नीति कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा आएन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले सरकारको नीति तथा कार्यक्रममा अर्थतन्त्रको समस्या समाधान गर्ने कुरा ठोस रुपमा नआएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको ठोस योजना नआएको बताएका हुन् ।
उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको उल्लेख गर्दै अर्थतन्त्रलाई माथि उठाउने नीति आउन नसकेको बताए । उनले संघीयताको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै संघीयता पक्षधरकै कारण यसप्रति प्रश्न उठेको बताए सांसद गुरुङले दलाल नोकरशाही पुँजीपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजिवादको विकास गर्नुपर्ने बताए ।
उनले भने ‘सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हामीले धेरै कुरा उठाएका छौँ । तर त्यो हुन्छ कसरी ? त्यसको पनि यो नीति तथा कार्यक्रममा ठोस नीति आएन । मुलुकको अर्थतन्त्र संकटमा छ, मन्दीमा छ । संकटमा भएको अर्थतन्त्रलाई कसरी माथि उठाउने ? यसबाट कसरी हामी पार गरेर समृद्धिको दिशातिर अगाडी जाने भन्ने कुरामा हाम्रो नीतिगत छलाङ कहाँ हुनुपर्ने हो ? त्यो ठोस रुपमा आएन । अर्थतन्त्रको समस्या समाधान कसरी गर्ने भन्नेपनि आएन । सबैभन्दा जल्दोबल्दो समस्या संघीयताको कार्यान्वयन संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । संघीयतामाथि अझ प्रश्नहरु उठिराखेको छ । यो प्रश्न उठ्ने काम संघीयता पक्षधरहरुकै कामले, हाम्रै अयोग्यताका कारणले उठिरहेको छ भन्नेकुरा म यहाँ राख्न चाहन्छु । उत्पादन सम्बन्धमाथि भइरहेको दलाल नोकरशाही पुँजिपतिहरुको हालिमुहालीलाई समाप्त पारेर राष्ट्रिय पुँजीवादको विकास गरेर स्वाधिन राष्ट्रिय अर्थतन्त्रको निर्माण गरेर मात्रै हामी समाजवादका आधारहरु तयार गर्न सक्छौँ । समाजवादमा पुग्नसक्छौँ । यो नीति, कार्यक्रममा नभएकोले कुरा उठाइरहेको छु ।’
उनले नीति, कार्यक्रममा दलाल पुँजीवादलाई बलियो बनाउने कि राष्ट्रिय पुँजीवादलाई बलियो बनाउने भन्ने स्पष्ट नभएको बताए ।