आफ्नै श्रीमानलाई मुद्दा हाल्ने फिलिपिनी युवतीको कथा भन्ने सिनेमा
देशको कमजोर सामाजिक अवस्था न्याय दिने ठाउँमा झल्किन्छ ।
कुनै प्रहरीकोमा अपराध रिपोर्ट गर्न जाने बेलामा प्रहरीले त्यसलाई कसरी लिन्छन् देखि त्यो मुद्दा अगाडी जाँदै गर्दा त्यसले कसको पक्षमा उभिएर बोल्छ भन्ने कुराले धेरै फरक पार्छ । त्यो कुरा अदालतमा पुग्दा कसरी पुग्छ ? अदालतका मान्छेले मुद्दाका दुई पक्षहरूलाई कसरी हेर्छन् ? बयान दिन अदालतमा उभिएकी कुनै महिला र पुरुषको अवस्था उस्तै हुन्छ कि हुँदैन ? महिला पीडित भएकै कारण कुनै मुद्दा कमजोर हुन्छ कि हुँदैन ?
यदि कसैले कसैमाथि हात उठाउँछ भने एउटा कुरा निश्चित हुन्छ कि हात उठाउने मान्छे उ भन्दा बलियो नै हुन्छ । उसलाई समाजले हात उठाए पनि मलाई केही हुँदैन भन्ने सोच भरेर बलियो बनाइदिएको हुन्छ । उसलाई ‘हात उठाउनु मेरो अधिकार हो’ भनेर सोच्ने पारिदिएको हुन्छ । ‘तिमी त श्रीमान् हो तिमीले श्रीमती नकुटे कसले कुट्ने’ भनिदिएको हुन्छ । माया छ र त कुट्यो भन्ने सम्मको तर्क त सामान्य भई हाले ।
अझ कुटेको खबर आइसक्दा धेरैको दिमागमा आउने कुरा हुन्छ ‘छुच्चो मुख गरी होला अनि ।’
केही वर्ष पहिला भारतमा ‘थप्पड’ नामको एउटा फिल्म आएको थियो । फिल्ममा श्रीमानले एक थप्पड हानेको कुरालाई ठुलो नबनाउन सम्झाउनेहरू कति थिए कति । त्यसमा श्रीमतीले जवाफ दिएकी थिइन् ‘त्यो थप्पडले मलाई ती सबै कुरा देखाइदियो जुन मैले यतिन्जेल याद गरेकी थिइनँ ।’
नीलडाम बोकेर पनि कतै गएर सुनाउन नसकेका नेपाली महिलाहरू कति होलान् ?
‘भर्डिक्ट’ फिल्मले फिलिपिन्सको त्यस्तै एउटा कथा देखाउँछ । फिलिपिन्सकी महिलाको कथा । आफ्नो श्रीमानले रक्सी खाएर लगातार हात उठाएपछि उनी प्रहरीकोमा जान्छिन् । प्रहरीकोबाट केस अदालतसम्म पुग्छ । अनि उनको केस खोतलिँदै जाँदा त्यसले फिलिपिन्सको कानुनी व्यवस्थाका अनेक पाटाहरू खोतल्दै लान्छ । उनी सबैले देख्ने गरी घाउ हुँदा पनि कुटेको हो भनेर भनिदिने साक्षी पाउँदिनन् । जुन देशले आँखैले देखेको अपराध भनिदिने साक्षी भेट्दैन त्यो देश सारै कमजोर हुन्छ ।
हाम्रोमा पनि यदि कोही महिला त्यसरी नै गइन् भने साक्षी बसिदिने मान्छे भेटिन्छन् कि भेटिँदैनन् होला ?
एउटा दृश्यमा उनको अनुहारमा लागेको घाउ त निको हुँदै जान्छे तर उनका आँखा उदास छन् । जुन देशमा पीडकको अनुहार खुसी र पीडितको अनुहार उदास हुन्छ त्यो देशको समाज पनि उदास हुन्छ ।
यो फिल्ममा अपराध गर्दा पनि श्रीमानको शिर उँचो छ । यस्तो लाग्छ कि अपराध गर्नु उसको अधिकार हो । उसको पुरुषार्थ नै महिलामाथि दमन गर्नु हो । हाम्रो देशका अपराधीहरूलाई सम्झिऊँ न । कति ठुलो र उँचो शिर छ तीनको । भ्रष्ट्राचार गरेर जेल पर्नु मानौँ चर्चाको नयाँ कोर्स लिनु हो । अपराधी भएर जेलबाट छुट्नु मानौँ कुनै साधना गरेर बाहिर निस्किनु हो । यस्तो समाज आखिर किन बनिरहेको छ ? के ले बनाइरहेको छ उनीहरूलाई त्यति शक्तिशाली ?
जुन देशमा पीडकको अनुहार उँचो छ त्यो देशमा न्यायको अनुहार उँचो हुन सक्दैन ।
यो फिल्ममा हेर्नलायक धेरै चिज छन् । तर तीनमा पनि चरित्रहरूका आँखा हेर्नु । बालिकाका आँखा कस्ता छन् ? पीडित महिलाका आँखा कस्ता छन् ? न्यायाधीशका आँखा कस्ता छन् ? पीडकका आँखा कस्ता छन् ? साक्षी बस्ने मान्छेका आँखा कस्ता छन् ?
आँखा मात्र हेर्यो भने पनि धेरै कुरा त थाहा हुन्छ । फिल्मभर क्यामेरा हल्लिरहन्छन् । तपाईँलाई हेर्न अप्ठ्यारो पार्न पनि सक्छन् । तर फिल्मको सुन्दरता नै यही हो । यसले आँखा नै तिरमिराउने फिलिपिनी समाजको कथा पस्किन्छ अनि सँगै आफ्नो देशको समाजको व्यथा पनि सम्झाउँछ । सहादत हसन मन्टोले भनेकै छन् ‘’साँचो कुरा त तितो हुन्छ नै ।
रेमण्ड रिबे गुटियरेजले बनाएको यो फिल्म फिलिपिन्सको अफिसियल इन्ट्री भएर सन् २०२० को ओस्कार अवार्डमा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ स्पर्धामा छानिएको थियो । यस्तै यसले सन् २०१९ को भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल जुरी प्राइस पनि जितेको थियो । सामाजिक मुद्दामा आधारित फिल्म हेर्न तपाईँलाई मनपर्छ भने यो फिल्म तपाईँको रोजाइमा पर्न सक्छ ।
फिल्मको ट्रेलर यता छ :-