इथियोपियाकी वकिलले लडेको ‘बलात्कारविरुद्धको मुद्दा’ भन्ने सिनेमा
मुभी लभर्सको साप्ताहिक सिनेमा सुझाव
‘सिर्फ एक बन्दा काफी है फिल्मको चर्चा भइरहँदा मैले ‘डिफ्रेट’ फिल्मकी मुख्य पात्र ‘हिरुत’लाई याद गरिरहेको छु । यो फिल्म मैले कोभिडको पहिलो लकडाउनताका हेरेको हुँ । यसले एक नाबालिग र वकिलको उतारचढावपूर्ण जीवनलाई देखाएको छ ।’
मुभी लभर्समा नियमित लेख्ने भीष्म जोशी ‘डिफ्रेट’लाई यसरी सम्झिन्छन् । सँगै थप्छन् ‘इथियोपियामा एउटा परम्परागत कुप्रथा छ । त्यहाँ पितृसत्तात्मक समाजका पुरुषले आफूलाई मन परेको ना(बालिका)लाई अपहरण गरेर विवाह गर्न पाउँछन् । यो फिल्ममा पनि स्कुलबाट घर फर्किरहेकी १४ वर्षीय नाबालिगलाई राइफलधारी एक समूहले अपहरण गर्छ ।’
‘बिहे गर्ला त ?’
‘अहँ गर्दैन । वा भनौँ सक्दैन ।’
‘बरु बिहे गर्ने आश्वासनमा गोठमा थुनेर बलात्कार गर्छ । अन्ततः साहसिक नाबालिगले आत्मरक्षाको लागि उसलाई नै गोली ठोकेर भाग्छिन् ।’
‘अब के होला ?’
‘जे पनि हुन सक्छ । चुपचाप ढुक्कसँग फिल्म हेर्नुहोस् । यो एक विशुद्ध कोर्ट रुम सिनेमा हो ।’
भीष्मले हेर्न सुझाएको यो फिल्म अन्तर्राष्ट्रिय रूपमा पनि ख्यातिप्राप्त छ । यसले सन् २०१४ को सन्डान्स फिल्म फेस्टिभलमा वर्ल्ड सिनेमाटिक ड्रमाटिक अडियन्स अवार्ड तथा बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा पानारोमा अडियन्स अवार्ड जितेको थियो । जेरेसिने बर्हाने मेहारी ले निर्देशित यस फिल्मको कार्यकारी निर्माता हलिउडकी चर्चित अभिनेत्री तथा निर्देशक एन्जेलिना जोली हुन् ।
सत्य घटनामा आधारित यो फिल्मले बालिकाको कथामार्फत इथियोपियाको धेरै सामाजिक संरचनाहरूलाई पनि खोतल्छ । एकातिर बालिकालाई जबरजस्ती गर्न पाउने आफ्नो परम्परा भएको भन्नेहरू उभिन्छन् भने अर्कोतिर त्यो कुरा गैर कानुनी हो भनेर वकालत गर्ने महिला वकिलहरू । एकातिर बालिकाले आत्मरक्षाको लागि हतियार उठाएको कुरा छ भने अर्कोतिर त्यसलाई अदालतले नपत्याउने सङ्कट । फिल्ममा एक व्यक्ति भन्छन् ‘महिलालाई आत्मरक्षाको लागि गरेको भनेर कुनै पनि मुद्दा जिताइएको छैन ।’
यो केवल एउटा घटनाको बारेमा बनाइएको फिल्म मात्र हैन । यो त्यो घटनाको वरिपरि जेलिएका अनेकौँ सामाजिक सांस्कृतिक उल्झनहरूको वर्णन पनि हो । यसमा हाम्रो नेपाली समाज पनि भेटिन्छ ।
समय मिले हेर्नुहोस् है ।
फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=C2pO_uX4O5Y&ab_channel=FilmsBoutique