भुटानमा छुटेर नेपाल हुँदै अमेरिका पुगेको आमाको बिनायो
लामिन तामाङका कानले भुटानका धेरै कुरा सुनेका छन् ।
गाउँमा मान्छे हिँड्थे । छिमेकीहरू बोल्थे । आमाले बटुवालाई समेत घरमा आएको बेला चिया खाजा खुवाउनुहुन्थ्यो ।
घरभन्दा केही पर पानी ल्याउने ठाउँ थियो । उनी जर्किन र गाग्रीमा पानी बोक्थे । घरमा गाईबस्तु थिए । उनी तीनलाई चराउन गोठालो जान्थे । उनको साथमा फुपू र काकाहरू सधैँ हुनुहुन्थ्यो ।
एकपल्ट गोठालो गएकै बेला गोरु जुधे । अग्लो डिलबाट गुमुर्किएर झरे । गोरु लड्लान्, लड्लान् जस्ताे भएको बेला उनले बचाउन खोज्दै आफ्नो छेउको झार तानेछन् । गोरुलाई लड्नबाट जोगाउन झार तानेर कहाँ सक्नु ?
धन्न गोरु मरेनन् ।
साँझमा झ्याउँकिरी खुब कराउँथे । काफल पाक्यो भन्दै चरा कराउँथे । जुरेली, ढुकुर । मौसम अनुसार फेरिँदै आउने चरा । अनि ती सबैको आवाज ।
उनले केही पनि भुलेका छैनन् ।
खरबन्दी भुटानको बेलडाँडा । पूर्वीय भुटानको साम्ड्रुप्जोङ्खर डिस्ट्रीक्ट । उनको घर त्यहाँ थियो । एकदमै राम्रो वातावरण भएको ठाउँ । खाना रुच्ने ठाउँ । वरपर जङ्गल भएको । खोलाको आवाज घरमा नै सुनिने । लगभग सम्म परेको ठाउँ । उनीहरूको ठाउँबाट बिहान हिँडेर बेलुका पहाड पुगिन्थ्यो । नेपालको चुरेतिरको क्षेत्र जस्तो थियो तर पहाडी ठाउँ हैन । पहाडी र मधेसको बिचको जस्तो ठाउँ थियो । वरिपरि हरियाली भएकाले बस्न सजिलो थियो । मलिलो माटो थियो ।
गाउँमा हिँड्ने मान्छेहरूले रेडियो बजाउँथे । लोक गीत बजाउँथे । नेपाली लोक गीत । हीरादेवी वाइबाको ‘फरिया रातो ल्याइदेछन्’ टाइपको ।
कहिले चराको गीत त कहिले मान्छेको गीत । ती गीत आज सुन्दा पनि उनी भुटान पुगिहाल्छन् । सम्झना अल्झिने ठाउँ पनि के-के हो के-के ?
भुटान छोडेपछि सुनेका कति गीत त उनलाई अहिले पनि भुटानमै हुँदा सुनेको जस्तो लाग्छ ।
पल्लो घरमा उनका बाजे बस्नुहुन्थ्यो । उहाँको घरमा रेडियो बज्थ्यो । भुटानको रेडियो । बाजेले त्यसलाई ट्युन गर्न खोज्दा च्याइँक र चुइँक गर्थ्यो । लाग्न-लाग्न खोजेर रेडियो वेब टिप्दैन थियो ।
गाउँमा खुब रमाइलो थियो । चाडबाडमा त झन् बिछट्टै रमाइलो । बिहेमा सनाई र दमाहा बज्दा उनी दिनभरि बसेर हेरिबस्थे । त्यो बेला बज्ने ट्याम्को बजाउन पाए हुन्थ्यो जसरी हात चिलाउँथ्यो । तर कसैले छुनै दिन्थेनन् । रहर हुन्थ्यो तर बजाउन पाउँथेनन् ।
गाउँमा गुरुधामहरू हुन्थ्यो । धामीहरू चिन्ता बस्थे । उनका काइँला बाजे पनि धामी थिए । ढ्याङ्रोको आवाज उनीहरूलाई खुब मनपर्थ्यो । अघिल्लो दिन धामी हेर्दा बजेको आवाज भाइब्रेसन भएर हप्तौँसम्म गुन्जिरहन्थ्यो । उनी गोठालो जाँदा त्यो आवाजलाई बजाउन खोज्ने । बज्दैन थियो ।
भोलिपल्ट खेतमा साथीहरू जम्मा भएर बेलुकाको चिन्ताको नक्कल गर्थे । टोटलाको खबटा बटुल्थे र एक अर्कामा ठोक्काएर बजाउँथे । सुकेको सुपारीको हाँगा पनि एकअर्कोमा ठोक्काउँदा टकटक गरेर बज्थ्यो । त्यसपछि थान राख्थे । ढुङ्गा खोज्थे । पातपतिङ्गर सेउला अनि घरका थोत्रा थाङ्नाहरू लगेर ध्वजा बनाउँथे । दिनभरि थाल ठटाएर उफ्रिन्थे, नाच्थे ।
‘यस्तो किन गरेको बिराम हुन्छ ।’
घरका कसैले देखे यस्तो गाली आउँथ्यो । घरकाले नदेखेसम्म दिनभरि खेलिबस्थे ।
नजिकैको खोल्सामा माछा मारेर बस्थे । झिँगे र बुदुना माछालाई समातेको ठाउँमा हेरिरहन्थे । गँगटालाई जिस्काउँथे । खेतमा आगो फुक्थे । पोल्थे । खान्थे ।
ती सबै सजिला-सजिला काम । उनीसँग त्यसको पनि सम्झना छ ।
उनको काइँला बाजेको कान्छो छोरा उनीभन्दा एक वर्ष मात्र जेठा थिए । आफूभन्दा एक वर्ष जेठो काका । काका स्कुल पढ्थे । कर्पोलर पनिसमेन्टको फेला पर्थे । लोपेन (टिचर) हरूको कुटाइको डरले भरसक स्कुल नजान खोज्थे । दिनदिनै सुम्लो लिएर आउनलाई किन जानु ?
उनलाई स्कुल जाने रहर थियो तर परिवारको पढाउन सक्ने क्षमता थिएन । कहिलेकाहीँ उनी काकाका किताब पल्टाएर हेर्थे । तीमध्येको एक किताबमा एउटा फोटो थियो । चोयाबाट बुनेको जस्तो खालको ह्याट लगाएको मान्छे । ऊ मुरली बजाएर भेडा बाख्रा चराइराखेको थियो ।
उनी जति-जति किताबको पाना पल्टाउँथे, उसले बजाएको त्यो सङ्गीत कस्तो आयो होला भनी कल्पना गर्थे । बाँसुरी बजाउँदै गर्दा ती जनावरहरू कसरी जोडिँदै गए होला भनी कल्पिन्थे ।
‘सायद मैले पनि बजाउन पाएको भए ! कसैले मलाई पनि त्यो किनेर ल्याइदिएको भए ?’ उनलाई यस्तै लाग्थ्यो ।
उनको आमा पोल्टोमा बिनायो बोक्नुहुन्थ्यो । उनी दिनमा एकपल्ट सम्झिएको बेलामा आमा बजाउनुहोस् न भनिरहन्थे । कोहीबेला समय छैन भनेर आमा झर्किनु हुन्थ्यो । तर जब बजाउनुहुन्थ्यो, त्यसले छ्याप्पै समात्थ्यो । उनी छक्क परेर सुनिबस्थे । कहिलेकाहीँ मागेर बजाउन खोज्थे पनि तर बजे पो ?
‘के बजाएको आमा यो ?’
‘यो जस्तो सुनेको हो हामीले त्यस्तै बजाएको ।’ आमा जवाफ फर्काउनुहुन्थ्यो । उहाँलाई के बजाएको हो भनेर थाहा त हुँदैन थियो तर उ बेला रेडियोमा बज्ने मध्येको कुनै धुन बजाउनुहुन्थ्यो ।
त्यो बेला उहाँको उमेरका आमाहरूको पोल्टोमा बिनायो हुन्थ्यो ।
आमा पात पनि बजाउनुहुन्थ्यो । चिल्लो-चिल्लो परेको पात चिन्नुहुन्थ्यो । हाटबजार गर्न गएको बेला बाटोमा हिँड्दाखेरि उहाँ पात टिप्नुहुन्थ्यो अनि जङ्गलै थर्किने गरी बजाउनुहुन्थ्यो । पानी पँधेरो गर्दा बाटोले नै सुन्ने गरी । जङ्गल गएको बेला जङ्गलले नै सुन्ने गरी ।
उहाँले भनेको सबैले टेर्थे । गोरुले आमाले बोलेको भाषा बुझ्थ्यो । कुखुराले पनि बुझ्थ्यो ।
त्यस्तो मज्जाले आवाजहरू सुनिरहेको ठाउँमा केही समयमा एउटा भयानक आवाज आयो ।
+++++
‘भुटानबाट आर्मीहरूले लखेट्छ रे’
गाउँमा गाइँगुइँ-गाइँगुइँ हल्ला चल्न थाल्यो । उनीहरूले सुनिरहेको आवाजभन्दा त्यो ठुलो थियो । ‘काट्छ अरे ।’ उनीहरूले खेल्दा बोल्ने भन्दा त्यो आवाज डरलाग्दो थियो । ‘हामीले छोड्नु पर्छ अरे’ गाउँलेहरू भेट हुँदा त्यसबारे कुरा हुन थाल्यो । आमाबुबाहरूको कानेखुसीमा पनि त्यो आइपुग्यो ।
कसैले ‘झापा जानु पर्छ अरे’ भन्न थाले । तर झापा भनेको कसैलाई थाहा थिएन ।
त्यो आवाज बढ्न थाल्यो । चिन्ता बस्दा बजाएको ढ्याङ्रो कसैले छातीभित्र बजाइदिएको जस्तो हुन थाल्यो । उनीहरू घर नजिकै सिमलको बारी थियो । एकदिन उनीहरू सुतिरहेको बेलामा आमाहरूले लुकाएर त्यहाँ लग्नुभयो । केही समयपछि फेरि लग्नुभयो ।
बिस्तारै उज्यालोभन्दा अँध्यारो सुरक्षित हुन थाल्यो ।
सुरक्षित भइरहेको ठाउँ असुरक्षित हुनलाई कति नै समय लाग्छ र ?
उनीहरूको काठको घर थियो । खाँबो गाडेको । दुईतले । भुइँमा भान्सा । माथि सुत्ने ठाउँ । उनीहरू सबैजना त्यहाँ नै लहरै सुत्थे । उनी बटुवा हिँड्ने बाटोतिर सुत्थे ।
नजिकै पडारीको रुख थियो । उनी कोहीबेला त्यसको घाँस काट्न वा चराको गुँड वा अण्डा खोज्न पनि चढ्न खोजिरहेका हुन्थे । चरा चलाउन खोज्दा आमाहरूले गाली गर्नुहुन्थ्यो ।
त्यो चरा कहिल्यै देखिँदैन थियो । तर डर लाग्ने गरी कराउँथ्यो । ठूलोमान्छेले हाहा गरिदिएपछि भने अर्कै ठाउँमा जान्थ्यो ।
उनीहरू डराएर घरबाहिर लुक्न थालेपछि त्यो चरा धेरैपल्ट करायो । त्यो करायो भने गाउँमा कुनै अप्रिय घटना हुन्छ भन्ने भनाइ साँचो भयो ।
सधैँ बाजेले रेडियो बजाउन खोज्दा बज्ने कर्ल्याङकुर्लुङ आवाज मान्छेको आवाज बन्न थाले । चराहरूको आवाजभन्दा ठुलो आवाज मान्छेको बन्न थाल्यो ।
आमाले बिनायो र पात बजाउन छोड्नुभयो । गाईबस्तु र कुखुराले न्यास्रो माने ।
भुटान सरकार घरमै आइपुग्यो । परिवारमा फुट ल्याउने नयाँ तरिका उसको हतियार थियो । त्यसले एफ वान टु थ्री गर्दै सेभेनसम्मको नम्बर मान्छेलाई दिन थाल्यो । बाबा एक नम्बर पर्यो भने आमा दुई, छोरा तीन, छोरी चार यस्तै खालको । त्यसमा एक नम्बर आउने भुटानमा नै बस्ने । कुनै आउने घर छोड्ने ।
आमालाई छोडेर को बस्ला वा श्रीमतीलाई छोडेर को हिन्ला ?
त्यति गर्दा उनीहरू आफैँ निस्किन्छन् भन्ने भुटानलाई विश्वास थियो । टेर्नेहरू गइहाल्छन्, नटेर्नेलाई आर्मी शासन लगाएर निकाल्ने योजना पनि बाँकी नै थियो ।
भुटान सरकारले परिवारको जबरजस्ती फोटो खिचायो । तेरो जमिनको यति भयो भनेर पैसा बक्यो । पुर्खादेखि बसेको जमिनको हिसाब कसरी गर्नु ?
अनि हाँसिखुसी छोडेको भनेर फोटो खिचाउन खोज्यो । आफ्नो ठाउँ छोड्ने मान्छे हाँस्दै कसरी हिँड्छ ?
उनी त्यो बेला सानै थिए । धेरै कुरा बुझेनन् । तर परिवार जाऊँ कि नजाऊँ को दोधारमा परेको थाहा पाए । गाउँको मान्छे हिँड्न थालेको थाहा पाए । गाउँमा कोलाहल र रुवाबासी हुन थाल्यो । छिमेकी पनि गयो हामी पनि जाऊँ हुन थाल्यो ।
त्यो सबै उनको ९ वर्षको कलिलो कानले सुने ।
+++++
घर छोड्ने दिन बिहानको समय ।
आमाले किटको कराहीमा चाम्रे बनाउनुभयो । थोरै खान दिएर पोको पार्नुभयो । बाटो कति लामो बाटो हिँड्नुपर्छ थाहा थिएन । सबैले सामान्य लत्ताकपडा बोकेका थिए । उनलाई पनि सानो भारी बोकाइएको थियो ।
गाईबस्तुहरू टाट्नो मै बाँधिए । उनीहरूले निक्कै पर गइन्जेलसम्म फर्की-फर्कि हेरेका थिए । आमाबाबु सुँकसुकाँए ।
त्यो चाम्रे बिग्रिउन्जेलसम्म खाँदै गए । पानीसँग खाँदै गए । घना जंघलको हात्ती लाग्ने बाटो थियो । रै पनि शहरको बाटो हिँड्नुभन्दा सुरक्षित थियो ।
त्यसरी आउँदै गर्दा पनि उनले चराचुरुङ्गीको आवाज सुने । खोला सुसाएको सुने । सानो पानी सुसाएको । पातलाई बटुलेर पानी पिउँदै हिँडेको ।
बिछट्टै पात बजाउन मनपर्ने भएर पनि आमाले पात बजाउनुभएन । त्यो बेला आमाको पोल्टोमा बिनायो पनि थिएन ।
‘कहिले पुग्छ’ उनी आमाहरूलाई सोधिबस्थे ।
‘आइहाल्यो, अब आइहाल्यो नजिकै छ,’ आमा सुकसुकाउँदै जवाफ दिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो, ‘अब गाउँ आउँछ, अलिक छिटो छिटो हिँड्नुपर्छ ।’
गाउँ आउँदा बाटोका घरहरू रित्तारित्तै हुन्थे । उनी सोच्थे ‘यहाँका मान्छेहरू कहाँ गयो होला ?’
खेतहरू हेर्थे । त्यसलाई हेरेर पनि उनलाई मन दुख्थ्यो । कहिले फर्किएर आउने होला भइराख्थ्यो । कहिले खेतमा चिन्ता बसी खेल्ने होला ।
त्यसरी थाहा छैन कति दिन हिँडेपछि एउटा साँझमा उनीहरू भारत आइपुगे । साम्रांग भन्ने त्यहाँ सानो बजार रहेछ । नजिकै धानखेती रहेछ । भोलिपल्ट बस र ट्रक आउँछ अनि झापा लान्छ भन्ने सुनियो ।
सुतेको ठाउँमा राती अचानक होहल्ला भयो । हात्ती आएछ । धान खाएर बर्बाद गरेछ । एकजना मान्छे मारेछ । मानिसहरू अगुल्टो लिएर हात्ती धपाइरहेका थिए । सबैले चिच्याउँदा उनलाई पनि जोस आएको जस्तो भयो । अनि फेरी सेलायो ।
भोलिपल्ट बिहान बसमा चढे कि ट्रकमा केमा चढेको उनलाई याद छैन । बाटो नराम्रो थियो । गाडीले उफार्दै ल्यायो । ‘मेची पुल अरे’ भनेको सुनियो । ‘खोप लगाएर जानुपर्छ’ भन्ने सुनियो ।
त्यसरी नै लट भएर बिरामी जसरी थाहा नै नपाई उनीहरू नेपाल छिरे । त्यहाँ टन्नै मान्छे थिए । आमाहरूले चिन्ने केही मान्छे पनि थिए । हल्ला पुरै कोलाहल भइसकेको थियो । बिरामी भएको मान्छेहरू कल्ल्याङकुलुङ थियो । कोही हराउँछ कि भनेर मान्छेहरू समातिरहेका । कोही आफ्नो सामानलाई जोगाइरहेका । कोही गाडी भुलिन्छ भनिरहेका । राती नै थियो । अलिक जान्ने बुझ्नेहरूले लाइन पनि लगाएका ।
त्यसलाई पनि सुन्दै आए ।
अर्को दिन उनीहरू झापाको बेलडाँगी आइपुगे । असार साउनको बेला थियो । हावाहुण्डरी थियो । गाउँकै मामाहरू तथा ठुला मान्छेहरूले बाँस गाडेर बस्ने ठाउँ बनाए । निलो त्रिपाल टाँगियो । अँध्यारोमा भुइँमा बिस्तरा लगाए अनि सुते ।
उनलाई कहाँ गएँ कहाँ गएँ भयो । उनले त्यतिन्जेल सुनिरहेको आवाज हरायो । छोडेको ठाउँको बास्ना हरायो ।
नयाँ ठाउँको आवाज चिन्न समय लाग्यो ।
त्यसपछिको एकवर्ष कसरी बित्यो उनलाई ठ्याक्कै सम्झना छैन । त्यसैले पनि त्यो बेला बाटोमा भएको धेरैकुरा उनलाई स्पष्ट याद छैन ।
आमाले लामो समयसम्म केही बजाएको सुनिएन ।
भुटानमा हुँदा उनको घरमा बाबा, बाजे, आमा, उनी र, बहिनी र दुईजना भाइ थिए । घर थियो । यसरी सन् १९९२ मा नेपाल आउँदा कान्छो भाइ दुई वर्षको मात्र थियो ।
उनले बजु देखेनन्, बाजे मात्र देखे । बाजे पनि नेपाल आउनुभन्दा एक वर्ष पहिला बिते । धन्न उनले उनीहरूले भोगेको दुःख भोग्नु परेन ।
+++++
बेलडाँगी क्याम्प (शिविर)मा बिहान हुन थाल्यो ।
सुरुसुरुमा त अहिलेको हिसाबले सोच्दा क्याम्पिङ गर्न कतै गएको जस्तो भयो । केहीदिन घुमेर फर्किहाल्ने जस्तो । घुम्दा बाटोमा पाएको दुःख फर्किएर कसैलाई सुनाउँला जस्तो ।
बिहान उठ्दा सबै एक अर्कासँग बोल्ने । के छ कस्तो छ सोध्ने । उनीहरूलाई कहाँ लगेर राख्छ भन्ने पनि थाहा थिएन । त्यतिबेलासम्म नेपालमा UNHCR आइसकेको थियो । उनीहरूभन्दा अगाडि नै आएका मान्छेहरू पनि थिए । १९८८ बाट नै मान्छेहरू आउन थालिसकेका थिए । कोही आफन्त आए कि भनेर खोज्ने मान्छेहरू पनि आइरहे ।
शिविर व्यवस्थापन समितिमार्फत सर्भे हुन थाल्यो । घर नम्बर बन्न थाल्यो । कसले कुन घर पाउने हुन थाल्यो । बिस्तारै खरले छाएको बाँसको स्कुल बन्यो । शिविर भित्रकै शिक्षकहरू हुने भए । जो-जो उता पढेका थिए तीनैले पढाउने भए । उता पाँच नै पढेको वा दुइ नै पढेको टिचरले पनि एलिमेन्टरी लेबल सम्मकालाई पढाए । उताको पढाइ राम्रो भएकाले सजिलो भयो । उनले पनि पढ्न पाए । ९ वर्ष पुगेपछि बल्ल ।
तर शिविरमा अप्ठ्यारो सकिएन । त्यो बेला सबैले खुल्ला दिशा पिसाब गर्नुपर्थ्यो । उनीहरू लाइन लागेर भस्मेघारीमा दिसा पिसाब गर्थे । असहज महसुस हुने मान्छेहरू बिहान दुई तीन बजे तिर नै पुगेर दिसा पिसाब गर्थे । बिहान यस्तो हुन्थ्यो कि मानौँ मान्छेहरू परेडमा निस्किएका छन् ।
पछि क्याम्पको संरचना बन्दै गरेपछि भने चर्पी पनि बन्न थाल्यो ।
त्यो बेला भुटानबाट नै मान्छेहरूले ल्याएका फिलिप्स रेडियोहरू थिए । त्यहाँ प्राय मान्छेहरू भुटानको रेडियो बजाउँथे । जोङ्खा भाषामा । उतैको भाषामा आउने कुराहरू सुन्थे । जोङ्खा गीतहरू सुन्थे । कुनै-कुनै बेला चाइनिज रेडियो पनि सुन्थे । बौद्ध धर्म सम्बन्धी गीतहरू बज्थे ।
उनीहरूलाई लामो समयसम्म भुटान जान पाइन्छ भन्ने थियो । त्यसैले उतैको रेडियोको आशा थियो । त्यो आशा बिस्तारै धमिलियो । उनीहरूको रेडियोको पनि बिस्तारै वेब बदलियो ।
मान्छेले रेडियो नेपाल पनि सुन्न थाले । नेपाली गीतहरू बज्न थाले । त्यो सुन्दा उनलाई आनन्द भएको जस्तो हुन्थ्यो ।
क्याम्पमा डाँडाभाटा गरेर घर बन्थे । बाँस काटेको अनि अरू संरचना बनाउँदा आउने आवाज उनले सुने । मान्छेहरूको बिचमा कुराकानी हुँदा ‘दाइ कहाँको ? तपाई कहाँबाट आउनुभएको ? भन्ने प्रश्न छुट्दैन थिए । कतिजना परिवार, कहाँ बस्नुहुन्छ’ भनेर पनि सोध्थे । बिस्तारै त्यो पनि सोध्न छोडे ।
अहिले सम्झिँदा उनलाई लाग्छ २० वर्षसम्म शरणार्थी शिविर भोगाइमा गाँस, बास अनि कपास पुरै बाँसमै निर्वाह भएछ । बाँसको तामाको तरकारी, अचार । घरको बारबेर बाँसकै, छानो पनि बाँसकै, सुत्ने खाट, टेबल, कुर्सी, देखि लिएर किचन क्याबिनेट पनि सबै बाँसकै । भुटान छोडेर हिँडेदेखिको उनको बाँससँगको साइनो निकै लामो छ । अनि मान्छेहरू भन्थे ‘हामीले पढ्ने किताब र कागज पनि बाँसबाटै बन्छ ।’
उनलाई लाग्छ जीवन एक कागजकै हो । उनीहरूको भागमा लामो कागज पर्यो । धेरै धर्को कोर्नुपर्यो । धेरै चित्र बनाउनुपर्यो ।
क्याम्पमा मान्छे हराइरहन्थे । सबै घर एउटै भएकाले कति धेरै हराएको समाचार आइरहन्थ्यो । वर्षौँदेखि बसेको गाउँ भए पो सबैथोक आँखा चिम्लिएर भेट्नु ।
‘भाइ मेरो बच्चा हरायो देख्नुभएन ?’ भनेर कहिले आमा, कहिले बाउ हस्याङफस्याङ गर्दै सोधिरहेका हुन्थे । त्यो सँगै अर्को डर पनि त्यहाँ थियो । इन्डियाबाट बच्चा लाने मान्छे आउँछ रे भन्ने पनि हल्ला फैलिएको थियो । तीनले लगेर बच्चा बेच्छ अरे भन्ने खुब ठुलो डर थियो । त्यसैले पनि खोज्नेहरूको हतार अर्कै हुन्थ्यो ।
साइडमा भुटानको राष्ट्रिय भाषाको रेडियो बजाउँदै उनीहरू भने यता शरणार्थी क्याम्पको डाँडाभाटा बनाइरहेका हुन्थे ।
स्कुलमा एसेम्ब्ली हुन्थ्यो । दुईवटा भाषामा हुन्थ्यो । एउटा संस्कृतमा र अर्को जोङ्खामा । एसेम्ब्ली सुरु भएपछि बल्ल कक्षा सुरु हुन्थ्यो । जति नै चर्को घाम भएपनि बन्द हुँदैन थियो । भुटानको राष्ट्रिय गान नै थियो त्यो ।
कक्षामा सरहरूले उनीहरूमा ‘को के गर्न जान्दछौ’ भनी खोजी गर्थे ।
उनी त्यो बेला मूर्तिहरू बनाउँथे । ब्ल्याकबोर्डमा चित्र बनाइदिएर सरलाई सघाउँथे । घरमा पनि कमेरे माटोको मूर्ति बनाउँथे । कमेरे माटो रतुवा खोलाबाट ल्याउँथे । राती सुनसान भएको बेलामा खोला सुन्थे । भुटानमा माटोसँग खेल्दा खेल्दै जानेको सीप थियो त्यो । तर उता कराएको खोला जस्तो त्यो खोला कराउँदैन थियो ।
बाल्यकालमा सुनेको जस्तै कराउने ढुकुर, परेवा आदि पनि क्याम्पभित्र थिए । तर थोरै मात्र आउँथे । अलिक पर शिविरबाहिर भने चराचुरुङ्गी अलिक धेरै हुन्थे । त्यसको कारण थियो । शिविरमा अन्न कम हुन्थ्यो । बाहिर बालीहरू बढी हुने भएकाले चराको आवाज पनि धेरै त्यतै हुन्थ्यो ।
उनी यताको आवाज सुन्थे अनि भुटान सम्झिन्थे ।
कुकुर कुखुरा कराएको सुन्दा पनि भुटानकै याद आउँथ्यो । पल्लो डाँडामा न्याउलीहरू करायो भने त उनलाई सिधै भुटान नै पुर्याइहाल्थ्यो । कहिलेकाहीँ यहाँ पनि उस्तै त रहेछ जस्तो हुन्थ्यो । अनि फेरी उस्तै भए पनि ‘हामी किन शिविरभित्र बस्नु परेको’ भन्ने सोचेर पीडाबोध पनि हुन्थ्यो । त्यहाँबाट बाहिर आएर बस्न पाए जस्तो हुन्थ्यो ।
+++++
सेक्टर स्कुलमा ग्रेड वान पढ्दादेखि नै उनलाई सङ्गीत सिक्न मन लाग्न थाल्यो । स्कुलमा सङ्गीत पढाइ हुन्थेन । गाउँमा फुक्का भएर गाउँदै हिँड्दा सबैले बिग्रिएको भन्ने डर भइहाल्थ्यो । यदि त्यो बेलामा नै सिक्न पाएको भए अहिलेसम्म प्रोफेसनल म्युजिसियन हुन्थेँ कि जस्तो पनि उनलाई लाग्छ ।
कक्षा चारमा हुँदा एकपल्ट उनले ‘डाँडैमा मेला लागेछ’ गाए । रातोपिरो हुँदै काँप्दै । सरले त ठिकै भन्नुभएथ्यो तर साथीहरूले खासै राम्रो भएको भनिदिएनन् । उनीहरूले भन्दा राम्रो गाएको भनेर ईर्ष्या पो गरे कि ?
उनी गीतलाई खुब पछ्याउँथे । बजारमा गीत भएको किताब पाउँथ्यो । त्यसमा हेरेर शब्द पत्तो लगाउँथे । किताबमा नभएका गीत भने रेडियोमा बज्दै गर्दा सार्थे । उनको पूर्ण घिसिङ तामाङ नामको एक साथी थिए । कुनै गीतको शब्द भेटिएन भने उनी अर्कोपल्ट गीत आउन्जेल पर्खिन्थे । कहिले साथीको रेडियोमा पनि बज्छ कि भनेर खोज्न जान्थे । बजेको मौकामा साथी बाइन्डबुक निकाल्थे अनि शब्द कोरिभ्याउँथे । पछि त्यो बाइन्डबुक चोरी भयो ।
जसले लग्यो गीत नै त लग्यो ।
उनीहरूलाई त्यो बेला चलेका धेरै कलाकारहरूको गीत त्यसरी पनि कण्ठस्थ भयो । उनीहरू स्कुलको बेन्च ठटाएर पनि गाउँथे । स्कुलमा शुक्रबार क्याजुअल कक्षा हुन्थ्यो । शुक्रबार कहिले आउँछ भनेर पर्खिन्थे ।
उनको जिन्दगीले धेरै सन्नाटा भोगेको थियो । त्यस सन्नाटाको जवाफ उनले सायद सङ्गीतबाट भेटेका थिए ।
उनको सिनियर दाइहरूले बेलडाँडी-३ मै ‘ड्रुकयुथ ब्याण्ड’ नामको ब्याण्ड खोलेका थिए । सन् १९९६ तिरबाट नै खुलेको हो भन्ने सुनिन्थ्यो । पप रक सङ्गीतहरू उनीहरूले बजाउँथे । शिविरमा एउटा सार्वजनिक ठाउँ थियो । त्यहाँ इभेन्ट हुन्थ्यो । कहिले अलिक माथिको फुटबल ग्राउन्डमा पनि कार्यक्रम हुन्थ्यो । उनीहरू भुइँमा बसेर कार्यक्रम हेर्न जान्थे । त्यो बेला चलेका गीतहरू गाउँथे ।
उनी वरपरको साथीभाइहरूलाई मिलाएर तिहारको देउसी भैलो कार्यक्रम पनि लिड गरिहिँड्थे । नाच्ने र गाउने कुरा धेरै नआए पनि उनलाई टिम लिड गरेर हिँडाउन भने खुब मन पर्थ्यो ।
ओर्जिनल क्यासेट किन्ने हैसियत थिएन । दमकमा गएर एकदेखि तीन रुपैयाँसम्ममा गीत डबिङ हुन्थ्यो । त्यो बेला चलेका धेरै गीतहरूलाई ट्रायकमा पनि गाउँथे । डेकहरू भाडामा पाइन्थ्यो । त्यसैमा बजाउँथे ।
स्कुलमा नाटकहरू पनि हुन्थ्यो । धुलोमा चप्पल बिछ्याएर नाटक हेर्न बस्थे । धेरै त गीति नाटक हुन्थे । त्यसरी नाटक हेर्दै गर्दा उनको मनमा कतै स्टार हुने सपना जन्मिन्थ्यो ।
तर त्यो सपनाले भोग्नुपर्ने धेरै यथार्थ बाँकी नै थियो ।
+++++
उनी कक्षा ४ को परीक्षाको तयारी गर्दै थिए । खुदुनाबारी क्याम्पमा उनको कान्छी फुपू हुनुहुन्थ्यो । एकदिन बिहान आमाले ‘म फूपुहरूकोमा गएर आउँछु तिमीहरू बस्दै गर’ भन्नु भयो । सानो बहिनी काखमा नै थियो । उहाँले कपडा लगाएर उनलाई बोक्नुभयो र बान्नुभयो । उनी त्यतिबेला स्कुल जान लाग्दै थिए । उहाँले थैलीबाट निकालेर नयाँ पाँच रुपैँयाको नोट हातमा राखिदिनुभयो ।
त्यो भन्दा पहिला पनि आमा बेलाबेला रिसाएको बेला ‘म तिमीहरूलाई छोडेर जान्छु,जान्छु भनिराख्नुहुन्थ्यो ।’ आमाले भनेको पुर्याउनुभयो । अल्पायुमै आपाको निधन भैसकेको थियो ।
आमा गएपछि धेरैथोक आमासँगै गयो ।
‘दुईचार दिनमा आइहाल्छु’ भन्नुभएको थियो । तर गाउँलेले खबर ल्याए ‘अब आमा आउँदैन अरे ।’
बिचमा मान्छेहरू आउँदै जाँदै गरिरहे । आमाको बारेमा सोधिरहे । उनलाई गाह्रो भयो । एक महिनासम्म घाम गएको समेत थाहा पाएनन् । त्यतिको अँध्यारो उनले अहिलेसम्म पनि महसुस गरेका छैनन् ।
आमा गएपछि उनीहरू यतै भए । सानो उमेरमा नै उनी अभिभावक भए । १३/१४ वर्षको उमेरमा उनी प्रमुख भएका थिए । आमा आउनेजाने गर्नुहुन्थ्यो । तर मुख्य जिम्मेवारी पनि उनी नै थिए । उनी सबैलाई पकाउने गर्थे । बाध्यता पर्यो ।
उनकोमा सुत्नेगरि एकजना साथी आउँथ्यो । उ उनीसँग सुत्थ्यो । अबको जीवन कस्तो हुन्छ होला भनेर कुरा गर्थे । हामी छौँ भनेर साथीहरू सम्झाउँथे ।
पुस माघको जाडो काट्न धेरै नै कष्टकर थियो । आफ्नो नजिकको केही साथीभाइहरू पालैपालो सुत्न साथी बोलाउँथे कारण कठ्याङ्ग्रिने चिसो रातमा उनीहरूको शरीरको तापले निदाउन सक्थे । तर यो कुरा उनीहरूलाई थाहै हुन्थेन !
एक महिना रोएरै बितेपछि भने उनी सम्हालिए । पहिला उनको देशले छोडेको थियो । पछि आमाले । उनको लागि दुबै कुरा छुटेको थियो । स्कुलमा पढ्न गाह्रो हुन्थ्यो । यसको बाबु छैन आमा छैन भनेर अरूले भनिदिँदा मन कुँडिन्थ्यो । तर शिक्षकहरूले खुब माया गरे । उनी पढ्नमा राम्रो भएकाले पनि उनलाई अगाडि बढ्न हौसला मिलिरह्यो । त्यसैले उनले कहिल्यै पनि पछाडि फर्किएर हेर्नु परेन ।
सन् १९९६ मा भुटानी शरणार्थी शिविरहरूको पहिलो र प्रतिनिधि साङ्गीतिक समूह “Euphoria Band” ले एक भव्य लाइभ कन्सर्टको आयोजना गरेको उनले हेरिसकेपछि थाहा पाए । सातवटा शिविरको खत्रा-खत्रा कलाकारहरू आएका थिए । साउन्ड चेक हुँदै थिएछ क्यार ! धूमधामले अकौस्टिक ड्रम बज्दा उनी म्याराथन धावक चप्पल लगाएर दौडेझैँ गरी बेलडाँगी-२ बाट बेलडाँगी-१ को GVA स्कुल पुगेको सम्झन्छन् । २६ वर्ष भएछ ।
पुरै वरपर बारेर कन्सर्टको तयारी गरिएको थियो । टिकट पाँच रुपैयाँ । उनीसँग पैसा थिएन । उनी २० रुपैयाँवाला चप्पलमा दौडेको थिए । जसरी पनि कन्सर्ट हेर्नु थियो । भीड छिचोलेर भित्र पस्न दुई पटक कोसिस गरे, सम्भव भएन ।
आकाशतिर फर्के । स्कुलको बारबन्देजका लागि प्रयोग भएका सबै सिसौको रुखहरूमा दर्शकहरू रुखकटहर जस्तै झुन्डेको देखेपछि बल्ल आशा पलायो । एक्लै रुख चढ्न सकिने अवस्था थिएन तर एकजनाले हात दियो र जसोतसो चढे । त्यो बेला चलेका गीतहरू कन्सर्टमा बजे । कस्तो अचम्म बजाउनेहरूले रेडियोमा जे सुनेको त्यही नै बजाइदिए । उनले त्यहाँ १२, १५ वटा ड्रमहरू देखे ।
बाँदरको बच्चाले आफ्नो आमाको काखी च्यापे जस्तै गरी त्यो सिसौको रुख ४-५ घण्टा समातेर कन्सर्ट हेर्ने धेरै दर्शकहरू मध्ये एक उनी पनि थिए ! त्यो रुख बेसरी सम्झिरहेछन् उनी ।
चढ्न त चढे तर झर्नेबेलामा ठुलो आपत् पर्यो । अलिक सजिलो मौका पारेर हामफाले । धन्न केही भएन । एकपाटो बसेकाले हप्तादिन सम्म पातो दुख्यो । छातीको पानीछाला अलिअलि गएछ । सम्झिँदा अहिले पनि नोस्टालजियाले बेसरी हान्छ ।
त्यसको केही समयपछि उनले ‘ड्रुकयुथ ब्याण्ड’ले सङ्गीत सिकाउँदैछ भन्ने थाहा पाए । महिनाको ५० रुपैयाँमा सिकाउने कुरा रहेछ ।
‘आमा म म्युजिक सिक्छु’ उनले आमासँग भने । आमाले यसपल्ट महिनाको ५० रुपैयाँ जुटाइदिनुहुने भयो ।
आमाले दिएको पैसाले उनले ड्रम सिके । साथीहरू सहित त्यहाँ गए । ड्रमको स्नेयर फुटेको रहेछ । त्यसलाई रुमालले बाँधेर बनाइएको रहेछ । छ महिनाजति मुस्किलले सिके । ड्रम पुरानो थियो । कतैबाट मुस्किलले जुटाएको जस्तो ।
तर फी तिर्ने पैसा पनि गाह्रो हुन थालेपछि उनी जान छोडे । घरमा बिहान खायो भने बेलुका के खाने भन्नेगरिको समस्या थियो । तर उनले पढाइ पनि छोडेनन् । उनको जस्तै समकालीन अवस्था हुनेहरूले स्कुल छोडे पनि । तर उनले पढ्नुपर्छ भन्ने कुरा कहिल्यै छोडेनन् । गाउँकाहरूले पनि भाइबहिनीलाई राम्रोसँग हेर्नु भनिदिन्थ्यो । वर्ल्ड फूड प्रोग्राम (WFP) बाट राशन पानी आउँथ्यो । दुई हप्तामा एकपल्ट दिन्थ्यो । बढ्दो ज्यानलाई त्यसले पुर्याउन मुस्किल पर्थ्यो ।
त्यो बेलामा उनी सङ्गीत सुनिबस्थे । त्यसैले बाँचेको छु जस्तो मान्थे ।
उनलाई लाग्छ ४० प्रतिशत खानेकुराले र ६० प्रतिशत सङ्गीतले उनलाई बचाएको हो । अन्न त ठ्याक्कै नापेर खानुपर्थ्यो, सङ्गीत त जति खाए पनि हुन्थ्यो ।
छ महिना सिकेपछि उनलाई सिकेको कुरा यो रहेछ भन्ने पनि थाहा हुँदै गयो । सङ्गीतप्रतिको बुझाइ पनि परिवर्तन भयो ।
थाहा भयो ‘सङ्गीत मेरो जिन्दगीबाट निकालिदियो भने म धेरै थोक रहन्न ।’
+++++
सन् २००६ मा क्याम्पस सकियो । भोलिपल्ट आबुखैरेनी भन्ने ठाउँमा बोर्डिङ पढाउन गए ।
उनको एकजना साथी केहीसमय पहिला नै त्यहाँ गएका थिए । शिविरबाट धेरै शिक्षकहरू पढाउन भनेर जान्थे । पछि बन्दिपुरमा पनि पढाए । विदेश जानुभन्दा पहिला दमकको एभरेस्ट बोर्डिङ स्कुलमा पनि पढाए ।
स्कुलमा उनले अन्य अतिरिक्त क्रियाकलापहरू पनि गराए । विद्यार्थीहरूसँग फरक-फरक क्षमता हुन्छन्, कोही नाच्नुमा सिपालु हुन्छन् कोही गाउनुमा । उनीहरूको सीप देखिनुपर्छ भन्ने उनलाई लाग्थ्यो । त्यसैले स्कुलमा खेल्नेदेखि नाच्ने गाउनेसम्मका अनेक कार्यक्रम गराए । आफ्नै तलबले कक्षा-कक्षामा डस्टबिन राखेर पनि परिवर्तन गरे ।
आबुखैरेनीमा त झन् बच्चाहरूलाई नजान्दा कुट्ने चलन थियो । उनले त्यसमा परिवर्तन गर्न खोजे । कसैलाई कुटेर हैन मनाएर पढाउनुपर्छ भन्ने उनले सिकेका थिए । बच्चाहरूलाई काउन्सिलिङले काम गर्छ भन्ने बुझेका थिए । घरबाट कुनै विद्यार्थी कसरी हिँडेको छ, त्यो थाहा पाउनुपर्छ । कोही विद्यार्थीले केही गर्न सक्नु वा नसक्नुमा उसको परिवारको अवस्थाको हात हुन्छ भन्ने त उनले बुझिसकेका थिए ।
त्यसरी विद्यार्थीहरूलाई पढाउँदा उनको मनमा सधैँ रहिरहेको सङ्गीत निस्किन पाउँथ्यो । तीनले मन लागेको काम गरिरहँदा उनी आफूलाई उनीहरूसँग पाउँथे ।
उनले तीनवटा नै स्कुलमा पढाए । तीनवटा मै प्रिय भए ।
त्यो बेला दमकमा नागरिक सङ्गीत विद्यालय थियो । जुन पछि गएर सुरभि कला केन्द्र बन्यो । त्यतिबेला त्यहाँको निर्देशक, गायक, सङ्गीतकार मणिकमल क्षेत्री थिए । दमकको एभरेस्ट स्कुलमा पढाउँदै गर्दा उनले सुरभि कला केन्द्रमा गुरु अनिल फागोसँग भोकल सिके । सन् २००९ तिरबाट त्यहाँ सिक्न थालेका थिए । भोकल सँगै तबला पनि सिक्थे ।
त्यतिबेला योग साधना पनि गर्थे । साथीहरूसँग मिलेर योग शिविरमा पनि गए ।
उनी लगभग-लगभग नेपालको भइसक्न लागेको सोच्दै थिए, त्यसपछि नेपाल छोड्ने दिन आयो ।
बाहिर जाने कुरा आएपछि परिवारमा फेरी एकपल्ट भुईँचालो आयो । भुटान छोडेर आएकी उनकी आमालाई अहिले पनि भुटान नै जान पाउँ भन्ने थियो । सानाबाउ पनि जान मान्नुभएको थिएन । सबैले घर आएर नजा भन्नुहुन्थ्यो । जाने ठाउँ कहाँ हो कहाँ ठिकै छ यतै बसौँ भन्नुहुन्थ्यो । हामी जानुपर्छ भविष्य बन्छ भनेर उनी सम्झाउँथे । आमा घरमा आउने अनि रुँदै जाने गर्नुहुन्थ्यो । छोराछोरीहरू छुट्टिने पर्यो भन्ने उहाँहरूलाई डर थियो ।
घर छोडेर गए पनि उनले छोराछोरीलाई सधैँ माया गरिरहेकी थिइन् । उनको चिन्ता जायज नै थियो ।
तर शिविरमा सन् २००७ देखि नै बाहिर लैजाने हल्ला चलिसकेको थियो । २००८ बाट लैजान थालेको थियो । उनी २०१२ मा उनी पनि विदेश जाने भए ।
विदेश जानुभन्दा पहिला सन् २०११ मा शिविरमा उदय र मनिला सोताङलाई ल्याएर कन्सर्ट गरे । उनी त्यतिबेलासम्म कन्सर्टहरू आयोजना गर्ने भइसकेका थिए । त्यो कार्यक्रम पनि चोक-चोकमा, बजार बजारमा मान्छे मिलेर भएको थियो । सोताङ परिवार नै आएको थियो । हजारौँ मान्छेहरू आएका थिए । सबैजना मिलेर साझा कार्यक्रम गरेका थिए । भुटानी समुदायको लेजेन्डरी गायक प्रताब सुब्बाले पनि गाएका थिए । उनको ‘बन्धनको चिनो’ गीत चर्चित थियो । दार्जेलिङको प्रोफेसनल सिंगरहरू राखेर लाइभ कन्सर्ट गरेका थिए । दार्जेलिङदेखि भुटानसम्मका मान्छे आएका थिए ।
उनकै समकालीनहरूले पनि सङ्गीत बजाए, गाए । त्यसरी फरक भूगोल र फरक संस्कृतिका मान्छेले जोडेको सङ्गीतको प्रस्तुति हेरिरहँदा उनलाई मिठो खुसी मिल्यो । त्यस्तो रङ्गिन रङ देख्दा अनि त्यसको आयोजक हुँदाको खुसी उनको अनुहारमा सर्लक्कै सर्यो । त्यस्तो टिममा रहन पाउँदाको खुसी संसार नै जित्न पाएको जस्तो भयो ।
तर त्यो इभेन्ट गर्दै गर्दा पनि सोचेका थिए ‘यदि म अमेरिका नै गएँ भने पनि यस्ता थुप्रै इभेन्टहरू गर्छु ।’
+++++
नयाँ दिल्लीबाट न्यु जर्सी अनि त्यहाँबाट बफ्लो, न्यु योर्क ।
अमेरिका पुगेको एक वर्ष त भुटान छोडेर नेपाल आउँदा जसरी नै कट्यो । घरहरू फरक थिए । बिस्तारै काम सुरु भयो । गाडीको इन्जिन ब्लकहरू इन्स्पेक्ट गर्ने काम थियो । त्यसको व्यवस्था संस्थाले नै गरिदिएको थियो ।
केही समय काममा गुजारेर सास फेर्न थालेपछि भने उताको कम्युनिटी खोज्न थाले । उनीभन्दा पहिला त्यता गइसकेकाहरूलाई भेट्न थाले । नेपाल छोड्ने बेलाको बाचा सम्झिँदै कार्यक्रम गर्ने अवसर खोज्न थाले ।
सन् २०१३ मा त्यहाँ एउटा कार्यक्रम भएको थियो । उनी त्यसमा गए । आयोजकले ‘एड्रियन प्रधान’ आउने भनेर टिकट बेचेछन् अनि ठगेछन् । उनको ठाउँमा बोलाएको कलाकारलाई पनि खासै राम्रो व्यवस्था गरेनछन् । अनि टिकट काटेका मान्छेको अगाडि सन्दर्भ बाहिरको आयोजककै कोही मान्छेको बर्थडे पनि मनाएछन् । सँगै भुटानी कलाकारहरूलाई स्थान नदिएको कुरा पनि आएछ ।
कला र कलाकारलाई माया गरेर कार्यक्रम गर्ने उनलाई त्यो कुराले चित्त दुख्यो । त्यो बेला सोचे ‘यो भन्दा चार गुणा राम्रो कार्यक्रम म गर्छु । यिनीहरूलाई कुनै दिन रियल एड्रियन प्रधान कस्तो हो म चिनाउँछु ।’
उनको एकजना साथी किशोर सिवाकोटी त्यहाँ नै थिए । स्कुल र क्याम्पस सँगै पढेका । उनी पनि सङ्गीतकार र गायक थिए । उनीसँग उनको सल्लाह भयो ‘भुटानी कलाकारहरू मात्र लिएर कार्यक्रम गर्ने । १७ जना सम्म कलाकारहरू ल्याउने कुरा भयो । ‘एक्सेन्ट ब्याण्ड’ भन्ने पनि आयो ।’ उनले आफ्नै खर्चमा सबैलाई राखे । बफ्लोमा १० डलर टिकट राखेर स्कुलको अडिटोरियममा कार्यक्रम राखे । २०० जना जति मान्छेहरू आए । अमेरिकामा त्यसरी कार्यक्रम पहिलोपल्ट भयो । तर नाम नचलेको मान्छे नलगेको भएर मान्छे कम आए । उनले अलिअलि कमाएको पैसा पनि सकाए ।
तर कार्यक्रम भएको कुराले प्रेरणा दियो ।
२०१५ मा सत्य स्वरूप दाजुभाइलाई गराए । सन् २०१६ मा 1974 AD बाट छुटेर फिरोज स्याङ्गदेन र एड्रियन प्रधानले खोलेको ‘द ओर्जिनल डुओ’लाई बोलाउने भए । उतैका कलाकारहरू पनि ल्याए । किरण गजमेरले पनि त्यो स्टेजमा गाए । उनले पछि गएर भ्वोइसको उपाधि पनि जिते ।
कार्यक्रम गर्ने क्रम त्यसपछि पनि रोकिएन । बरु बढ्दै गयो । सन् २०१८ मा नेपाल आइडल लाइभ कन्सर्टको आयोजना गरे । ६०० भन्दा धेरै दर्शक ल्याए ।
त्यसपछि सन् २०१९ मा ‘मिस्टिक एकोज’ भन्ने कार्यक्रम जन्मियो । झापाका कवि नवीन प्राचीन अनि उनीजस्तै पुनर्वासमा गएका पर्शु अधिकारी पनि त्यसमा जोडिए । युनिभर्सिटीको हलमा भएको त्यो कार्यक्रममा कविता, सङ्गीत र पेन्टिङलाई मिसाए । संभबत त्यसरी अमेरिकामा कार्यक्रम भएको पहिलोपल्ट हो ।
कार्यक्रम एकदमै सफल भयो । कोही पनि दर्शक बिचमा छोडेर गएनन् । नवीन प्राचीन वा उमेश आचार्यले कविता भन्दै गर्दा कवितासँगै पेन्टिङ पनि बनाइरहेका छन् । अनि लाइभ म्युजिक पनि भएको थियो ।
उनीहरूले मिलेर सन् २०२१ मा समास फाउन्डेसन खोले । कलासँग जोडिएका कुराहरूलाई समेटेर अनेकौँ कार्यक्रम गर्ने योजना लिएका छन् । कलाका विधाहरूलाई जोडेर एकैठाउँमा ल्याउने र कार्यक्रम गर्ने योजना उनीहरूले बनाएका छन् । मिस्टिक एकोज मार्फत ब्राण्डिङ गरिरहेका छन् ।
समास फाउन्डेसनमा सात जना छन् । भुटानबाट आएका देखि नेपालका साथीहरू पनि छन् । नेपाली भाषाले जोडेको नेपाली र भुटानी सेन्टिमेन्टलाई समातिरहेका छन् ।
उनले यो यात्रामा धेरै बोर्डर काटेका छन् । अहिले पनि बोर्डर काट्नेहरू छन् । त्यस्ता कार्यक्रमहरूले उनीहरूलाई एक अर्कामा जोडिरहेको छ । ट्राभलिङ आर्टिस्टहरू पनि एकठाउँमा जोडिन पाएका छन् । मान्छेहरू भाषाको दूरी नाघेर पनि यहाँसम्म आइपुगेका छन् । यसले शान्ति पनि बाँडिरहेको छ । जीवनको उत्सव मनाउन मद्दत गरिरहेको छ ।
शान्ति बाँड्दै जीवनको उत्सव मनाउनुभन्दा ठुलो काम त के होला र ?
+++++
विगत ६ वर्ष पहिलादेखि उनी आफू बसेको बफ्लो सिटीमा रहेका ८० वटाभन्दा धेरै स्कुलको सेन्ट्रल रजिस्ट्रेसन सेन्टरमा काम गर्छन् । विश्वको जो कोही त्यहाँ गए पनि त्यहाँ दर्ता गराउनुपर्छ । उनको टाइटल रजिस्ट्रेसन कल्चरल एड हो । उनी नेपालीहरूको केस हेर्छन् । फरक-फरक देशबाट आउनेको फरक-फरक मान्छेहरू हुन्छन् । धेरैवटा देशका मान्छेका परिवारलाई बच्चाहरू पढाउने बारेमा ओरेन्टेसन दिन्छन् । स्कुल खोज्न मद्दत गर्नेदेखि लिएर स्कुलको खाना कस्तो छ, बस कताबाट लाग्छ भन्ने जस्ता कुराहरू पनि सिकाउँछन् । हलाल खाना छ छैन ? पहिचान अनुसारको कुरा पाउँछन् कि पाउँदैनन् सिकाउँछन् ।
त्यसको अलावा डकुमेन्टहरू ट्रान्सलेट अनि इन्टरप्रेट पनि गर्छन् । भुटानको शरणार्थी भएर भारत हुँदै नेपाल आएर अमेरिका पुगेका उनी अहिले पनि मान्छेलाई जोडिरहेका छन् ।
अहिले त्यहाँ शरणार्थीहरू आइरहेका हुन्छन् । सिरिया, युगान्डा, अफगानिस्तानबाट आएका मान्छेहरूको कथा सुनिरहेका हुन्छन् । तीनका कथा सुन्दै गर्दा लाग्छ संसारभरका मान्छेले भोगेका कुराहरू भोग्छन् । सेनाको फाइटर चलाएका मान्छेहरू शरणार्थी भएर आएका छन् । तीमध्ये धेरै अङ्ग्रेजी जान्दैनन् ।
सबैखाले मान्छे शरणार्थी भएका छन् । देशमा हुँदा उच्च ओहोदामा बसेर काम गरेकाहरू पनि शरणार्थी भएका छन् । रूवाण्डाबाट ६ जना बच्चा लिएर आएकी महिला छिन् । उनको बाबुको टुङ्गो छैन । उनलाई ती सबै कुरा देख्दा लाग्छ मान्छेको दुःख विश्वव्यापी छ । भावना भन्ने कुरा सबैको उस्तै हो । विश्वमा हरेक मान्छेले समस्या भोगिरहेका छन् । तीनलाई मान्छेले नै समस्यामा पारिरहेका छन् ।
र, त्यस्ता मान्छेहरूलाई जोड्ने कुरा धेरै छन् । सबै कुरा भन्नलाई भाषा चाहिँदैन ।
उनी केटाकेटीसँग काम गर्छन् । उनीहरूलाई मनपर्ने खेलको बारेमा कुरा गर्दा खुसी मान्छन् । कोही फुटबल खेलाडी बन्छु भनिरहेका हुन्छन् । बन्न चाहेको मान्छे ती हुन् भन्ने उनी चाहन्छन् ।
उनलाई नेपालमा हुँदा ती कुरा आफूले मात्र भोगेको जस्तो लाग्थ्यो । अहिले लाग्छ उनले भोगेको भन्दा पनि दर्दनाक कथाहरू भोग्ने मान्छे रहेछन् । त्यसले पनि उनलाई समुदाय निर्माण गर्न सजिलो भएको छ । जुन समुदायका हुन् त्यहाँ नै पुर्याउन उनी काम गर्छन् ।
अमेरिकामा वर्ल्ड रेफ्युजी डे मा विभिन्न कार्यक्रमहरू भइराख्छन् । फुटबल, भलिबल लगायत अनेक साङ्गीतिक कार्यक्रमहरूमा मान्छे झुम्छन् । फुड स्टलहरूमा एक अर्काको खाना चाख्छन् ।
‘शरणार्थी समस्या किन भइरहेको छ जस्तो लाग्छ?’ म सोध्छु ।
‘शक्ति र राजनीतिले हो’ उनी भन्छन् । अनि थप्दै जान्छन् ‘बलियाले निर्धाहरूलाई दबाउन रमाइलो मान्छन् । अनि उनीहरूको कारणले साधारण मान्छेहरूले चोट पाउँछन् । साँढेको जुधाइमा बाच्छाको मिचाइ भइरहेको छ । सबै मान्छेको बाँच्न पाउने अधिकार छ । ससम्मान बाँच्न पाउने अधिकार छ । कसैको भाग नमिलेर कसैको भाग खोसिएको छ । हरेक मिनेटमा कोही शरणार्थी भइरहेका छन् । हामी पनि त्यही चपेटामा पर्यौँ होला ।’
‘हामीले खोजेको केही थिएन । बोलेको भाषा पढ्न खोजेको थियौँ । लगाइरहेको लुगा लाउन खोजेका थियौँ । त्यही पनि हामीलाई गर्न दिइएन ।’
‘यही भाषा र नेपालीपनको लागि अनि संस्कृति बचाउनको लागि लड्दा उनीहरू लखेटिनुपरेको छ । उनीहरूले अपराध गरेको हैन । आफूसँग भएको कुरा बचाउन खोजेको मात्र हो ।’
‘अहिले भुटानी समुदायमा इभेन्ट भइराख्नुको कारण त्यही हो । मानिसहरू रमाउन चाहन्छन् । आफूले यतिन्जेल भोगेको समस्याबाट मुक्त हुन चाहन्छन् ।’
उनी सोच्छन् उनीहरूले आफ्नो भाषा र संस्कृति नबिर्सिदिएर पनि विद्रोह गरिरहेका छन् । यो विद्रोह भइरहने छ ।
उनी अहिले पिसफूल सङ्गीत सुन्छन् । मिठो स्वरमा । चिया गफ गर्दे सुन्न मिल्ने । अनि एथ्नो म्युजिकमा झुकाव राख्छन् । त्यसलाई खोजिरहेका हुन्छन् । वार्ल्ड म्युजिक र वेस्टर्न क्लासिकल अर्केष्ट्राहरुमा विश्वविख्यात सङ्गीत बादशाह मोजार्ट, बिथोविन, चाइकोवस्की र व्राम्सहरुलाई हेर्दै, बुझ्दैछन् । अनि नयाँ-नयाँ बाजाहरू सुन्न पनि चाहिरहेका हुन्छन् । कहिल्यै नबजेको बाजाहरू बजाउन खोजिरहेका छन् । संसारभरिका सङ्गीतहरू हेरिरहेका छन् । स्वअध्ययन गरिरहेका छन् । कतै कार्यक्रमहरूमा गइरहेका हुन्छन् ।
कुनैदिन नेपाली साहित्य, सङ्गीतलाई विश्व प्रतिष्ठित सङ्गीत मञ्चहरूमा प्रस्तुत गरेर विश्वस्तरमा सेलिब्रेट गर्ने, परिचय गराउने उनको सपना छ । नेपाली साहित्य र सङ्गीतमा साधनारत कवि, कलाकारहरूलाई भविष्यमा सिम्फोनी अर्केष्ट्रामा प्रस्तुत गर्ने ठुलो इच्छा छ ।
यसको लागी ठुलो चुनौती, जोखिम अनि अवसर सबै जोडिएर आउँछ । र, दुर्भाग्यको कुरा चाहिँ आजसम्म नेपाली राज्य सत्तामा भएकाहरूले यो स्तरको कला, सम्पदाको संरक्षण, अभिलेखीकरणमा सामान्य चासोसम्म दिएका छैनन् । नेपालको शिक्षण पाठ्यक्रमहरूमा यसको औपचारिक पढाई सुरु गर्नु अत्यन्तै आवश्यक देखिएको छ ।
तर त्यो खोजीमा पनि कतै उनको आमाले बजाएको बाजाको आवाज घन्किरहन्छ । कार्यक्रममा गाउन आउने हरेक कलाकारको बजाउने साधनमा आमाले पोल्टोमा बोकेको बिनायो देख्छन् ।
आजकाल उनी मान्छेलाई मान्छे देख्दैनन्, कि त सङ्गीत देख्छन्, कि त कथा देख्छन् ।
यो संसारमा मान्छेमा सङ्गीत र कथा देख्ने मान्छेकै त कमी छ नि हैन ?
सबै फोटोहरू: लामिन तामाङकै संग्रहबाट ।
Twitter: @SurajWritesNP
धेरै माया अनि सम्झना छ भोगाइको पहाड भन्दा अग्लो दाजु💕💕💕