हाम्रो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल (भिडिओ)
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन् ।
शनिवार काठमाडौँमा नेपाल मधुमेही समाज र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको बताइन् । उनले देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन् । उनले धेरै जना जनप्रतिनिधिहरू प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताइन् । उनले जनप्रतिनिधिहरूको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरू दिन सके त्यसले धेरै फाइदा पुग्ने बताइन् ।
उनले मानिस स्वास्थ्य रहे मात्रै सबै खाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने हुने बताइन् । उनले स्वास्थ्य सम्बन्धित तालिमबाट जनप्रतिनिधिहरूले आफ्नो क्षेत्रका बासिन्दा हलाई सचेत बनाउन सक्ने बताइन् । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने बताइन् ।
उनी भन्छिन्, ‘धेरै जना प्रतिनिधिहरू प्रेसरको पेसेन्ट हुनुहुन्छ । धेरै जना प्रतिनिधि ज्युहरू औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ । त्यो लाइफस्टाइएसँग जोडेर यो तालिम दिन सके जब जनप्रतिनिधिहरू स्वस्थ हुनुहुन्छ । तब समाजमा अझ धेरै काम गर्न सकिन्छ । जनप्रतिनिधिको भूमिका र त्यो काम कारबाहीमा एकदमै एपिसिएन्ट रूपमा काम गर्न सकिन्छ । किनभने हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौँ, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन । त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो । आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ । आफ्नो मात्रै नभई आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरूले वडामा जनचेतनामूलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’
कार्यवाहक प्रमुख डंगोलले यस्ता कार्यक्रमहरूले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताइन् ।