रविको अल्लारेपन अन्ध समर्थकले दिएको उपहार : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आलोचना सुन्नसक्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनले बिधिवत गरिने निर्णय धैर्यताका साथ सहज रूपमा आत्मसाथ गर्न सक्नुपर्ने पनि बताए । ‘आलोचना सुन्न नसक्ने मित्र रवि लामिछाने जी नव अधिनायकवादको पथमा हिँडिरहेका छन् । संसदीय प्रणालीमा आलोचना, बहस र तर्क स्वीकार गर्न सक्नुपर्दछ,’ नेता बस्नेतले अगाडि भनेका छन्, ‘बिधिवत गरिने निर्णय धैर्यताका साथ सहज रूपमा आत्मसाथ गर्न सक्नुपर्दछ ।’
बहकिनु भन्दा मर्यादित संसदीय अभ्यास गर्न बस्नेतले लामिछानेलाई सुझाव दिए । ‘अल्लारेपन र अधैर्यपन सोसियल मिडियाका तपाईँका अन्ध समर्थकले दिएको उपहार हो । त्यसमा बहकिनुभन्दा मर्यादित संसदीय अभ्यास गर्दा राम्रो होला,’ उनले अगाडि भनेका छन् ।
बुधबारको संसद् बैठकमा कांग्रेस सांसद अजयकुमार चौरसियाले रवि लामिछानेले नागरिकताको निस्सा नबुझाएको विषय उठाएका थिए । चौरसियाले यति भनेपछि रास्वपाका सभापति रवि लामिछाने आपत्ति जनाए । ‘अदालतमा भएको विषयलाई रोष्ट्रममा बसेर उठाएर माननीयज्यूले के कुरा उठाउन खोज्नुभएको हो । यो अदालतको अपमान हो कि ? उहाँले सुनेको भरमा गर्न खोज्नुभएको हो कि ? मैले मेरो निस्सा तपाईँलाई बुझाउनुपर्ने हो ? तपाईँको जानकारीको लागि अदालतले नमागे पनि मैले अस्तिको दिनमा गएर दर्ता गराएको छु,’ उनले भनेका थिए ।