मधेस सरकारबाट बाहिरियो माओवादी, मन्त्री फिर्ता बोलाइँदै
जनकपुरधाम । भागबन्डामा असन्तुष्टि जनाउँदै मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रले बाहिरिने निर्णय गरेको छ ।
कुन दललाई कुन मन्त्रालय र कतिवटा मन्त्रालय दिने छलफल निष्कर्षमा नपुग्दै मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी रूपमा काँग्रेस र नेकपा एसका मन्त्रीहरूलाई शपथ गराउने तयारी गरेपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले जनाएको छ ।
सरकारबाट बाहिरिने निर्णय गरेसँगै आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता आउन निर्देशन दिएका छन् ।
सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्री रहवर अन्सारी सहभागि छन् ।
मन्त्रालय बाँडफाँडमा असन्तुष्ट जनमत, लोसपा र माओवादी केन्द्रले अगामी रणनीति तय गर्न बैठक बसिरहेको छ ।
स्रोतका अनुसार राम्रो मन्त्रालय पाउनका लागि माओवादी केन्द्रले मुख्यमन्त्रीमाथि दबाबमा बढाउन सरकारबाट बाहिरिने निर्णय गरेको छ । अहिलेको मन्त्रीहरूलाई फिर्ता बोलाई राम्रो मन्त्रालय पाएको खण्डमा दलको नेता साह आफै मन्त्री बन्ने योजनामा रहेको माओवादी निकट श्रोतले बताए ।