विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बिहीवार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए ।

उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताए । गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गरे ।

‘वर्षाको सिजन सुरु हुन लागेको छ,’ उनले भने, ‘बाढी, पहिरो, डुबानका समस्याहरु देखापर्न सक्छन् । सडकहरुमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्नसक्छ । त्यस्तो स्थितिमा भर्खरै मात्र पनि हामीले केन्द्रिय विपद् समितिको बैठक बसेर आवश्यक तयारीका काम अगाडी बढाएका छौँ ।’

त्यसको निम्ति दोस्रो बैठक तत्काल बसेर केही योजनाहरुलाई व्यवस्थित ढंगले तयारी गर्ने निर्णय पनि लिएको पनि उनले बताए ।

‘पहिला तपाईहरुको सीपभन्दा मनको तयारी आवश्यकता छ,’ उनले भने, ‘तपाईहरुले आफूलाई संकल्प गर्नुपर्ने आवश्यकता छ । हामीलाई हाम्रो संगठनले विशेष जिम्मेवारी दिएको छ । विशेष जिम्मेवारी विपद् पर्दाखेरी जनतालाई राहत पु¥याउने विशेष जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीबोध गर्दै आफ्नो सीपको अधिकतम प्रयोग गरेर तपाईहरुले जनतालाई विपद् पर्दाखेरी सेवा गर्नुहुनेछ । त्यसको निम्ति आफूलाई तयार पार्ने संकल्पका साथ तपाइहरु प्रश्तुत हुनुभएको छ । त्यो निश्चय नै सराहनीय छ ।’

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्दारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । उनले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *