निर्वाचनलाई राजनीतिक परिवर्तनको रुपमा प्रयोग गर्न सकिएन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन् । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडी बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको बताएका हुन् । नयाँको नामबाट शुरु भएका राजनीतिक दलहरु यथास्थितिवादलाई पोषण गर्ने बाहेक अन्य ठोस आधार र धरातल नभएको बताए । महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाहीँ पपुलिष्टहरु राजनीतिमा आउने गरेपनि समाज परिवर्तनको आकांक्षाहरुलाई सम्बोधन गर्न र समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने दाबी गरे । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहो¥याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनको ठम्याइ छ ।

उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरु विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए । उनले राजनीतिक दलहरुले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुविकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरु उत्पन्न नहुने बताए । राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रुपमा अहिले पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आएको बताए । पपुलिष्टहरुले कहिले पनि समाजका समस्यालाई समाधान गर्न नसक्ने उनको दाबी छ । नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसावबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए ।

महासचिव पोखरेलले नेपालको राजनीतिलाई विचारधारात्मक जगमा, नीतिगत प्रश्नमा केन्द्रित गर्न सक्नुपर्ने बतए । उनले राजनीतिक क्रान्तिका समयमा सबै दलहरु मिलेर अघि बढे जसरी नै समृद्धिका लागि, विकासका लागि राजनीतिक दलहरु एक हुन जरुरी रहेको बताए । उनले साना पार्टीहरुले आफ्नो अस्तित्वलाई सत्ताको बार्गेनिङको रुपमा प्रयोग गर्ने र मुलुकको राजनीतिलाई नीति विहीनतातिर लैजाने गरेको आरोप लगाए । उनले यस्ता गतिविधिलाई अन्त्य गर्न एक्लाएक्लै चुनाव लड्न जरुरी रहेको उल्लेख गरे । राजनीतिलाई विकृत बनाउन साना दलहरुले खेलिरहेको भुमिकाबाट राजनीतिलाई जोगाउन काँग्रेस नेतृत्व तयार नहुँदा अहिलेको राष्ट्रको समस्या समाधान गर्न नसक्ने संसद निर्माण भएको उनको बुझाइ छ ।

निर्वाचनलाई राजनीतिक परिवर्तनको रुपमा प्रयोग गर्न नसकिएकोप्रति उहाँले दुःखेसो गरे । उनले समाजको आवश्यक्ता समयमा बुझ्न नसक्दा अहिले पपुलिस्टहरुको राजनीति उदाएको नेता पोखरेलले टिप्पणी गरे । उत्पादन सम्बन्धमा परिवर्तन भएपनि समाजलाई दिशा दिने विषयमा राजनीति असफल भइरहेको उनको बुझाइ छ ।

महासचिव पोखरेलले व्यापारिक पुँजिवादमा आश्रित बन्न पुगेको नपालको अर्थतन्त्रलाई स्वाधिन अर्थतन्त्रमा बदल्न सक्नुपर्ने बताए । उनले नपालको अर्थतन्त्रलाई स्वाधिन अर्थतन्त्रमा बदल्नसके मात्रै नेपालको राजनीतिक प्रणाली बलियो हुने आधार बन्ने बताए ।

महासचिव पोखरेलले उत्पादक शक्तिको पाँच वटा पक्षहरुमा विशेष जोड दिन आवश्यक रहेको उल्लेख गरे । उनले बदलिएको उत्पादनलाई सम्बन्ध, बजारको माग र जनशक्ति निर्माण गर्ने हिसावका आधारमा शिक्षा व्यवस्थामा परिवर्तन गर्न नसकेसम्म राष्ट्र अगाडी बढ्न नसक्ने बताए । मानिसलाई उत्पादनका काममा सबल र सक्षम बनाउने कुराको आधार भनेको शिक्षा व्यवस्था भए पनि नेपालको आवश्यकताका आधारमा जनशक्ति निर्माण गर्ने काम नेपालको शिक्षा व्यवस्थाले गर्न नसकेको बताए । उनले समाजलाई विकसित बनाउन शिक्षा व्यवस्थामा आमुल परिवर्तन आवश्यक रहेको बताए । प्राविधिक र व्यवसायिक शिक्षातर्फ समाजलाई डो¥याउन जरुरी रहेको बताए ।

स्वस्थ नागरिक निर्माण, स्वास्थ्य पूर्वाधारको उपलब्धता, नागरिकले पर्याप्त सेवा र सुरक्षाको अनुभुति पाउनुपर्ने बताए । उनले शारीरिक र मानसिक रुपमा सबल नागरिकहरुको निर्माण गर्नेकुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *