राष्ट्रपति पौडेल द्वारा वर्षा र सहकालका देवता ‘रातो मच्छिन्द्रनाथ’ भोटो जात्राको अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटो जात्रामा सरिक भई भोटो जात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे । उनले जीवित देवी कुमारीको दर्शन पनि गरे ।
गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए । भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो ।