रास्वपाको प्रगतिमा डाहा गर्नेहरूले पैसा लिएकाे आरोप लगाए : डीपी अर्याल (अन्तर्वार्ता)
'रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणकाे जस्तै अन्य भ्रष्टाचार फाइल खोल्छ भनेर नेताहरू तर्सिएका छन्'
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको १० महिना पुगेको छ । बिहीबार मकालुखबरको टोली राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय वसुन्धरा पुग्दा पार्टी कार्यालयमा नेताहरूको निकै चहलपहल थियो । कार्यकर्ताको बाक्लो उपस्थिति रहेको त्यहाँ पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी कार्यकर्तालाई पार्टीको आगामी कदमबारे जानकारी गराइरहेका थिए । यता पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी) आफ्ना पार्टीका नेताहरूसँग अनौपचारिक मिटिङमा थिए । देशव्यापी पार्टी निर्माणको चरण तथा प्रचार प्रसारले गर्दा उनी र उनको फोन पनि निकै व्यस्त देखिन्थ्यो । मिडियामा कुराकानी गर्न कमै रुचाउने अर्याल पार्टी निर्माण हुनुभन्दा पहिले व्यवसायीका रूपमा काम गरेको सुनाउँदै मिडियामा बोल्नभन्दा आफू काम गर्ने रुचाउने बताए । उनले भने, ‘मैले बोल्नुभन्दा पार्टी प्रवक्ता तथा सभापतिले बोल्नु राम्रो लाग्छ । पछिल्लो समय त मिडियामा बोलेको भन्दा अलग कुरा जाने भएकाले त्यो कुराबाट पनि डर लाग्छ ।’
यसैबीच हामीले अर्यालसँग सभापति रवि लामिछानेको पासपोर्ट प्रकरणमा सर्वोच्च अदालतमा परेको मुद्दा, अर्याललाई रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले लगाएको भनिएकाे आरोप तथा रास्वपाको भावी कार्यदिशाबारे कुराकानी गरेका छाैँ । प्रस्तुत छ साेही कुराकानीकाे सम्पादित अंश :
यहाँकै पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले यहाँ र यहाँको महामन्त्री मुकुल ढकाललाई आफू समानुपातिक सांसद बन्न रकम बुझाएको भनेर मिडियाले समाचार बनाएका छन् । के याे साँचो हो ?
मान्छेको चेतनास्तर विकास नगरेसम्म समाज परिवर्तन हुँदैन । यो कारण शिक्षा चाहिएको हो । हाम्रो समाज कस्तो हो भन्ने कुरा शिक्षाले बुझाउने गर्दछ । आज हामी मान्छेले राम्रो गर्दा उसलाई सहयोग गर्नुको साटो खुट्टा तान्नेतर्फ उन्मुख भइरहेका छाैँ । यो कुरा सामान्य रूपमा पनि बुझिएको छ । जनताले बुझेका छन् । राम्रो गाडी, राम्रो घर र स्ट्याटस भयो भने समाजले कहाँबाट कमायो भनेर हेर्न थाल्छ । तर त्यो कसरी र कहाँबाट गरेको हो सिक्न र छलफल गर्ने चाहँदैन । आजको समाज तपाईँ हामीले लागाएकाे, खाएको र तपाईँको प्रगति लुछ्ने समाज छ । त्यस्तै, आज रास्वपा जन्मँदै गर्दा देशमा भएका सबै राजनीतिक दल र ठुला दललाई औडाहा भएको छ । जसको कारण ठुला दल र षड्यन्त्रकारी मान्छेको निन्द्रा हराएको छ । हामीले ६ महिनाको बिचमा २० जना सांसद लिएर सानो दलले संसद प्रवेश गरेको इतिहास संसारमा कहीँ पनि छैन । यो सफलता र उचाइ देखेर हामीलाई खुट्टा तान्ने र गलत भनेर आफू राम्रो बन्ने कोसिस गरिरहेका छन् । जो मान्छेले हाम्रो प्रगतिमा डाहा गरिरहनु भएको छ, उहाँहरूले सिद्ध्याउन खोजेका छन् । ती मानिसले हामीलाई पैसा खायो र भ्रष्ट्राचार गर्यो नभनीकन उनीहरू आफू राम्रो हुन कसरी सक्छन् र ? विश्वास हराएपछि मान्छेले कि सिद्ध्याउने कि मिल्न आउने हो । मिल्ने नेचर र चेतना नभएपछि सिध्याउन लाग्ने हो । नेगेटिभ चेतना भएका मानिसले गरेको प्रयास मात्र हो । यो मिडियामा आएका कुरा हुन् । नेपालको अध्ययनशील मिडियाले हाम्रो गल्ती कहीँ पनि भेट्दैन । तर हामीभित्र पनि सबै मान्छे राम्रा मात्र छन् भनेको चाहिँ होइन । एउटा फूलबारीमा केही गन्ध आउने फूलहरू पनि हुन्छन् । काँडाका फूलहरू पनि हुन्छन् । त्यो गन्ध आउने फूल र बास्ना आउने फूल छान्न केही समय लाग्छ । अब त्यो सुन्दर फूल छान्ने मालीहरू तयार गर्दैछौँ । रास्वपाभित्र गन्ध आउने फूल नपर्लान् भन्न सकिन्न, समय आउँदै छ । त्यो गन्ध भएको फूल हटाउने हाम्रो नेतृत्वमा तागत छ ।
यहाँले समय आउँछ भन्नु भयो । यहाँलाई नै समानुपातिक सांसद बन्न पैसा बुझाएको भनेर आरोप लागेको छ नि ? याे कुराले त यहाँलाई पनि त असर गर्छ नि हैन ?
म माथि लागेको कुनै पनि आरोपको खण्डन गर्ने सक्ने अवस्थामा छु । मसँग हाँसेर खण्डन गर्ने सक्ने क्षमता छ र म त्यो क्षमता राखिरहन्छु । गलत छैन समाजलाई विश्वस्त बनाउन म तयार छु । आज मात्र हैन हिजो र भोलि पनि समाजलाई हानी गर्ने परिवारलाई हानी गर्ने काममा म लाग्ने छैन र लागेको पनि छैन । यो कुरा मैले भनेको होइन भनेर ढाका जीले पनि साथीहरूसँग भनिसक्नु भएको छ । हामी देशलाई बिगार्ने र दाग लगाउने तत्त्वलाई हामी हटाउने खोजिरहेका छौँ । म गलत छैन । हामीले रकम लिएको छैन । न कसैसँग डिल गरेका छैन । बरु हामीले सहयोग गर्न मन भएका साथीलाई सार्वजनिक रूपमै भनेका छौँ । तर कसैलाई मन्त्री बनाउन सांसद बनाउन पैसा लिएको भन्ने कुरा गलत हो । यो पुष्टी गरेर देखाउन सक्नु पर्छ ।
तपाईँको सभापतिले पासपोर्टको निस्सा त्याग नगरेको भनेर सर्वोच्च अदालतमा फेरि मुद्दा दर्ता भएको छ । तपाईँहरूले कानुन मिच्दै हुनुहुन्छ ?
पार्टी सभापतिमाथि लागेकाे मुद्दाबारे चिन्ता लिनुपर्ने छैन । गल्ती गरेको छैन । अमेरिकाको पासपोर्ट र नागरिकता लिएको पनि हो । यसका सबै डकुमेन्ट छुटेको भए नेपालको कानुनले भनेअनुसार दिने कुरा भइरहेको छ । फेरि चुनाव हुने हो कि भन्ने भाष्य छ त्यो कदापि हुँदैन । हाम्रो सभापतिले निस्सा त्यागे, त्यागेनन् । पासपोर्ट लिए, लिएनन् । भिसा लिए, लिएनन् भन्ने कुरा सम्बन्धित निकायलाई बुझाउने काम गरेका छन् । तर मुद्दा मामिला गरेर हामी र देशलाई दु:ख दिने काम भएको छ । सभापतिको कारणले देशको भूगोल संस्कृति र राजनीतिलाई कुनै असर गरेको छैन र गर्ने पनि छैन तर उहाँमाथि जो खनियो जो आफू गलत भए पछि अरूलाई सिद्ध्याउन गरिएको खेल मात्र हो । पासपोर्ट त्यागेको निस्सा नबुझाएको भनेको छ । अमेरिकाको पासपोर्ट त्यागेको निस्सा जिल्ला प्रशासन कार्यमयलाई बुझाइँदैन । यो त अध्यागमन विभागमा बुझाइन्छ । यो २०१८ सालमा नै अध्यागमन विभागमा बुझाइएको छ । त्यो कुरा पटक पटक बहसमा आएको छ । सर्वोच्च अदालत आफैँले निर्णय गरेको कुरामा यो उल्लेख छ । तीन दिनअगाडि पनि उहाँले आफूसँग भएको कपि समेत सर्वोच्च अदालतमा बुझाउनु भएको छ । जिल्ला प्रशासनले जे जे मागेको थियो त्यो कुरा दिइसकेको छ । हामीलाई सक्ने खेलमा मान्छे लागेकोभन्दा पनि कुनै पार्टी तथा समूह लागेको होलान् हामी जनताको काम गर्ने हो । हामीलाई कसैले गलत वा सही भनेर केही हुने छैन । हामीसँग भएको चिज दिने हो । हामीलाई मुद्दा मामिलामा तनाव भएन । यो कुरा मिल्यो अब रविको काण्ड सकियो भनेर नबुझ्नु होला रास्वपालाई यस्तो आइरहन्छ । यस्तो खेप्न हामी तयार छौँ । हामी को हो भन्ने कुरा जनता र हामीलाई थाहा छ । त्यो कारण कसैसँग प्रतिवाद गरेर बस्ने समय छैन । यो केश यहाँभन्दा अगाडि जाँदैन । केही पनि हुँदैन । अब छिट्टै हामी विन्दवासिनी कंसकारलाई पनि संसद बनाउँदै छौँ । २१ सांसदका साथ संसदमा उपस्थित हुने छौँ ।
रास्वपाका बारेमा किन बेला-बेला गलत कुराहरू बाहिर आइरहन्छन् नि ?
७० वर्षदेखि भ्रष्टाचार गरेर लुटेर आफ्नो परिवार आफन्त पालेर आएको राजनीतिक दलले जनताको काम गर्न आएका दललाई काम गर्न दिन्छन् र ? भ्रष्ट र कुकाममा लागेका मान्छेले अरूको प्रगति देख्न सक्दैन । समाज यसरी हुर्किएको छ । पार्टीहरू जुन नीति र सिद्धान्तमा जन्मिएका थिए अहिले भएका नेताहरू त्यो नीति र सिद्धान्तभन्दा फरक छन् । रास्वपाले विभिन्न केसहरू खोलिरहेको छ । भुटानी शरणार्थीको केस पनि रास्वपाले नै खोलेको हो कुनै दिन यसको व्याख्या गरौँला । यो एउटा फाइल हो । यस्ता दर्जन फाइलहरू छन् । यस कारण दलहरू भित्रभित्रै गुम्सिएर डराएर बसेको अवस्था छ । सदनमा पनि सबैको अनुहार हामीतिर मात्र हुन्छ । यिनीहरूले के गर्छन् के बोल्छन् के उठाउँछन् भनेर तर्सिएका छन् । सदनलाई इभेन्टको रूपमा हेर्नुपर्छ भन्ने हाम्रो माग छ । यस्ता यस्ता कुराहरू गरेपछि हामीलाई आरोप नलागे कसलाई लाग्छ त ? तर, जनताको आजको आवश्यकता भनेको रास्वपासँग केही छ । जे जस्ता आरोप लगाए पनि रास्वपालाई राजनीतिक दल मिडिया, समूह, कसैले पनि सिध्याउन सक्ने छैन । सबैले इमानदारीताका साथ जनताहरूले यो देशमा के खोजेको छ । त्यसबारे सोच्न जरुरी छ । जनताको अपेक्षा रास्वपासँग छ । यो कुरा मिडियाले पनि बताइदिनु पर्छ । पहाडी, हिमाली क्षेत्रमा आज पनि पुरानै समस्या छ । मान्छेको खुट्टामा चप्पल छैन । अस्पतालमा बेड छैन । खानेपानी छैन । स्कुलमा बच्चा भर्ना गर्ने पनि पाएका छैनन् । राज्यबाट पाउनु अधिकार खोसिएको छ । सरकार भएर पनि बेवास्ता छ । यस्ता कुरा हामीले उठाउँदा अरूलाई टाउको दुखेर हामीलाई मिथ्या आरोप लाग्छ भने हामी सामना गर्ने तयार छौँ ।
भुटानी शरणार्थीको विषयमा संसदमा विशेष समिति बनाएर छानबिन गर्नुपर्छ भनेर यहाँहरूले आवाज उठाइरहनु भएको छ यसको सुनुवाइ होला त ?
हामी प्रतिपक्षमा छौँ । त्यो कारण हामीले गर्ने यही नै हो । हामी कोसिस गर्दै छौँ । छानबिन समिति बनाउँदा आफू पनि फसिन्छ भनेर कतिपयले नबनाऊँ पनि भन्लान् । नफस्नेले नबनाऊँ भन्लान् । समय लाग्छ हामी कोसिस गरिराखेका छौँ । पार्टीहरूमा आएका नामहरू हेर्दा कोही पनि चोखो छैन जस्तो देखिएको छ । यो विषयमा हामीले पहिलादेखि नै आवाज उठाएका थियौँ । कि सबै पुराना फाइल खोलौँ भनेर । टेकनाथ रिजालले भ्रष्टाचार गरेको होला भनेर कसैले सोचेको थियो र तर आज समातियो । यो कारण यसभित्र व्यापक चलखेल छ भन्ने स्पष्ट छ । भ्रष्टाचार कहाँ र कोबाट भएको छ भन्ने सबै थाहा छ । हामीले थाहा पाएका छौँ । बिस्तारै खोलिँदै जान्छ । हामी एउटा प्रयासमा छौँ । यस्ता फाइल धेरै खोल्नुपर्ने छ । युटिएल, स्मार्ट सेलका फाइल पनि खोल्नु पर्ने छ । ती फाइल खोल्दा पूर्व प्रधानमन्त्री जस्ता पदमा रहेका मानिसहरू कतुर्त पनि पर्न सक्ने सम्भावना छ कि को र कस्ता मान्छे फस्छन् त्यो पछि थाहा हुन्छ ।