अखण्ड नेपालको भूभाग भारतको नक्सामा राखिनु नेपालमाथिको प्रहार : विवेकशील साझा
काठमाडौँ । भारतले हालै आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता अखण्ड नेपालका ऐतिहासिक भूभागलाई समेटेर बनाएको नक्साप्रति विवेकशील साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको सम्मुखमा अखण्ड नेपालका विशेष भूभाग भारतीय नक्सामा राखिनु सार्वभौम नेपाल राष्ट्रमाथिकै ठाडो प्रहार भएको विवेकशील साझा पार्टीले ठहर गरेको छ ।
भारतीय हेपाहा प्रवृत्तिको घोर भर्त्सना गर्दै तत्काल नक्सा सच्याउन भारतसँग पार्टीले माग गरेको छ ।
नेपाली भूमिमा भारतले गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्न पनि पार्टीले आग्रह गरेको छ ।
भारत अतिक्रमित नेपालको भूमी लिपुलेक–लिम्पियाधुरा–कालापानी र अतिक्रमित अन्य भूभाग भारतले छोड्नु माग गरेको छ ।
पार्टीले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्तिविरुद्ध दह्रोसँग प्रतिवाद गर्न र नेपाललाई दूरगामी असर पर्ने कुनै पनि सन्धी, सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ ।