छोरीलाई चिठी लेख्दै मार्टिन स्कोरसेजी भन्छन्- ‘सिनेमा साधनले हैन मान्छेले बनाउँछ’
मार्टिन स्कोरसेजी सिनेमा जगतको लागि नयाँ नाम हैनन् । उनले निर्देशन गरेका सिनेमाले छुट्टै लिगेसी बनाएका छन् । सिनेमा बनाउने कला सिक्न चाहनेका लागि उनका हरेक सिनेमा विश्वविद्यालय हुन् । सन् १९७६ मा निर्देशन गरेको ‘ट्याक्सी ड्राइभर’ को लागि कान्स फिल्म फेस्टिभलको सबैभन्दा ठुलो पुरस्कार जितेका उनका ‘रेजिङ बुल’, ‘गुडफेलाज्’, ‘ग्याङ्स अफ न्यु योर्क’, ‘द एभिएटर्स’, ‘सटर आइल्याण्ड’, ‘द वुल्फ अफ वाल स्ट्रिट्स’, ‘द आइरिसम्यान’ जस्ता सिनेमाहरू चर्चित छन् । उनी निर्देशित ‘द किलर्स अफ द फ्वावर मुन’ यसपल्टको कान्स फिल्म फेस्टिभलमा प्रदर्शित भएको थियो ।
सिनेमा निर्देशनका अतिरिक्त उनी लेखक पनि हुन् । आफ्नो धेरै सिनेमा आफैँ लेख्छन् । अनि सँगै बेलाबेला विभिन्न मुद्दामा चिठीहरू पनि लेखिबस्छन् । अमेरिका बाहिरका सिनेमाहरूलाई ‘अमेरिकी नजर’ले मात्र हेरिएकोमा आपत्ति जनाउँदै उनले न्युयोर्क टाइम्सलाई लेखेको एउटा चिठी चर्चित भएको थियो । सन् २०१४ आफ्नो छोरीलाई लेखेको यो चिठीमा भने उनले सिनेमा बनाउने प्रक्रिया र प्रविधिको विकासक्रम अनि यसको भविष्यबारे गम्भीर कुराहरू गरेका छन् । मकालुखबरको लागि तेन्जिङ डोल्मा लामा र सुरज सुवेदीको अनुवादमा पढ्नुहोस् भ्यानिटीफेयर वेबसाइटबाट साभार गरिएको त्यही चिठी ।
प्रिय फ्रान्सेस्का,
म भविष्यको बारेमा कुरा गर्न तिमीलाई यो पत्र लेख्दै छु । म भविष्यलाई मेरो ब्रह्म नजरबाट हेरिरहेको छु । तिमीले त्यसलाई सिनेमाको लेन्स हो भनेर बुझ्नु किनकि मेरो नजर त्यसै वरपर केन्द्रित छ ।
जुन सिनेमाहरू हेरेर म हुर्किएको थिएँ, जसलाई मैले तिमी हुर्किँदादेखि नै देखाउँदै थिएँ, र जुन कुरा मैले सिनेमा बनाउन थाल्दासम्म फस्टाइरहेका थियो, पछिल्ला वर्षहरूमा मलाई अब त्यसको अन्त्य आइसकेको छ जस्तो लाग्न थालेको छ । जस्ता सिनेमा अहिले बनिरहेका छन् तीनलाई हेरेर मैले यसो भनेको हैन । म त अब बन्न लागेका सिनेमाहरूतिर हेरेर यस्तो भन्दै छु ।
म हतोत्साहित भएको हैन । वा मलाई तिमी हारेको मान्छे जस्तो पनि नसोच्नु । मलाई त लाग्छ सिनेमाको भविष्य उज्ज्वल छ ।
सिनेमा बनाउनु एक व्यवसाय हो भन्ने कुरा हामीलाई पहिला नै थाहा थियो । र सिनेमाले बोक्ने कला सम्भव भएको पनि व्यवसायसँग जोडिएकाले नै हो । ६० र ७० को दशकमा सिनेमा बनाउन सुरु गरेका हामीमध्ये कोही पनि यस्तो हैन भन्ने भ्रममा थिएनौँ । हामीले जे कुरालाई माया गरेका थियौँ त्यसलाई जोगाउन कडाभन्दा कडा अवस्था पार गर्नुपर्ने हुन्छ भन्ने पनि हामीलाई थाहा थियो । र मलाई लाग्छ सिनेमा बनाउने क्रममा जोडिएर आउने धेरै अप्ठ्याराहरू र अनुमान गर्नै नपाई थपिने तत्त्वहरू बिस्तारै घट्दै जानेछन् र कुनै त हराइजानेछन् भन्ने पनि हामीलाई कुनै न कुनै बेला महसुस भएकै कुरा हो । सबैभन्दा अनुमान गर्न नसकिने सबैभन्दा मुख्य तत्त्व के होला भन न ? यही सिनेमा । अनि त्यही सिनेमा बनाउन भनेर मरिमेट्ने मान्छे ।
सिनेमा जोडिएको व्यवसायमा आएका परिवर्तनको बारेमा धेरैले अगाडी भनिसकेका कुराहरू म दोहोर्याउन चाहन्न । म त वेस एनडरसन, रिचर्ड लिंक्लेटर, डेभिल फिन्चर, अलेक्जेण्डर पेयन, कोयन ब्रदर्स, जेम्स ग्रे र पल थोमस एन्डसन जस्ता अपवाद निर्देशकहरू अझै पनि सिनेमा बनाउन सकिरहेका छन् भन्ने सोचेर ढुक्क हुन्छु । पलले त अझ सत्तरी एमएम लेन्स हालेर ‘द मास्टर’ सिनेमा बनाएनन् मात्र त्यही स्वरूपमा तीनलाई धेरै ठूलाठूला शहरमा देखाउन पनि पाए । सिनेमालाई माया गर्ने जो कोही उनीहरूप्रति कृतज्ञ हुनपर्छ ।
सँगै म फ्रान्स, दक्षिण कोरिया, इङ्गल्यान्ड, जापान, अफ्रिका अनि विश्वभर सबैतिर लगातार सिनेमा बनाइरहेका कलाकारहरूबाट असाध्यै प्रभावित छु । त्यसलाई बनाउन पहिलाभन्दा धेरै गाह्रो छ र पनि उनीहरू बनाइरहेका छन् ।
तर सिनेमामा जोडिने कला र व्यवसाय गम्भीर मोडमा आइपुगेका छन् भन्दै गर्दा सायद म निराशावादी सुनिन्न होला । अडियो भिज्युअल मार्फत हुने मनोरञ्जन र हामीले सिनेमा भनेर बुझ्नेगरेका ‘बनाउनेले कल्पना गरेका गतिशील चित्र’ हरू फरक फरक बाटोतिर हिँड्न थालेका छन् जस्तो मलाई लाग्छ । भविष्यमा तिमी हामीले ठूलाठूला स्क्रिनमा सिनेमा भनेर जे लाई हेर्थ्यौ ती घट्दै गइरहेको देख्नेछौ । संभबत सिनेमाहरूलाई साना हल, अनलाइन प्लेटफर्म वा मैले अहिले कल्पना गर्न नसक्ने स्थान वा अवस्थाहरूमा पुगिसकेको अवस्थामा भेट्नेछौ ।
त्यसो भए सिनेमाको भविष्य उज्ज्वल कसरी छ त ?
किनकि कलास्वरुपको इतिहासमै पहिलो पटक सिनेमा वास्तवमै थोरै पैसामा बनाउन सकिने भएको छ । म यो क्षेत्रमा आउँदै गर्दा यस्तो हुनु कल्पनाभन्दा बाहिरको कुरा थियो । थोरै बजेटमा बनाइएका सिनेमाहरू कुनै नियम हैन नियमको अपवाद जस्तो मात्र रहन्थे । अहिले त ठिक उल्टो छ । सुन्दर दृश्यहरू अहिले धान्न सकिनेगरिका क्यामेराहरूबाट नै खिच्न सकिन्छ । साउन्ड रेकर्ड गर्न सजिलो छ । घरमै बसेर सम्पादन र मिश्रण गर्न अनि कलर करेक्ट गर्न सकिन्छ । यो साँच्चै सम्भव भइरहेको छ ।
तर सिनेमा बनाउने प्रक्रियामा यस्तो क्रान्ति भित्र्याउने साधन र प्रविधिमा आएको विकासतिर ध्यान दिइरहँदा एउटा संझिनैपर्ने कुरा भने छ । ‘सिनेमा साधनले हैन मान्छेले बनाउँछ ।’ क्यामेरा टिपेर सुट गर्न थाल्न अनि फाइनल कट प्रो मा लगेर हाल्न सजिलो त भएको त छ तर आफूले बनाउन चाहेको सिनेमा बनाउनु भनेको अर्कै कुरा हो । त्यसको कुनै छोटो बाटो छैन ।
यदि मेरो साथी र गुरु जोन क्यासवेट्स आज जिउँदै हुनुहुन्थ्यो भने उहाँ पनि पक्कै उपलब्ध सबै उपकरणहरू प्रयोग गर्नुहुने थियो । तर सँगै भनिरहनुहुने थियो ‘आफ्नो काममा तिमी पूर्णरुपमा समर्पित हुनुपर्छ, आफूलाई चाहिए जति सबै थोक दिनुपर्छ, जुन कुराको तानेर तिमीलाई फिल्म बनाउने बनाएको हो त्यसको झिल्कोलाई सधैँ बचाइराख्नुपर्छ, आफ्नो जीवन नै सुम्पिएर त्यसलाई हुर्काइराख्नुपर्छ ।’ विगतमा सिनेमा बनाउने प्रक्रिया महँगो थियो त्यसैले हामीले आफूलाई थकान र सम्झौताबाट जोगाउनुपर्थ्यो । भविष्यमा तिमीले अरू नै कुनै चिज विरुद्ध लड्नुपर्नेछ । र त्यो चिज हो ‘जे हुन्छ बनाउँला’ भन्ने सोच अनि त्यसको गर्दा सिनेमा डुब्न सक्ने खतरा ।
यो सिनेमाको मात्र कुरा हैन । सफलताको छोटो बाटो त कुनै कुरामा पनि छैन । सबै थोक अफ्ट्यारैगरि हुनुपर्छ वा गर्नुपर्छ भनेर म भन्दिनँ । तर जुन आवाजले भित्रबाट तिमीलाई चलाउँछ, त्यो तिम्रो आवाज हो । वा जे मा पनि भगवान देख्ने क्वेकरहरूले ले भनेझैँ त्यो तिम्रो भित्री उज्यालो हो ।
तिमी त्यही हौ । सत्य त्यही हो ।
तिमीलाई धेरै माया गर्ने,
तिम्रो बुबा ।
Cover Image: Instagram