजुक अवस्थामा पुगिसकेको छ । तर, राजनीतिक दल र सरकारले अहिले पनि जनता र विश्वलाई ढाँटिरहेका छन् । अब मुलुकमा राजस्व उठ्न दुई मात्र उपयुक्त उपाय छ । अहिले मुलुकभर भाडा र निजी प्लेटको सवारी साधन गरी ४५ लाख बढी छन् । त्यसैले, यी गाडीलाई घरेलु तथा कम्पनीमा दर्ता गर्न लगाई अनिवार्य रूपमा पञ्जीकरण गर्न लगाउनुपर्छ । साथै, पञ्जीकरण नगरेका सवारीसाधनको नामसारी रोक्नुपर्छ । एउटा गाडीमा ५ लाखदेखि २५ करोडसम्म लगानी छ । एउटै गाडीले महिनामा १० लाखदेखि २५ लाखसम्म कमाउँछ । तर, त्यसको पनि सुको कर सरकारले पाउँदैनन् ।
पाँच लाखभन्दा बढी लगानी गरेर घर बनाउनेहरूलाई पनि घरेलु तथा कम्पनीमा दर्ता गराई अनिवार्य रूपमा पञ्जीकरण गर्न लगाउनुपर्छ । साथै, घरेलु तथा कम्पनीमा नगएका घरहरूलाई घर सम्पन्नताको प्रमाण नदिनुका साथै नामसारी पनि रोक्नुपर्छ । योसँगै घरको ६/६ महिनामा जाँचपास गर्ने व्यवस्था मिलाउनुपर्छ । एउटा घरमा एक घरधनीको एक करोडदेखि अर्बसम्म लगानी छ त घर भाडामा लगाएर महिनाकै लाख रुपैयाँदेखि ५ करोडसम्म उठाउँछन् । तर, लगानी र आम्दानीको राजस्व सरकारलाई तिर्दैनन् । त्यसैले, अब सरकारले आगामी बजेट भाषणमा यो नीतिलाई पनि समावेश गर्नुपर्छ । किन कि अधिकांशको लगानी यही क्षेत्रमा रहेको छ ।