मकालु सिनेमा सिफारिस

गणतन्त्र दिवसलाई एउटा सिनेमा सिफारिस

यो फिल्म र हाम्रो समाज कति धेरै मिलेका ।

लकडाउन भयो । 

शहरमा काम गरेर बसिरहेका हरूलाई त्यहाँ बसिरहने अवस्था भएन । उनीहरू घर फर्किन खोजे । फर्किजाने साधन भएन । भएका साधनमा अट्ने पहुँच भएन । उनीहरू हिँड्न थाले । बाटोमा कतै खाने ठाउँ भएन । हिँडिरहे । बाटो सकिने बाटो रहेन ।

उनीहरू गइरहे । पैताला फाटुन्जेल हिँडिरहे । मुख सुकेर कट्कटिउन्जेल । हिँडिरहे । गाउँ बस्ने ठाउँ रहेन त्यसैले शहर आउनुपर्‍यो । कोरोना आइसक्दा शहर बस्ने ठाउँ रहेन त्यसैले गाउँ फर्किनुपर्‍यो । 

तर कोरोना यस्तो भइदियो कि शहरबाट फर्किन खोज्दा गाउँ पनि आफ्नो रहेन । उनीहरू एउटा अस्थायी नाकामा रोकिए । भोकै । बस्ने व्यवस्था बिनै रोकिए । उनीहरू रोकिएको ठाउँ नजिकै एउटा ठुलो सपिङ मल थियो । त्यो मलभित्र खाली ठाउँ थियो । त्यो मलभित्र खानेकुरा थियो । 

उनीहरू मल नजिकै भोकै रोकिए । खुल्ला आकाशमा नै रोकिए ।  

म यो कुरा एउटा फिल्म भर्खरै हेरिसकेर भनिरहेको छु । तर लाग्दै छ यही कुरा नेपालको पत्रिकामा कुनै स्वरूपमा पढेको धेरै भएको छैन । हुनसक्छ सामाजिक सञ्जालमा छरिएका कुनै फोटोमा देखेँ । वा भिडियोमा आएको कुनै मान्छेको ताँती हेरेर । वा गाडीमा अटि नअटि जान खोजेका ठेलाम्ठेल मान्छेको अनुहार हेरेर । वा भीडका भीड हुँदै भारतबाट नेपाल आएका मान्छेहरूको ताँती हेरेर । 

मैले फिल्म हेरेर देखेको कुरा त मैले यहाँ नै धेरै देखिरहेको कुरा हो । 

वा त्यो भन्दा पहिला भारतले लगाएको नाकाबन्दीताका तेल नभएर बसपार्कमा थोरै गाडी भएको बेला एउटा मात्र गाडी चढ्न खोज्दाको सङ्घर्ष सम्झिएर । वा गएको वर्ष मात्र न्यायको खोजी गर्दै ११ महिलासहित १४ जनाको टोली नेपालगन्जबाट हिँड्दै काठमाडौँ आइपुग्दा उनीहरूको फोका उठेका पैताला सम्झिएर । वा मिटरब्याजको पीडित भएर काठमाडौँमा न्याय खोज्न आएका मान्छेका आँखा सम्झिएर । त्यो भन्दा पहिला उखु बेचेको पैसा नपाएका किसान सम्झिएर । 

फिल्म हेरुन्जेल म सँग सम्झिन मन लाग्ने कुरा कति धेरै भए । के फिल्म हो के फिल्म हैन दिमाग अल्मलियो । 

अहिले पनि कति धेरै मान्छेहरू यता उता गइरहेका छन् । केही न केही खोजिरहेका छन् । तर पाएका छैनन् । 

अझ फिल्म त पुरै ब्ल्याक एन्ड ह्वाइट छ । अहिलेको रङ्गिन जमानामा ‘ब्ल्याक एन्ड ह्वाइट’ किन ? यसलाई पुरानो समयको कथा भन्नुपर्‍यो भने प्रयोग गरिन्छ हैन ? वा रङमा हेर्न गाह्रो कुनै दृश्य देखाउनुपर्‍यो भने । वा यसलाई देखाउनुको कुनै आफ्नो कारण छ भन्नुपर्‍यो भने ।

निर्देशक अनुभव सिन्हाले ब्ल्याक एन्ड ह्वाइटमा यो कथा भन्नुको कारण पक्का पनि छ । यो कथा यस्तो हो कि हिजो मात्र भएको हो तर हामीलाई भएको थियो र ? भन्ने लाग्न थालिसक्यो । हिजै मात्र त्यति धेरै ठुलो सङ्कट भोगेको थियौँ भन्ने कुरा हामीले भुल्न थालिसक्यौँ । हाम्रो संसद्ले भुलिसक्यो । पटक पटक बाचा बाँधेर गरिने हस्ताक्षरहरूले भुलिसके । 

त्यसैले त हरेकपल्ट न्यायको लागि लड्दा पहिलोपल्ट लडेको जसरी लड्नुपर्छ । 

हामी भुल्नमा एकदमै सफल छौँ । 

यो फिल्ममा एउटा पात्र छ जसले आफू दलित भएकै कारण अर्को नाम लिएर हिँडिरहेको छ । केही समय पहिला शिल्पी थिएटरमा हेरेको घिमिरे युवराज निर्देशित ‘विमोक्ष’ नाटकमा पनि एउटा युवक थियो । उ पनि अर्को नाम लिएर हिँडिरहेको थियो । किनकि उसले दलित भएकै कारण काठमाडौँमा कोठा पाएको थिएन । अहिले पनि काठमाडौँ दलित भएकै कारण कोठा पाइँदैन । तर हामीले सायद यो कुरा पनि भुलिसकेका छौँ । 

उ पुलिस हो । उसले बर्दीमा नाम त सूर्य कुमार सिंहको लेखेको छ तर उ उसकै भाषामा भन्दा सन अफ गौतम लाल टिकस हो । टिकस अर्थात् भारतमा सबैले तल्लो जातको भनी बुझिने थर । उसले पनि सजिलै नाम भुलिदिएको भए हुन्थ्यो । तर जसले अन्याय भोगेका छन् तीनले भुल्न सक्दैनन् । जसले पीडा पाएका छन् तीनले भुल्न सक्दैनन् । समाजले दिएको अन्याय भुलेर भुलिसक्नु छैन । यो भुल्नु पर्ने कुरा हैन । 

कोभिडको कारण बढेको भिड रोक्ने जिम्मेवारी उसको काँधमा आएको छ । टेम्पोररी रूपमा । उसले त्यो चेकपोस्ट टेम्पोररी रूपमा मात्र समाल्न पाएको हो । मतलब उसले समाजमा सम्हाल्न पाएको कुरा यस्तै टेम्पोररी बेलामा मात्र छन् । अरू बेला त बाँकी अरूले नै समाल्छन् । हामीले समातिरहेका छौँ । बेलाबेला आरक्षण दिएर आफ्नो भाग खोसियो भनिने गरेको त सुन्नुभएको होला । 

यो फिल्म र हाम्रो समाज कति धेरै मिलेका ।

सूर्य कुमारले आफ्नो खास नाम र पहिचान भुल्न सकेको छैन किनकि उ जे बनेर हिँडिरहेको हो त्यो उ हैन । अनि अरू धेरै पात्र छन् जसले भोक लाग्दै गरेको पेट भुल्न सकेका छैनन् । 

फिल्मको सुरुतिरको एउटा दृश्य मा एक जना दलित युवकलाई पानीको इनार छोएको कारण बाँधिएको छ । त्यो हेर्दा ‘हेर्ने कथा’ ले देखाएको एउटा गाउँ याद हुन्छ । जहाँ दुई वटा इनार छन् । तर एउटा इनारमा अरू जाँदैनन् । त्यहाँ जानेहरू अर्को इनारमा जाँदैनन् । 

हामीले त्यो भुलिसक्यौँ ।

अर्को दृश्यमा कारमा बसिरहेको क्यामेराम्यान युवक भन्छ ‘मलाई भारतको कन्ट्रीसाइड मन पर्छ ।’ उसको पछाडि हाइवे देखिन्छ । अर्को पट्टीको झ्यालपट्टी पत्रकार युवती भन्छे ‘कता पट्टी तेरोपट्टी कि मेरोपट्टि ?’ उ भएको पट्टी भारतको गरिबी देखिने दृश्य छ । एउटै बाटोको यतापट्टि र उत्तापट्टि त्यस्तो धेरै अन्तर छ । एउटै घरको यतापट्टि र उतापट्टीमा धेरै अन्तर छ ।

एउटै जमिनको यतापट्टि र उत्तापट्टि, एउटै अस्पतालको यतापट्टि र उत्तापट्टि । एउटै लाइनको यतापट्टि र उत्तापट्टि अन्तर नै अन्तर छ ।

हामीले त्यो अन्तर पनि भुलिसक्यौँ ।

अर्को दृश्यमा महिला पत्रकारले पुरुषलाई खिचिरहेको बेला पछाडि बसेका महिलाहरू टाउको ढाकिरहेका छन् । उनीहरूले टाउको लुकाउनुपर्ने अवस्था हैन त्यो । तर उनीहरूलाई सदियौँदेखि टाउको लुकाउने पारिएको छ । अनि त्यसैको आधारमा टाउको देखाउनेहरू भन्दैछन् ‘उनीहरूलाई टाउको लुकाउनमा कुनै समस्या छैन ।’

हामीले त्यो कुरा समस्या हो भन्ने भुलिसक्यौँ ।

अर्कोमा पत्रकार युवती मुस्लिमहरूको बसले कोरोना फैलाइरहेको रिपोर्ट गर्न खोजेको कुरा मुख्य पात्र प्रहरीलाई सुनाउँछिन् । त्यो भिँडमा अनेकौ विषय थिए । अनेक समस्या थिए । तर उनले केवल मुस्लिमलाई मात्र समस्या देखिन् । त्यहाँ भिड लाग्ने अरू पनि थिए उनले मुस्लिमको भिडलाई मात्र समस्या देखिन् । उनी त्यो विषयमा आफ्नो कार्यक्रममा बोलिदिन सूर्यलाई भन्छिन् । उ जवाफमा भन्छ ‘यहाँ अरू यति धेरै समस्या थिए । तिमीले त्यही एउटा मात्र समस्या देख्यौ जुन खासमा समस्या हैन ।’ उनले बस कहाँबाट आएको खोजिनन् । केवल परैबाट बसलाई समस्या देखिन् । केवल मुस्लिम भएकैले तीनमा समस्या देखिन् ।

युवती केवल ‘आधा घण्टाको सो मात्र हो’ भन्छिन् । उ भन्छ ‘हाम्रो सो एकदमै लामो छ म्याडम । कहिलेकाहीँ हाम्रो सो मा पनि आउनु ।’ उसले भनेको त्यो सो हाम्रो समाजले वर्षौँदेखि बोकिरहेको विभेदको सो हो । तर दुखको कुरा हामी टिभीमा देखिने सो मात्र देख्छौँ । टिभीबाहिर छुटेका सो देख्दैनौँ ।

त्यसैले त सूर्य भनिरहन्छ ‘यदि कमजोरको हातमा न्याय दिने हो भने न्याय अर्कै हुन्छ ।’

एउटा दृश्यमा पत्रकार युवती सोध्छिन् ‘यहाँ नजिकै कतै खाना खुवाउनेहरू छैनन् ?’ उनलाई जवाफ फर्काउँदै युवक भन्छ ‘अरू बेला त सिभिल सोसाइटीले गरिबलाई खाना खुवाएजस्तो गर्छ्यौ । कहिले खुवाएका छन् ? हामी सिभिल हैन सिक सोसाइटीमा छौँ ।’

अर्को एउटा संवादले भन्छ ‘हामी जहाँबाट निस्किएका थियौँ कहीँ पुगेका छैनौँ ।’

एक बालिका आफ्नो बिरामी बाबुलाई लैजाने बाटो खोज्छिन् । भिडलाई छलेर साइकलमा बाबुलाई बोकेर त्यता जान्छिन् । तर उनलाई गाडीमा भएकी महिला पछ्याउँछिन् । उनीहरू आउँदै गरेको देखेपछि बालिका भन्छिन् ‘म एक्लै हुँदा कसैले देख्दैन थियो । अब गाडी भएपछि देख्छन् ।’ उनले मुस्किलले भेटेको बाटो पछ्याएर ती महिलाले उनले गरेको मेहनेतको फल खोसिदिइन् । अर्थात् तलको वर्गका मान्छेले मुस्किलले पाएको कुनै अवसर पनि माथिल्लो वर्गका मान्छेले खोसिदिइहाल्छन् ।

फिल्ममा मलभित्र खाना छ भन्ने थाहा भएपछि एक सेक्युरिटी गार्ड एक घण्टामा खानेकुरा नपाए त्यता जाने अल्टिमेटम दिन्छन् । खाना आउँदैन । उनी पुलिसको बन्दुक खोसेर भित्र छिर्छन् । उनी हेर्दा हेर्दै खानाको कारणले बन्दुक उठाउँछन् । तर उनले किन हतियार उठाए भन्ने नबुझी प्रहरी उनलाई मार्न पछ्याउँछन् । उनलाई सम्झाउन तीनै सूर्य जान्छन् ।

‘हामी गरिब मान्छेको लागि त कहिल्यै केही इन्तजाम नै भएन ।’ उनले यसो भनेर सम्झाउँदै गर्दा उनीहरू दुवै जना मलभित्र बेच्न राखिएको आलुको दुई पट्टी हुन्छन् ।

फिल्मभर पटपटी फुटेका पैताला देखिन्छन् । केही हुन्छ कि भनेर पर्खिरहेका आँखा देखिन्छन् । नजिकै आएर पनि पुग्न नपाएका ठाउँ देखिन्छन् । ती सबै पर्खिरहेका छन् । के हुन्छ थाहा छैन पर्खिरहेका छन् । उनीहरूलाई रोक्ने बाहेक सरकारले कुनै तयारी गरेको छैन । तर पनि पर्खिरहेका छन् ।

फिल्म सकिएपछि लेखिएका धेरै वाक्यहरूमध्ये एउटा वाक्यले भन्छ ‘Those who reached home came back to our beautiful cities. They had to.’

उनीहरू बाध्य छन् त्यसैले पर्खिरहेका छन् । तर फिल्मले देखाएझैँ उनीहरू सँधैभरी पर्खिरहने छैनन् ।

यी सबै हाम्रै वरपर भइरहेका कुरा हुन् । हाम्रै वरपर भइरहेका घटना । कोभिडले तीनलाई धेरै तहमा देखाइदिएको थियो । यो फिल्मले तीनलाई रिवाइन्ड गरेर सम्झाइदिँदै छ । त्यसको मौकामा तमाम सामाजिक तहहरू देखाइदिँदै छ ।

तर हामीले त्यसलाई पनि भुलिसक्यौँ ।

यो फिल्मले हामीले भुलिसकेका केही कुरा फेरी सम्झाइदिएको छ । ती कुरा जसले समाधान माग्छन् । ती कुरा जुन कसैले नभुलिइदियोस् भन्ने चाहन्छन् । सबैको लागि बस्न लायक केही त होस् यो समाजमा । न्यायको लडाइ हिँडिरहेको कोही मान्छे कतै त बस्न पाओस् । सधैँ गरिबीले रापिएर हिँडिरहेको मान्छे कतै त सँयाल पाओस् । आफैँले बनाएको मलमा यो फिल्ममा ती नै मान्छे बस्न पाउँदैनन् । आफैँले दुःख गरेर ल्याएको व्यवस्थाले आफूलाई परेको बेला कम्तीमा हात त देखाओस् ।

कम्तीमा तँ पनि यो देशको नागरिक होस् । तपाईँ देशभित्र विभेद हुँदैन त भनोस् ।

तँलाई हामीले बिर्सिएका छैनौँ भनोस् ।

के गणतन्त्र दिवसमा सरकारले यति भन्न सक्छ ?

कि उसले बिदा दिएको भरमा सबै काम भइसक्यो सोचेको छ ?

के उसले यी सबै कुरा सम्झिरहेको छ ?

@SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *