शून्य समय : निलगाईदेखि लम्पीस्किन नियन्त्रणसम्ममा सांसदकाे जाेड
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौँ उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बतारे । त्यस्तै उनले जसले जति पानी निकाल्छ त्यही अनुसार शल्कको व्यवस्था गर्नुपर्ने पनि बताए ।
सांसद तेजुलाल चौधरीले विद्यालय कर्मचारीहरु आफ्नो सेवा, सुविधाको विषयलाई लिएर आन्दोलित भइरहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न माग गरे ।
सांसद दामोदर पौडेल बैरागीले संघीयता निजामती सेवा ऐन तुरुन्त ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद दीपक खड्काले कुलुङ र मेवाङ जातिलाई आदिबासी जनजातिमा सूचिकृत गर्न माग गरे ।
दीपकबहादुर सिंहले कृषि अनुदानको दुरुपयोग भइरहेको भन्दै छानविन गरी दोषी उपर कारबाही गर्न माग गरे ।
सांसद दीपा शर्माले सरकारले कपास विकास समिति खारेजी गरेकोप्रति आपत्ति जनाइन् ।
सांसद दिलेन्द्रप्रसाद बडूले देशको ३५ भन्दा बढी जिल्लामा गाईभैँसीमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा रोकथामका लागि यथाशिघ्र पहल गर्न माग गरे ।
सांसद दीपा राईले किराँतीहरुलाई मृत्युपश्चात दाहसंस्कार गर्न जमिन आवश्यक भएको भन्दै त्यसको निम्ति व्यवस्था गर्न सरकारसँग माग गरिन् ।
सांसद प्रतिनिधि सभा सदस्य धवल समशेर जबराले नेपालगञ्जमा गर्मी बढेको भएपनि बिजुली गइरहने समस्या हुँदा जनजीवन प्रभावित भएको बताए । उनले नेपालगञ्ज कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी, बन्दी राखिएको उल्लेख गर्दै निर्माण सम्पन्न भइसकेको क्षेत्रीय कारागार सञ्चालन गर्न माग गरे ।
स्वतन्त्र सांसद प्रभु साहले तराई मधेशमा घोडगधा (नीलगाई)को बिगबिगी भएको बताए । उनले घोडगधाका कारण किसानको बालिनाली नष्ट भइरहेको भन्दै यसको नियन्त्रणका लागि सरकारसँग माग गरे ।
सांसद प्रेमबहादुर महर्जनले अतिरिक्त हुलाक सेवा खारेजी नगर्न सरकारसँग अनुरोध गरे ।
सांसद वसन्तकुमार नेम्वाङले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारसँग माग गरे ।
उनले यस रोगको सम्बन्धमा यथार्थ तथ्यांक संसदमा पेस गर्न पनि माग गरे ।
सांसद विनिता कठायतले पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावासको माग गरिरहेका भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी अन्य सांसदहरुले पनि आफ्नो निर्वाचन क्षेत्र विशेषका कुराहरुलाई संसदमा उठाएका छन् ।