विचार

राजनीतिको ‘रुमानी’ परिकल्पनामा टोलाउने युवा !

नेपाली शब्दकोशले ‘नेता भन्नाले कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, कुनै समाजमा नेतृत्व दिने, अगुवा, नाइकेलाई जनाउँदछ,’ भनेको छ ।

शाब्दिक अर्थ हेर्दा नेता व्यक्ति विशेष हुन्छ । नेता विभिन्न प्रक्रियाबाट जन्मन्छ वा जन्माइन्छ । काम गर्दै जाँदा उसको कार्य, विचार वा व्यवहारबाट प्रभावित भई नेता मान्ने तथा नेता बन्ने परम्परागत अवधारणा देखिन्छ । धार्मिक तथा सामाजिक प्रकृतिका संस्थाहरूमा यस प्रकारको अभ्यास बाक्लै देखिन्छ । योग्यताको परीक्षणद्वारा नेतृत्व तहमा पुग्ने वा नेता बन्ने अर्को अभ्यास खास गरी प्रशासनिक क्षेत्रमा बढी देखिन्छ भने नेताको रूपमा निर्वाचित हुने परिपाटी पनि छ । यस प्रकारको अभ्यास खास गरी राजनीतिक दल तथा राजनीतिक प्रकृतिका संघ–संगठनहरूमा बढी अभ्यास भएको देखिन्छ ।

व्यवस्था परिवर्तनका लागि यो देशमा पटक पटक आन्दोलन भएका छन् । विभिन्न दर्शन वा सिद्धान्तले आशाको किरण देखाएका पनि छन् । विभिन्न राजनीतिक दलहरू परीक्षण भएका छन् । कुनै समय कांग्रेसप्रति अपार आस्था थियो । बिस्तारै त्यो आस्था कम्युनिस्टप्रति ढल्किँदै गयाे । तर, अहिले जनलहर स्वतन्त्र व्यक्ति वा वैकल्पिक शक्ति भनेर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका पार्टीप्रति जनताको लहर देखिन्छ । कम्युनिस्ट होस् वा कांग्रेस कुनै राजनीतिक दलको रुपमा उनीहरूको व्यवहार, उद्देश्य र जनताप्रतिको उत्तरदायित्वमा उस्तै सावित भएका छन् । अहिले हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । दुर्भाग्य, लोकतन्त्र चुनावदेखि चुनावसम्म मात्र भन्ने भएको छ ।

राजनीतिको रुमानी परिकल्पनामा हराउनुभन्दा बढी उत्तर खोज्नु जरुरी छ । राजनीतिक घटनाक्रम नियालेर आशा र निराशाको चक्र अल्झिएको धेरै भइसक्यो । राजनीति त्यस्तो कुनै आदर्श काम पनि हैन, जसले सबैलाई खुसी बनाओस् । नेपालका राजनीतिमा साँचो राख्नेको जमात ठुलै छ तर त्यो जमातले राजनीतिको रुमानी परिकल्पनामा हराएको देखिन्छ ।

राजनीतिक घटनाक्रमले कोही न कोहीलाई निराश बनाउँछ नै, राजनीतिक निर्णय वा घटनाक्रमले बहुसङ्ख्यकलाई खुसी बनाउनुपर्छ भन्ने हो । राजनीतिको आदर्श परिकल्पनामा पक्ष र विपक्षमा बहस गरेर परिवर्तन हुँदैन । यसले सामाजिक सञ्जालमा वा कुनै पनि जमघट तथा भेटघाटमा वादविवादको खुराक मात्र मिल्छ ।

राजनीतिमा युवाको उपस्थिति

हामी युवाको रटान राम्रै लगाउँछौँ । युवा सोच, जोश र उमेरले हुन्छ । तर हामी उमेरको युवा मात्र खोजिरहेका छौँ भन्दा अतिशयोक्ति नहोला । उसको चेतना स्तर र काम गर्ने क्षमता वा उर्जालाई खासै ध्यान दिइरहेका हुँदैनौँ । युवाको संख्या बढी भएको ठाउँ हो नेपाल । भलै, युवाको संख्या बढी हुनुको कारकतत्व असल छैनन् । आजको मितिसम्म यो देशमा युवाको संख्या धेरै छ । दुःखको साथ भन्नुपर्छ, हामीसँग उमेरले युवाको संख्या धेरै छ तर विवेक, सोच र सिर्जनात्मकताका हिसाबले युवा कम छौँ । स्वार्थले भरिएको युवा धेरै छौँ । फराकिलो र उदार सोचका युवा कमै छौँ । फरक विचारलाई सम्मान गर्ने र फराकिलो दृष्टि राख्ने युवा कम छौँ । यद्यपि युवा आउनुपर्छ भनेर रटान लगाउन छोड्दैनौँ । युवाको आगमन नै सब थोक हैन भन्ने बुझ्न पनि जरुरी छ ।

राजनीतिमा युवालाई स्थानको कुरा गरिरहेका छौँ । कुनै पनि राजनीतिक दलको उपल्लो तहमा उमेरका युवा कम नै छन् । तर त्यहाँ पुगे भने युवाको भूमिका कस्तो हुन्छ ? उनीहरू कतिको प्रभावकारी ठहरिन्छन् ? त्यो एकाध नेतृत्वमा वा राजनीतिक दलको उपल्लो तहमा पुगेका युवाले देखाइसकेका छन् । साथै मिहीन रुपले राजनीतिक दलको सदस्यता लिएको युवाको क्रियाकलाप र सोच अध्ययन गर्यौँ भने कुरा प्रष्ट हुन्छ । युवा स्वार्थी छ । निश्चय नै स्वार्थले नै हो मानिसलाई केही गर्न प्रेरित गर्ने । स्वार्थले सपना देखाउँछ । सपनाले अघि बढ्न उत्प्रेरित गर्छ । स्वार्थ यति निकृष्ट पनि हुनुहुँदैन, ताकि कुनै पनि व्यक्ति आफ्नो हित मात्र सोच्न पुगोस् ।

कुनै पनि दल विशेषले नारा लगाउनु पर्यो भने युवाको उपस्थिति बाक्लै हुन्छ । हरेक निर्वाचनमा दौडधुप गर्ने वा घरदैलो गर्ने कार्यकर्ताको उमेर नियालौँ । उनीहरू युवा नै छन् । उनीहरू राजनीतिक दलमा आबद्ध भएकै व्यक्ति हुन् । उनीहरू आफ्नो दलको योजना वा उद्देश्यलाई आलोचनात्मक दृष्टिले विरलै हेर्छन् । उनीहरूको उद्देश्य आफ्नो दललाई जिताउनु मात्र हो । आफ्नो दललाई जिताएमा आफूलाई लाभ मिल्छ ।

इमानदार युवालाई राजनीतिमा प्रवेश गर्ने बाटो खै त ? यो प्रश्न उठ्न सक्छ । प्रश्न युवाको इमानदारिताको मात्र हैन । सिंगो सामाजिक संरचनाको हो । सामाजिक, सांस्कृतिक अभ्यास, हाम्रो सामाजीकरण र साथै हाम्रो आर्थिक अवस्था र विकासको गतिविधिले निर्माण गरेको मनोविज्ञानको पनि हो ।

राजनीतिमा युवाको सहभागिताको मात्र अर्थ छैन । अर्थपूर्ण सहभागिता हुनुपर्छ । राजनीति सुधार्नको लागि राजनीतिक दलमै आबद्ध हुनुपर्छ भन्नु अतिशयोक्ति हो । राजनीतिक चेत र सुझबुझ भएकाले जनाउने राजनीतिक सहभागीले पनि सुधारको लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।
(लेखक श्रेष्ठ राजनीति शास्त्रका विद्यार्थी हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *