कोशी प्रदेश सभामा आइतबार दुई विधेयक प्रस्तुत हुने
विराटनगर । प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबारको कार्यसूची तयार पारेको छ। आइतबार बस्ने दोस्रो प्रदेश सभाको पहिलो बजेट अधिवेशनको बैठकमा दुई वटा विधेयक पेस हुने भएको छ।
प्रदेश निजामती सेवा ऐन पहिलो संशोधन अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेशलाई प्रदेश सभामा पेस गर्ने कार्यसूची पास गरिएको संसद् सचिवालयले जनाएको छ। प्रदेश सभाको आइतबारको बैठकमा नै प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि भोलि नै पारित गर्ने कार्यसूची रहेको जनाइएको छ ।
आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखले आव्हान गरेको प्रदेश सभाको बैठकको पत्र पढेर सुनाउने, शून्य समयमा प्रदेश सभाका सदस्यहरूले बोल्ने, विधेयकहरू पेस गर्ने तथा संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची कार्य व्यवस्था परामर्श समितिमा निर्णय भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए ।
‘भोलिको कार्यसूचीमा हामीले ऐन संशोधन प्रस्ताव, प्रदेश सरकारले ल्याएका केही अध्यादेशहरू पहिलो बैठकमा टेबल हुने छ भनेँ दलका नेताहरूले बोल्ने निर्णय भएको छ, प्रमुख सचेतक राईले भने, पहिलो बैठकमै बोल्न चाहने माननीयलाई शून्य समयमा बोल्न दिइनेछ ।’