मकालु फिचर

सगरमाथा चढ्ने विश्वकै पहिलो महिला एयरहोस्टेस ओम्निका भन्छिन्- ‘क्याम्प फोर सारै फोहोर’ (फोटोकथा)

ओम्निका डंगोलाई केही वर्ष पहिलासम्म यो जुनीमा सगरमाथा चढ्छु भन्ने लाग्दैन थियो ।  

हिमाल उनले हिमालय एयरलाइन्सको झ्यालबाट मात्र देखेकी थिइन् । परबाट मात्र । जागिर राम्रो थियो । उनी एयरलाइन्सको सिनियर फ्लाइट एटेन्डेन्ट बनिसकेकी थिइन् । उनले काम गरिरहेको पेशा र हिमाल चढ्ने कुरामा कुनै नजिकको नाता थिएन । 

त्यस्तैमा कोभिड भयो । एयरलाइन्सको काम रोकियो । त्यो खाली समयमा उनका साथीहरूले सल्लाह गरे ‘लकडाउन खुलेपछि सगरमाथा आधारशिविरको पदयात्रा गर्ने ।’ २०२१ को अप्रिलमा त्यो योजना पुरा भयो । 

सबै कुरा त्यही ट्रेकले फरक पारिदियो ।

उनी आधारशिविर पुगिन् । सगरमाथा चढ्न हिँडेका मान्छेहरू नजिकैबाट देखिन् । उनलाई झ्यालबाट देखेको हिमालभन्दा नजिकैबाट देखेको हिमाल मनपर्यो । उनी त केही दिनमा काठमाडौँ फर्किइन् तर मन फर्किएन । सगरमाथा चढ्ने रहर त्यसले नै जन्मायो । 

‘मैले सक्छु त ?’ 

‘आमाबुबाले के भन्नुहुन्छ ? जागिर के हुन्छ ?’

यस्ता प्रश्नहरू नआएका हैनन् । बेसक्याम्पमा पुगेको जति सजिलो सगरमाथा चढ्दा हुँदैन भन्ने पनि थाहा नपाएकी हैनन् । घरकी एक्ली छोरी । छँदाखँदाको जागिर । अनि ‘हिमालमा जे पनि हुनसक्छ’ भनेर सुनेको कुरा ।  

यसरी द्विविधा चल्दा घरी मनले जित्थ्यो । घरी दिमागले । घरी सोच्थिन्, ‘सबैले चढ्नैपर्छ भन्ने पनि त छैन । म बेसक्याम्प पुगिहालेँ भै गयो त ।’ अनि फेरी सोच्थिन् ‘सबैले यस्तै सोच्ने भए त हिमालमा त्यति धेरै मान्छे किन पुग्थे ?’ 

अन्तिममा उनले जाने निर्णय लिइन् । जाँदैछु भनेर आमाबुबालाई सुनाइन् । अचम्म उहाँहरूले रोक्नुभएन । हुनसक्छ उनी हिमालबाट फर्किएपछि आएको परिवर्तन उहाँहरूलाई मनपरेको थियो कि ? 

घरबाट हुन्छ भन्ने कुरा आएपछि तयारी सुरु गरिहालिन् । २०२१ को नोभेम्बरमा नै सगरमाथा जाने तयारीस्वरुप छ हजार मिटर माथिका तीन वटा पिकहरू चढिन् । त्यसो पल सम्झिँदै भन्छिन् ‘मैले ९ दिनमै ६००० माथिका मेरा पिक, लोबुचे, र आइल्याण्ड पिक चढेँ ।’ त्यो बेला उनलाई सेभेन्थ समिटले सहयोग गर्‍यो । 

‘सगरमाथा त चढ्ने, तर सगरमाथा चढ्न लाग्ने पैसा खै ?’

केही समयसम्म जे कुरा अप्ठ्यारो होला भन्ने सोचेको त्यो नै सजिलो बनिदियो । उनले सगरमाथा चढ्न लागेको कुरा सुनाउँदा हिमालय एयरलाइन्सले सबै पैसा हालिदियो । चाहिने सबै सामाग्रीहरू पनि जुटाइदियो । 

तयारी पुरा भएको थियो । तर जानु त छँदै थियो । आफूभित्रको सगरमाथा अनि वास्तविक सगरमाथालाई जित्नु थियो । हिमालमा जीवन र मृत्यु बिचको झिनो अन्तर थाहा पाएकी थिइन् । हिमालको उचाइले धेरै चुनौती दिन्छ भन्ने थाहा पाएकी थिइन् । ती सबै कुरालाई भोग्नु थियो । 

थामसेर्कु एक्पिडिसनका पेम्बा तेन्जिङ शेर्पा र तेन्जिङ शेर्पा ले उनलाई चुचुरो पुग्न सघाउने भए । केही पर्दा सेभेन्थ समिटको सहयोग त छँदै थियो ।

लामो समय उचाइमा बानी हुने अभ्यासपछि सगरमाथा जाने यात्रा सुरु भयो । क्याम्प फोर बाट उकालो लागेपछि शेर्पाले भने ‘यही हो हिलारी स्टेप ।’ उनले त्यसको बारेमा सुनेकी थिइन् । आठ हजार मिटर माथिको डेथ जोनको सबैभन्दा अप्ठ्यारो ठाउँ । ‘पुग्न अझै बाँकी छ’ जस्तो उनलाई लाग्यो । धेरैले नजिकै पुगेर पनि छोडेका हुन्छन् भन्ने थाहा थियो । थाहा भएको कुराले पनि डर लगाउँदोरहेछ ।

साथै ट्राफिक पनि लामो थियो । उनीहरूले ४५ मिनेट कुर्नुपर्‍यो । सगरमाथाको जाम । उनी पनि त्यही लाइनमा थिइन् ।

 २०२२ मे को बुद्ध जयन्तीको दिन चुचुरो पुग्न लाग्दा उनलाई ‘यही हो त’ जस्तो भयो । ‘अब त अलिकति मात्र छ’ भन्ने भयो । चुचुरो पुग्नासाथ सगरमाथालाई ढोगिन् । केही मिनेट त केही पनि बोलिनन् । सबैतिर हेरिन् । अरू हिमालहरू सानो सानो देखिएको थियो । उनी सगरमाथाको चुचुरोमा थिइन् ।  

हजुरआमा र हजुरबुबा सम्झिइन् । बुबा आमा सम्झिइन् । हिमालय एयरलाइन्स सम्झिइन् । चढ्दा गरेका दुःखका सबै क्षणहरू सम्झिइन् ।

‘सगरमाथाबाट फर्किँदा कस्तो लाग्यो त?’

‘चढ्न सकेकोमा खुसी त भएँ तर क्याम्प फोर धेरै फोहोर भयो । चढ्नेहरूले टेन्टदेखि अक्सिजनको सिलिन्डर पनि त्यता नै फाल्छन् । त्यो राम्रो लागेन । अनि सँगै बेसक्याम्पको फोहोर पानीको स्रोतमा मिसिएको पनि निको लागेन । बरु मिल्ने भए बेसक्याम्प त सारे पनि हुने । अहिलेको बेसक्याम्पलाई बरु क्याम्प १ बनाए पनि हुने ।’

उनी सगरमाथा चढ्ने विश्वकै पहिलो महिला एयरहोस्टेस हुन् । ‘त्यो गर्वलाई नेपालको नाममा ल्याउन पाउँदा धेरै खुसी लागेको छ’ उनी सुनाउँछिन् ।

@SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *