पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरी : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताएका छन् ।
बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्ने कुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताए । उनले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्नेपनि प्रतिवद्धता जनाए ।
एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताए । उनले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रस्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने बताए ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्षभित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाए । उनले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताए । उनले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिवद्धता जनाउन आग्रह गरे ।
खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ भन्ने नारासहित यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ ।