बालकृष्ण खाणलाई सचिव पाण्डेको पत्र – ओली बा र देउवालाई भनेर मिलाउनुपर्छ

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने गिरोहसँग मिलेर ठगेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई हिरासतबाटै पत्र लेखेको खुलेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बुधबार दायर गरेको अभियोगपत्र अनुसार पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री  खाणलाई दुईपटक पत्र लेखेका हुन् ।

पूर्व गृहमन्त्री  खाणलाई खाणका स्वकीय सचिव नरेन्द्र केसी मार्फत पठाइएको पत्रमा भनिएको छ,‘केशव दुलालको बयान सच्याउनु पर्ने भयो । नभए, मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । एक हप्ताको म्याद थप भएको अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनै पर्छ । नरेन्द्रजी, ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरुलाई मात्र मुद्दा दायर गर्ने व्यवस्था मिलाउनुपर्छ । अब आरोपित व्यक्तिलाई पक्राउ गर्ने हो भने मुद्दाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ भनेर भन्नुपर्छ ।’

बालकृष्ण खाँणबाट बरामद भएको “नरेन्द्र जि, ओली वा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्धा दायर गर्ने र अब थप आरोपित ब्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्धाले सहज रुप लिन्छ नभए जटिल मोडमा राजनिति पुग्ने अवस्था छ” भनी लेखिएको कागज फेला परेको छ।

यस्तै अर्को पत्रमा “दुलालको पुनस्बयान गराएर पुरानो भनेको कुरा सच्याउन पर्यो । नभए मन्त्रीज्यू समेतको मुद्धा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको बिषयमा कुनै कुराकानी नै भएको छैन । १ हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याई बयान हुनुपर्छ । पार्टी भित्र र विशेषत आफ्नै गुटका नेताहरु मन्त्री किन अहिले सम्म नल्याएको भनेर फलोअप गरी रहेका छन” लेखिएको कागज फेला परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *